Comments Add Comment

क्रिकेट विश्वकपका प्रमुख ८ टिम : को कति बलियो ?

१३ वैशाख, काठमाडौं । क्रिकेटको महाकुम्भ मेला अर्थात् विश्वकप क्रिकेटको १२ औं संस्करण आगामी मे ३० देखि १४ जूनसम्म ईंग्ल्यान्ड र वेल्समा आयोजना हुँदैछ । प्रतियोगितामा भाग लिने सबै देशले आफ्नो टिम घोषणा गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले प्रत्येक चार वर्षमा विश्वकप क्रिकेट आयोजना गर्छ । अहिलेको प्रावधान अनुसार एक दिवसीय वरियताका शीर्ष ८ स्थानमा रहेका देशले सोझै विश्वकप खेल्न पाउँछन् भने थप दुई देशले क्वालि फायरमार्फत । सन् २००७ मा १६ देशले विश्वकप खेलेको अहिले खुम्च्याएर १० वटामा झारिएको हो । यसबाट नेपाल जस्ता उदीयमान क्रिकेट राष्ट्रहरु विश्वकपबाट वञ्चित हुने अवस्था आएको छ ।

अहिलेसम्म सबैभन्दा बढी अष्ट्रेलियाले पाँचपटक विश्वकप जितेको छ । अष्ट्रेलिया साविक विजेता पनि हो । सन् २०१५ मा गृह मैदानमै न्यूजिल्यान्डला ७ विकेटले हराउँदै अष्ट्रेलिया विश्वविजेता बनेको थियो । अष्ट्रेलियापछि भारत र वेस्ट इन्डिजले २-२ पटक तथा पाकिस्तान र श्रीलंकाले १-१ पटक विश्वकप जितेका छन् । साउथ अफ्रिका, ईंग्ल्यान्ड, न्यूजिल्यान्ड जस्ता बलिया क्रिकेट राष्ट्रहरुले विश्वकप जित्न सकेका छैनन् ।

आगामी विश्वकपमा कसले बाजी मार्ला त ? यतिबेला संसारभरका क्रिकेटप्रेमीहरु अनुमानको खेति गरिरहेका छन् । यद्यपि, यसपालि अनुमान गर्न त्यति सजिलो छैन । किनकि कुनै पनि टिमले आफ्नो दावेदारीलाई सशक्त बनाउन सकेका छैनन् । सबै टिममा कुनै न कुनै कमजोरी भेटिन्छन् । त्यसमाथि क्रिकेटमा हुने अनिश्चतताको आफ्नै पाटो छ ।

यसका बाबजुद १० वटा देशले घोषणा गरेका टोली कति बलिया वा कमजोर छन् भनेर विश्लेषण चाहिँ अवश्य गर्न सकिन्छ । यो एउटा कागजी विश्लेषण हो । मैदानमा यसले काम गर्न पनि सक्छ, नगर्न पनि सक्छ । खासगरी पिचको अवस्थाले पनि धेरै कुरा निर्धारण गर्नेछ । यदि स्पिन बलिङलाई सहयोग गर्ने पिच भयो भने भारत खुशी हुनेछ भने फास्ट बलरलाई सहयोग गर्ने पिचले अष्ट्रेलिया उत्साहित हुने छ ।

पहिले-पहिले ईंग्ल्यान्डको बाउन्सी पिच मात्र हुने गर्थे । तर, आजकाल त्यस्तो छैन । ब्याटिङ फ्रेन्डली पिचहरु बढी हुने गर्छन् ।

१. भारत- बलियो पक्षः टिम सन्तुलन र कोहली । कमजोर पक्षः मध्यक्रमको ब्याटिङ

यसपाली विश्वकप उपाधिको लागि सबैभन्दा आतुर भएर बसेको राष्ट्र हो भारत । त्यसो त भारतले हरेक विश्वकपमा आफूलाई प्रबल दावेदार नै सम्झिने गर्छ । तर, यसपाली चाहिँ भारतीय टिम अरुभन्दा सन्तुलित र स्थिर देखिएको छ ।

भारतीय टिम परम्परागतरुपमा ब्याटिङमा निर्भर रहन्थ्यो । यसपाली भने उसको बलिङ पनि उत्तिकै धारिलो र विविधतापूर्ण छ । त्यसैगरी भारतीय टिमको फिल्डिङमा पनि आमूल सुधार आएको छ ।

ब्याटिङको कुरा गर्दा शिर्ष ३ ब्याट्सम्यानहरुमा भारत बढी निर्भर देखिन्छ । शिखर धवन र रोहित शर्माको अनुभवि ओपनिङ जोडीले धेरैपटक उत्कृष्ट सुरुवात दिलाएका छन् । रोहित शर्माको नाममा तीनवटा एकदिवसीय दोहोरो शतकका साथै एक दिवसीयमा सर्वाधिक रनको विश्व किर्तिमान समेत छ । यसैगरी बायाँ हाते ओपनर शिखर धवन पनि उत्कृष्ट लयमा छन् ।

यद्यपि, भारतको ब्याटिङ पिल्लर भने तेस्रो नम्बरमा खेल्ने कप्तान बिराट कोहली हुन् । उनी अहिले विश्वकै सर्वोत्कृष्ट ब्याट्सम्यान मानिन्छन् । शतकमाथि शतक हानिरहेका कोहलीलाई आउट गर्न कुनै पनि बलरलाई फलामको च्यूरा हुने गर्छ । भारतको मध्यक्रम र तल्लो मध्येक्रम भने त्यति धेरै भरपर्दो देखिएको छैन । केदार जाधव, विजय शंकर, हार्दिक पाण्ड्या जस्ता ब्याट्सम्यानहरु प्रतिभाशाली भए पनि त्यति अनुभवी होइनन् । त्यसैले माथिल्लो क्रम लड्खडाएमा पूर्व कप्तान महेन्द्र सिंह धोनीले जिम्मेवारी लिनुपर्ने छ ।

बलिङको कुरा गर्दा स्पिन र फास्ट दुवैमा भारत राम्रो छ । जसपि्रत बुमराह अहिले विश्वकै उत्कृष्ट फास्ट बलर मानिएका छन् । उनलाई भुवनेश्वर कुमार र मोहम्मद सामीले बलियो साथ दिन सक्छन् । स्पिनतर्फ कुलदिप यादव र यजुभेन्द्र चहलको जोडीले विपक्षी ब्याट्सम्यानलाई अंकुश लगाउनेछ । अतिरिक्त स्पिनरको रुपमा रविन्द्र जडेजा पनि छन्, जसले अराउन्डरको भूमिका निभाउन सक्छन् ।

विश्वकपमा भारतलाई एउटै खतरा भनेको बाउन्सी पिच हो । यदि बल बाउन्स भयो भने भारतीय ब्याट्सम्यानहरु तासको पत्ता झैं ढल्न सक्छन् ।

२. अष्ट्रेलिया- बलियो पक्षः स्मिथ र वार्नरको पुनरागमन । कमजोर पक्षः स्पिन बलिङ

केही अगाडिसम्म अष्ट्रेलिया निकै दयनिय अवस्थामा पुगेको थियो । गत वर्ष नियमित कप्तान स्टिभ स्मिथ र विष्फोटक ओपनर डेभिड वार्नर प्रतिवन्धमा परेपछि टिमको मनोबल मात्रै गिरेन, ब्याटिङ लाइनसमेत लुलो बन्न पुग्यो ।

तर, भाग्यबस विश्वकप नजिकिँदै गर्दा अष्ट्रेलियाको टिम ‘रि ग्रुप’ भएको छ । भारतलाई उसकै गृहमैदानमा अष्ट्रेलियाले टि-२० र एकदिवसीय सिरिजमा हरायो । त्यस लगत्तै पाकिस्तानविरुद्ध ५ म्याचको सिरिज उसले क्लिप स्वीप गर्‍यो । दुई बलिया राष्ट्रहरुलाई पराजित गरेर उच्च मनोबलमा रहेको अष्ट्रेलियाका लागि अर्को ठूलो खुशीको समाचार हो स्मिथ र वार्नरको पुनरागमन । यी दुईको उपस्थितिसँगै अष्ट्रेलियाको ब्याटिङ कागजमा सुदृढ देखिएको छ ।

यतिबेला आईपीएलमा तहल्का मच्चाइरहेका डेभिड वार्नर विश्वकपमा पनि चम्किएमा अन्य टिमहरुलाई उनले धोविचुटाई गर्न सक्छन् । कप्तान स्मिथले ब्याटिङलाई स्थिरता दिने छन् । अष्ट्रेलियाका लागि अर्का तुरुपका पत्ता हुन् ग्लेन म्याक्सवेल । उनी क्रिजमा केही समय टिके भने सहजै विपक्षीबाट म्याच खोस्ने क्षमता राख्छन् । यसैगरी, एरोन फिन्च, उस्मान ख्वाजा, सन मार्श, मार्कस स्टोइनिसजस्ता ब्याट्सम्यानबाट पनि ठोस योगदानको आशा राख्न सकिन्छ ।

फास्ट बलिङ डिपार्टमेन्ट अष्ट्रेलिया धारिलो देखिएको छ । मिचेल स्टार्क अष्ट्रेलियाका प्रमुख बलर हुन् जसले अघिल्लो विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । यसैगरी प्याट कुमिन्स, नाथान काउल्टर निल, रिचार्डसन जस्ता फास्ट बलरहरु उत्तिकै तेजिला छन् ।

अष्ट्रेलियाको कमजोर पक्ष स्पिन बलिङ हो । नथान लियोन अनुभवि स्पिनर हुन् तर विकेटटेकर मानिँदैनन् । उनी निकै रन खर्चिने गर्छन् । एडम जाम्पा युवा स्पिनर हुन् । उनी पछिल्लो समय राम्रै फर्ममा छन् । यद्यपि, उनीसँग अनुभवको कमी छ ।

३. ईंग्ल्यान्ड- बलियो पक्षः आक्रामक ब्याटिङ लाइन । कमजोर पक्षः बलिङ

यसपालिको विश्वकपको बलियो दावेदारमध्ये एक हो ईंग्ल्यान्ड । अहिलेसम्म विश्वकप नजितेको ईंग्ल्याण्ड यसपालि ईतिहास रच्ने लक्ष्यमा छ । फेरि होम ग्राउन्डको फाइदा पनि उसले उठाउन सक्छ ।

ईयान मोर्गनको कप्तानीमा रहेको ईंग्ल्यान्डको घोषित टिम हेर्दा ब्याटिङ लाइन निकै खतरनाक देखिन्छ । आईपीएलमा धुवाधार ब्याटिङ गरिरहेका ब्याट्सम्यान जोनी बेयरस्टो र विकेटकिपर ब्याट्सम्यान जोस बटलरबाट सुरु हुने ब्याटिङ पंतिमा इयान मोर्गन, बेन स्टोक्स, एलेक्स हेल्स, मोइन अली, टम कुरान, जेसन रोयजस्ता एक से एक खतरनाक ब्याट्सम्यानहरु छन् । र छन् आइस कुल जोय रुट । जोय रुटको वरिपरी रहेर अन्य ब्याट्सम्यानहरुले विपक्षी बलरहरुमाथि प्रहार गर्ने ईंग्ल्यान्डको रणनीति हुने छ ।

ब्याटिङको तुलनामा ईंग्ल्यान्डको बलिङ भने फितलो देखिन्छ । मार्क वुड, क्रिक वक्स, डेभिड विली जस्ता फास्ट बलरहरुले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बलियो प्रभाव छोड्नै बाँकी छ । यसैगरी स्पिनको जिम्मेवारी पाएका अदिल रसिदबाट पनि धेरै ठूलो आशा गर्न सकिँदैन । यद्यपि, होम ग्राउन्ड भएकाले ईंग्ल्यान्डका बलरहरुलाई कमजोर आँकिहाल्न भने मिल्दैन ।

४. पाकिस्तान- बलियो पक्षः मध्यक्रमको ब्याटिङ । कमजोर पक्षः पावर हिटर अभाव

अन्तर्राष्ट्रिय क्रिकेट जगतमा पाकिस्तानलाई एउटा अनप्रडिक्टेबल अर्थात् भविष्यवाणी नसकिने टिमका रुपमा हेर्ने गरिन्छ । आज झूर खेल्यो भने भोली उत्कृष्ट खेल्नु उसको विशेषता हो । त्यसैले पाकिस्तानलाई अरु टिमले नजरअन्दाज गर्न सक्दैनन् ।

गत वर्ष मात्र भारतलाई हराउँदै च्याम्पियन्स ट्रफी जितेको पाकिस्तान पनि आफूलाई यस विश्वकपको दावेदार बताइरहेको छ । यद्यपि, कागजमा हेर्दा पाकिस्तानको विश्वकप यात्रा त्यति सहज हुने देखिँदैन । पाकिस्तानको ब्याटिङ मध्यम छ भने बलिङ र फिल्डिङ कमजोर देखिन्छ ।

पाकिस्तानले ब्याटिङतर्फ सबैभन्दा बढि आशा राखेको छ मध्येक्रमका युवा ब्याट्सम्यान बबर आजमबाट । उनलाई पाकिस्तानका कोहली पनि भन्ने गरिन्छ । उनको प्रदर्शनमा एकरुपता त हुन्छ, तर पावरको भने कमि छ । पाकिस्तानी ब्याटिङ लाइनमा हेर्दा पावर हिटरको ठूलो अभाव खट्किन सक्छ । ओपनर फकार जमानबाहेक अन्य ब्याट्सम्यानहरु ठूला शटका लागि चर्चित छैनन् ।

पाकिस्तानले दुई एकदिवसीय मात्र खेलेका ओपनर अबिद अलिलाई टिममा समावेश गरेको छ । यद्यपि पहिलो च्वाइसको रुपमा पाकिस्तानले फकार र इमाम उल हकलाई ओपनिङमा उतार्न सक्छ । मध्यक्रममा मोहम्मद हाफिज, सोयब मल्लिक, सरफराज अहमदजस्ता अनुभवि ब्याट्सम्यान छन् । उनीहरु तीनै जनाले स्पिन बललाई निकै राम्रो खेल्छन् । फास्ट बलमा भने उनीहरुको कमजोरी छताछुल्ल हुन्छ ।

प्राय टिमहरुले आफ्नो तल्लो मध्यक्रममा एक-दुई पिन्च हिटर राखेका हुन्छन् । पाकिस्तानसँग त्यो छैन । त्यसैले रनरेट उकास्नुपर्ने स्थितिमा पाकिस्तानलाई अप्ठेरो पर्न सक्छ । साथै ठूलो स्कोर चेज गर्नुपर्दाको अवस्थामा पनि पाकिस्तानले शाहिद अफ्रिदी, अब्दुल रज्जाक जस्ता ब्याट्सम्यानहरुलाई मिस गर्नेछ ।

परम्परागतरुपमा बलियो हुने पाकिस्तानको बलिङ यसपाली कमजोर छ । शाहिन शाह अफ्रिदी र मोहम्मद हसनाइन टिन एजर हुन् । हसन अलिले च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरे पनि त्यसपछि फर्ममा छैनन् । जुनैद खान पनि फर्मको खोजीमा नै छन् । स्पिनतर्फ सदाव र इमाम वसिम औसत मात्रै छन् ।

५. दक्षिण अफ्रिका- बलियो पक्षः फास्ट बलिङ । कमजोर पक्षः स्पिन बलिङ

अहिलेसम्म विश्वकप जित्न नसके पनि क्रिकेटमा सदाबहार बलियो राष्ट्र हो दक्षिण अफ्रिका । यसपालीको विश्वकपका लागि घोषित टिम हेर्दा साउथ अफ्रिका औसत मात्रै देखिन्छ ।

एभि डेभिलर्सले सन्न्यास लिएसँगै टिमको ब्याटिङ सन्तुलन खल्बलिएको छ । ओपनरका रुपमा क्वीन्टन डिकक र हसिम अमला छन् । अमला पछिल्लो समयमा आफ्नो उत्कृष्ट फर्ममा छैनन् । यद्यपि, अनुभवि भएकाले उनीबाट दक्षिण अफ्रिकाले ठूलो आशा राखेको छ । कप्तान फाफ डुप्लेसीस अहिले साउथ अफ्रिकन टिमका सबैभन्दा राम्रा ब्याट्सम्यान हुन् । बाँकी ब्याटिङ लाइन खासै भरपर्दो छैन । जेपी डुमिनी, एडेन माक्रम, डेभिड मिल्लर जस्ता ब्याट्सम्यानहरुले स्थिर प्रदर्शन गर्न सकेका छैनन् ।

फास्ट बलिङमा साउथ अफ्रिका अलि धारिलो देखिन्छ । पुराना फास्ट बलर डेल स्टेन र अहिलेका स्टार कगिसो रबाडाको जोडीले विपक्षी ब्याट्सम्यानलाई आच्छु आच्छु पार्न सक्छ । युवा बलर लुंगी एन्गीडी पनि उत्तिकै खतरनाक छन् । स्पिनतर्फ साउथ अफ्रिका इमरान ताहिरमा अत्यधिक निर्भर छ ।

६. न्यूजिल्यान्ड- बलियो पक्षः ब्याटिङ । कमजोर पक्षः स्पिन बलिङ

अघिल्लो विश्वकपको उपविजेता हो न्यूजिल्यान्ड । फाइनलसम्म उत्कृष्ट प्रदर्शन गरेको न्यूजिल्यान्ड फाइनलमा भने अष्ट्रेलियासँग सहजै पराजित भएको थियो । विश्वकपयता उसको प्रदर्शन त्यति सन्तोषजनक छैन ।

अघिल्लोपटक जस्तो यसपाली न्यूजिल्यान्डलाई उपाधिको बलियो दावेदार मानिएको छैन । यद्यपि, टिम आफैंमा कमजोर भने देखिँदैन । खासगरी टिमको ब्याटिङ अझै पनि राम्रो छ । कप्तान केन विलियम्सनले धेरै जिम्मेवारी बहन गर्नुपर्ने छ । रोज टेलरको उत्कृष्ट फर्म टिमका लागि खुशीको विषय हो । मार्टिन गुप्टिल र कोलिन मुनरोको ओपनिङ जोडी पनि राम्रो नै मान्न सकिन्छ ।

कोलिन डी ग्रान्डहोम, मिच सान्टनर र जिम्मी निसामले टिममा सन्तुलन बनाएका छन् । उनीहरुमध्ये दुई जनाले अन्तिम ११ मा मौका पाउन सक्छन् । बलिङतर्फ ट्रेन्ट बोल्ट, टिम साउथी जस्ता अनुभवि फास्ट बलरहरु छन् । प्रमुख स्पिनरका रुपमा रहेका इस सोदी त्यति धेरै भरपर्दा छैनन् ।

७. श्रीलंका- बलियो पक्षः युवा खेलाडी । कमजोर पक्षः अनुभव कमी

यसपालि विश्वकपमा खेल्ने टिमहरुमध्ये अत्यधिक कमजोर देखिन्छ श्रीलंका । त्यसैले उसले उपाधिको भोक राखेको छैन । श्रीलंकाली टिम न ब्याटिङमा बलियो छ न बलिङमा ।

महेला जयबर्द्धने, कुमार संगाकारा र तिलकरत्ने दिलशानको सन्न्यासपछि श्रीलंका कमजोर बनेको थियो । अििहले ओडीआई टिम र्‍याङ्किङमा श्रीलंका आठौं नम्बरमा धकेलिएको छ । बंगलादेश पनि श्रीलंकाभन्दा अगाडि छ ।

पछिल्लो कालखण्डमा उसले विश्वस्तरीय ब्याट्सम्यानहरु उत्पादन गर्न सकिरहेको छैन । अहिले घोषित टिम हेर्दा एन्जलो म्याथुजबाट मात्रै केही आशा गर्न सकिन्छ । लहेरु थिरमने केही हदसम्म अनुभवी छन् । उनी गत वर्ष श्रीलंकाका लागि सबैभन्दा बढि रन बनाउने ब्याट्सम्यान हुन् । यसैगरी चलेको खण्डमा थिसरा परेराले तल्लो क्रममा केही गर्न सक्छन् । बाँकी ब्याट्सम्यानहरुले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई सावित गर्न बाँकी नै छ । श्रीलंकाले दिनेश चण्डिमल, निरोसन डिकवेल्ला, दनुश्का गुनथिलका, उपुल थरंगा, अकिला धनन्जय जस्ता खेलाडीलाई विश्वकप टिमबाट बाहिर राखेको छ । स्पिनर धनञ्जय पछिल्लो समयमा श्रीलंकाका सबैभन्दा बढि विकेट लिने बलर थिए ।

बलिङमा अनुभवी लसिथ मलिंगाले कमब्याक गरेका छन् । तर उनी आफ्नो उत्कृष्टतामा छैनन् । नुवान प्रदिप, सुरंगा लकमल, जस्ता साधारण स्तरका बलरहरु श्रीलंकासँग छन् । फ्ल्याट पिच भयो भने उनीहरु नराम्ररी चुटिन सक्छन् । हालै मात्र श्रीलंकाले साउथ अफ्रिकासँग ५-०को हार व्यहोरेको थियो । सन् २०१५ देखि कुनै एकदिवसीय म्याच नखेलेका दिमुथ करुनारत्नेलाई टिममा भित्र्याइएको मात्र छैन, कप्तानी नै दिइएको छ ।

८. वेस्ट इन्डिज- बलियो पक्षः क्रिस गेल र रसेल । कमजोर पक्षः बलिङ

थुप्रै विश्वस्तरीय क्रिकेटरहरु भएको देश हो वेस्ट इन्डिज । अहिले भारतमा जारी आईपीएलमा वेस्ट इन्डिजका ब्याट्सम्यानहरुले धुम मच्चाइरहेका छन् । यद्यपि, विश्वकप खेल्ने टिम हेर्दा चाहिँ धेरै उत्साहित हुन सकिँदैन ।

वेस्ट इन्डिजका ब्याट्म्यानहरु पावर सटका लागि प्रख्यात छन् । खासगरी उनीहरुको टि-२० का लागि उपयुक्त मानिन्छ । अहिलेको विश्वकप टिममा क्रिस गेल सबैभन्दा अनुभवी छन् । टी-२० फ्रेन्चाइजहरुमा विपक्षी बलरलाई अत्याउने गेल राष्ट्रिय टिमबाट भने त्यति स्थिर प्रदर्शन गर्दैनन् । यद्यपि, उनको दिन बलियो छ भने चाहिँ विपक्षी टिमलाई ऐइया पनि भन्न दिँदैनन् । विश्वकपमा वेस्ट इन्डिजका लागि गेलको फर्म एकदमै महत्वपूर्ण हुनेछ ।

अहिले आईपीएलमा भयानक देखिएका अलराउन्डर ब्याट्सम्यान एन्ड्रे रसेल वेस्ट इन्डिजको विश्वकप टिममा समावेश छन् । उनको ब्याट चलेको खण्डमा खेलको नतिजा कुनै पनि स्थितबाट उल्टिन सक्छ । यी दुई बाहेक डारेन ब्राभोबाट पनि स्थिर प्रदर्शनको आशा राख्न सकिन्छ । टिमका अन्य ब्याट्सम्यानहरु कच्चा नै छन् । सिमोन्स र पोलार्डजस्ता ब्याट्सम्यानहरु वेस्ट इन्डिजको टिममा भएको भए ब्याटिङ निकै बलियो हुन सक्थ्यो ।

बलिङ तर्फ वेस्ट इन्डिजमा खासै धार देखिँदैन । सुनील नारिन जस्ता विश्वस्तरीय स्पिनर टिममा छैनन् । केमर रोच, कार्लोस ब्रेथह्वाइट, एस्ले नर्सजस्ता बलरहरुबाट खासै ठूलो चमत्कारको आशा राख्न सकिँदैन ।

भारत स्क्वाड

बिराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान) शिखर धवन, केएल राहुल, विजय शंकर, एमएस धोनी (विकेटकिपर), केदार जादभ, दिनेश कार्तिक, यजुभेन्द्र चहल, कुलदिप यादव, भुवनेश्वर कुमार, जसपि्रत बुमराह, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, मोहम्मद सामी

अष्ट्रेलिया स्क्वाड

एरोन फिन्च (कप्तान), उस्मान ख्वाजा, डेभिड वार्नर, स्टिभ स्मिथ, सन मार्श, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एलेक्स केरी (विकेटकिपर), प्याट कुमिन्स, मिचेल स्टार्क, झेइ रिचार्ड्सन, नथान काउल्टर-निल, जेसोन बेहरेन्डोर्फ, नाथन लियोन, एडम जाम्पा

ईंग्ल्याण्ड स्क्वाड

इयान मोर्गन (कप्तान), जोनी बेयस्र्टो, जेसोन रोय, जोय रुट, बेन स्टोक्स, जोस बटलर (विकेटकिपर) मोइन अली, क्रिस वक्स, लियाम प्लुकेट, अदिल रसिद, मार्क उड, एलेक्स हेल्स, टम कुरान, जोइ डेनली, डेभिड विली

पाकिस्तान स्क्वाड

सरफराज अहमद (कप्तान, विकेटकिपर), फकार जमान, इमाम उल हक, अबिद अलि, बबर आजम, सोयब मलिक (उपकप्तान), मोहम्मद हाफिज, ह्यारिस सोहेल, सदाब खान, इमाद वसिम, हसन अली, फहिम अस्रफ, साहिन शाह अफ्रिदी, जुनैद खान, मोहम्मद हसनेन

साउथ अफ्रिका स्क्वाड

फाफ डु प्लेसिस (कप्तान), क्वीन्टन डि कक (उपकप्तान/विकेटकिपर), डेभिड मिलर, जेपी डुमिनी, हसिम अमला, एइडेन माक्रम, रासी भान डेर डुसेन, ड्वेन प्रेटोरियस, एन्डिल फेहुल्क्वायो, कगिसो रबाडा, डेल स्टेन, लुंगी एनगिडी, एनरिच नोत्र्जे, इमरान ताहिर, ताबि्राइज साम्सी

न्यूजिल्याण्ड स्क्वाड

केन विलियम्सन (कप्तान), टम ब्लुडेल, ट्रेन्ट बोल्ट, कोलिन डे ग्रान्डहोम, लकी फर्गुसन, मार्टिन गुप्टील, म्याट हेनरी, टम लथाम, कोलिन मुनरो, जिम्मी नसिम, हेनरी निकोल्स, मिचेल सान्टनर, इस सोधी, टिम साउथी, रोज टेलर

श्रीलंका स्क्वाड

डिमुथ करुनारत्ने (कप्तान), लसिथ मलिंगा, एन्जेलो म्याथुज, थिसरा परेरा, कुसल परेरा, धनन्जय डि सिल्भा, कुसल मेन्डिस, इसुरु उदाना, मिलिन्द सिरिवर्दना, अभिश्का फर्नान्डो, जिवन मेन्डिस, लहिरु थिरीमने, जेफ्री भन्डर्से, नुवान प्रदिप, सुरंगा लकमल

वेस्ट इन्डिज स्क्वाड

जेसोन होल्डर (कप्तान), क्रिस गेल, एन्ड्रे रसेल, शेल्डोन कोट्रेल, शान्नोन गाबि्रयल, केमर रोच, निकोलस पुरन (विकेटकिपर), एस्ले नर्स, फबियन अलेन, सिम्रोन हेटमेयर, साइ होप, ओसाने थोमस, कार्लोस ब्राथह्वाइट, डारेन ब्राभो, एभिन लेभिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment