
‘कुटुमा कुटु’, ‘पूर्व पश्चिम रेल’, ‘सुर्के थैली खोई’ जस्ता स्वादिलो गीतको थुप्रो लगाएका राजनराज सिवाकोटीको जीवन भने सादा र सरल छ । करियरको उत्कर्षमा पुग्दा समेत उनमा कुनै दम्भ छैन । अहंकार छैन ।
खासमा राजनराज आध्यात्मिक प्रवृत्तिका छन् । नियमित पूजापाठ गर्ने, मन्त्र जप गर्ने उनी तडकभडक जीवनशैली रुचाउँदैनन् । हिजोको दिनमा जस्ता थिए, आज पनि उस्तै छन् । सरल, मिजासिलो, हँसमुख र सामान्य ।
उनको जीवन जति सरल छ, उस्तै छ खानपान पनि । त्यती मात्र होइन, खानपान शैली पनि गजबको छ । अनलाइनखबरसँग कुरा गर्दै राजनराजले भनेका थिए, ‘खानेकुरामा मेरो निकै फरक बानी छ । मलाई धेरै भात पस्किएको देख्दा रिस उठ्छ ।’
उनको खानपान शैली कस्तो छ त ? उनकै शब्दमा ।
तामासिक खानामा रुची छैन
मेरो खानपान शैली सामान्य छ । भोज भत्तेरमा जाने, अनेक व्याञ्जन खाने, रेष्टुरेन्टमा गएर थरीथरीका परिकार मगाउने मेरो बानी छैन ।
मेरो जीवनशैली विलासी छै्रन, खानपान तामासिक छैन । मलाई माछा, मासु, दाल, अचार, तरकारी, सलाद, साग जस्ता थरीथरी परिकार चाहिँदैन । सादा दाल र भात भए पुग्छ । म प्राय घरमा यस्तै खाना खाइरहेको हुन्छु । बाहिर भोज भत्तेरमा गएर खान जाँगर चल्दैन ।
आफ्नै भान्साको खानेकुरा स्वादिलो
मलाई आफ्नै घरको भान्सामा पाकेको खानेकुरा सबैभन्दा बढी स्वादिलो लाग्छ । श्रीमतीले केही न केही स्वादिलो बनाएकै हुन्छिन् । घरको खाना भएपछि मलाई पुग्छ । बाहिरको खानेकुरामा तलतल लाग्दैन ।
कति साथीहरु घर बाहिर नै खाइरहेका हुन्छन् । घरमा परिवारसँग बसेर खाने फुर्सद पनि हुँदैन । बाहिर रेष्टुरेन्टमा खाने गर्छन् । यस्तै मःम, चाउमिन, पिज्जा, बर्गर, थुक्पा जस्ता खानेकुरामा लोभिन्छन् । मलाई चाहि यस्तो खानेकुरा मन पर्दैन ।
बिहान घरबाट खाना खाएर निस्कएपछि मलाई दिनभर केही चाहिँदैन । साँझ घर पुगेपछि मात्र खाना खान्छु । दिनभर केही चाहिँदैन । न भोक लाग्छ, न खाने तलतल नै ।
राती घरमा पुगेपछि श्रीमतीले जे-जस्तो खाना बनाएकी हुन्छिन्, त्यही स्वादिलो लाग्छ । यो मीठो, त्यो नमिठो भन्ने छैन ।
आलु-तामाको तरकारी र गुन्द्रुकको झोल
खाना खाने बेला आलु तामाको तरकारी र गुन्द्रुकको झोल छ भने मन फुरुंग हुन्छ । यस्तो खानेकुरा देखेपछि यसै भोक जाग्छ ।
गुन्द्रुकको झोल चाहि मेरो भान्सामा निकै स्वादिलो बन्छ । मेरी श्रीमतीले भटमास हालेर सह्रै मीठो बनाउँछिन् । माछा, मासुमा खास आशक्ति छैन । कहिले काहीँ खानु बेग्लै कुरा । तर, नियमित जसो मासु पाक्दैन । छोरीहरुले पनि मासुमा उति रुची देखाउँदैनन् ।
बरु गुन्द्रुकको झोल भएको बेला ढिंडो खाइन्छ । यति भएपछि अचार पनि चाहिँदैन । अरुबेला चाहि गोलभेडाको अचार, मुलाको अचार मनपर्छ ।
थपेर खाइदैन
जतिसुकै मीठो भएपनि म थपेर खाने गर्दिन । अक्सर हामी मीठो खाना थपेर खान्छौं । धेरेजसोले दाल-भात पनि दोस्रो पटक थपेर खान्छन् । भोज भत्तेरमा त मीठो-मसिनो खानेकुरा छ भने थपीथपी खाने गरिन्छ ।
मलाई चाहि एक पटक पस्किएको खाना दोस्रो पटक थप्न मन लाग्दैन । ठिक्क मात्रामा पस्किएको खानेकुरा खाएपछि म भरपेट अघाउँछु । फेरी थप्ने बानी छैन । चाहे मीठो मसिनो होस् वा नमिठो, जस्तो भएपनि मलाई एकपटक पस्किएको खानेकुरा नै काफी हुन्छ ।
थालमा धेरै भात देखें रिस उठ्छ
मलाई एक पटक पस्किएको खानाले मनग्ये पुग्छ । तर, धेरै पस्किएको हुनुहुँदैन । ठिक्क । एकै पटक धेरै खाना पस्किएको देखेमा साह्रै रिस उठ्छ ।
कहिले काहीँ भोकाएको होला भनेर श्रीमतीले धेरै भात पस्किन्छन् । यस्तो बेला रिस उठ्छ । तर, अहिले त उनीहरुलाई मेरो बानी थाहा भइसक्यो । कति खान्छन् भनेर ठिक्क अनुमान गर्न सक्ने भइसकेकी छिन् ।
भात पकाउने जाँगर
नियमित भान्सामा पस्ने, भात पकाउने त गरिदैन । आफु अरु नै काममा व्यस्त हुने भएकाले पनि खानेकुरातिर ध्यान जाँदैन ।
तर, बेलाबखत मुड चल्छ । अनि भान्सामा पसेर पकाउन थाल्छु । यस्तो चाहि कहिले हुन्छ भने, घरमा मासु ल्याएको बेला । आफुलाई मासुुप्रति आशक्ति नभएपनि पकाउने रहर लाग्छ । तर, म भान्सामा पसेको, भात पकाएको कुराले श्रीमती फुरुंग हुने चाहि होइन । किनभने उनलाई थाहा छ कि, मैले उनको सहयोगको लागि भात पकाइरहेको छैन, बरु आफैलाई रमाइलो लागेर पकाएको हुँ ।
प्रतिक्रिया 4