Comments Add Comment

सिन्धुली चिनाउन काठमाडौंमा ‘फोटो सिन्धुली’

१८ वैशाख, काठमाडौँ । नेपाल पर्यटन बोर्डले नियमित रुपमा गर्दैआएको ‘फोटो नेपाल’ को शृङ्खला अन्तर्गत बैशाख २० गतेदेखि ‘तस्वीरमा सिन्धुली’ फोटो प्रदर्शनी हुने भएको छ ।

सिन्धुली जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित समृद्ध सिन्धुली अभियानले पर्यटन बोर्डमा ‘तस्वीरमा सिन्धुली’ एक हप्ते फोटो प्रदर्शनी आयोजना गरेको हो ।

पर्यटन बोर्डको सहकार्यमा आयोजित प्रदर्शनीमा सिन्धुलीको जनजीवन, प्राकृतिक सौन्दर्य, जीवनशैली, संस्कृति, धार्मिक तथा ऐतिहासिक सम्पदालगायत ३५ तस्वीर राखिने छ ।

सिन्धुलीका दुई ऐतिहासिकस्थल सिन्धुलीगढी र हरिहरपुरगढीलाई तस्वीरमा देख्न सकिने छ । यस्तै, सिन्धुलीको मौलिक उत्पादनका रुपमा जुनार र पर्यटकीय मार्गका रुपमा रहेको बीपी मार्गका सुन्दर तस्वीर प्रदर्शनीमा राखिने छ ।

विविध जातिको बसोबास रहेको सिन्धुलीको प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई तस्वीरमा देख्न सकिने छ । जिल्लाबाट तस्वीर संकलनका लागि अभियानले आफ्नो पेज मार्फत् सामाजिक सञ्जालमा आह्वान गरेको थियो ।

प्रदर्शनीमा सिन्धुलीका स्थानीय नौं युनिटको प्रतिनिधित्व होस् भन्ने उद्देश्यसमेत अभियानको छ ।

नेपाल सरकारले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्ये सिन्धुलीगढी, सुनकोशीमा जलपर्यटन र महाभारत पर्वत शृङ्खलामा पदमार्ग विशेष रहेको छ । यी तिनवटै गन्तव्य सिन्धुलीमा छ, जसको विकासले सिन्धुलीले लाभ लिन सक्नेछ । पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन कार्य सँगसँगै लैजानु आवश्यक छ । अभियानको यो तस्वीर प्रदर्शनी गन्तव्यको प्रवर्द्धनमा टेवा पुर्‍याउनु पनि हो ।

अभियन्ता सौरभ ढकालले भने, ‘सिन्धुलीको समृद्धिका सम्भावनाको खोजी गरिरहेका छौं ।’ सिन्धुलीमा पर्यटकीय स्थलहरु पर्याप्त रहेकाले त्यसलाई जिल्लाबाहिर चिनाउन फोटो प्रदर्शनी गर्न लागिएको अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । फोटो सिन्धुलीका संयोजक दीपक श्रेष्ठले सिन्धुलीमा पर्यटन विकासका लागि कला, संस्कृति, सम्पदाको संरक्षणसँगै प्रवर्द्धनका काम अगाडि बढाउनुपर्ने बताए ।

पर्यटन बोर्डमा प्रदर्शनीपछि ती तस्बिरहरु सिन्धुलीका सात गाउँपालिका र दुई नगरपालिकामा समेत घुम्ती प्रदर्शनी गर्न लगिने छ । यसले स्थानीयस्तरमा रहेका पर्यटकीय महत्वको स्थलबारे जनमानसमा सचेतना ल्याउन सहयोग पुग्ने अभियानको विश्वास छ ।

तस्वीर प्रदर्शनीका क्रममा पर्यटन बोर्डमा सिन्धुलीको पर्यटन सम्बन्धी छलफल समेत गर्ने अभियानले योजना बनाएको छ । छलफलमा प्रत्येक गाउँपालिका तथा नगरपालिकाले पर्यटन विकासका बारेमा आफ्नो प्रस्तुति दिनेछन् । त्यस्तै प्रदर्शनीकै अबसरमा दिनैपिच्छे सिन्धुलीका श्रष्टाहरुद्वारा प्रकाशित पुस्तक, सिन्धुलीमा पदयात्राको सम्भावना र साइकल यात्राबारे छलफलसमेत आयोजना गरिने छ । ‘तस्वीरमा सिन्धुली’ प्रदर्शनी एक सातासम्म हुनेछ ।

सिन्धुलीको सम्भावना

सिन्धुलीमा ऐतिहासिक गढीहरु हरिहरपुरगढी, सिन्धुलीगढी, फिक्कल, आदिलिंग कुशेश्वर महादेव, सिद्धबाबा, पञ्चकन्या पोखरी, सुनकोशी, ठाकुर राजाको दरबार, महाभारत, चुरे, माइस्थान, मधुगंगा महादेव, सर्वसिद्धेश्वर गुफा, महाकाली देवी, बैष्णवी मन्दिर, शहश्रधारा गुफालगायत दर्जनौं पर्यटकीय स्थल रहेका छन् । महाभारत पर्वत शृङ्खलाकै उच्च टाकुरा फिक्कल, महाभारतमा पाइने सुनाखरी, लालीगुराँस र जडीबुटीले पर्यटकलाई पक्कै आकर्षित गर्ने छ ।

फिक्कलबाट सगरमाथाको दक्षिणी मोहडा स्पष्ट देख्न सकिन्छ । हिमशृङ्खला मात्र होइन महाभारतका घ्याङ्डाँडा, मरिणचुली, फापरचुली, मतानवास, ल्यान्द्राङ, जीर्घाशीरलगायत स्थानबाट तराईका सुन्दर फाँट नियाल्न सकिन्छ । सिन्धुलीमा बसोबास गर्ने अल्पसंख्यक हायू, थामी, पहरी, दनुवारलगायत विविध जातजातिको कला, संस्कृति, भाषा, रितिरिवाज, लोक साहित्य, लोक गीतसंगीतको संरक्षण र विकासले पर्यटन विकासमा टेवा पुग्नसक्छ । हजारौं विगाह उब्जाउ भूमि छ ।

सुनकोशी गढीतिर, महाभारत पर्वत श्रृङ्खला, मरिण, चँदाहा र कमलाको पानी स्रोत भएको हजारौं विगाह उर्वर भूमि र जंगलैजंगलको चुरे पहाड सिन्धुलीमा छ । बीपी राजमार्ग, पूर्व–पश्चिम मदन भण्डारी राजमार्ग, पूर्व–पश्चिम मध्यपहाडी राजमार्गले सिन्धुलीलाई नेपालको सडक सञ्जालसँग जोडेको छ ।

समृद्ध सिन्धुली अभियानले राइड टु सिन्धुलीगढी (साइकल यात्रा), इन्भेष्ट इन सिन्धुली (लगानी छलफल), ग्रेट महाभारत ट्रेल (नमोबुद्धदेखि सिन्धुलीगढीहुँदै फिक्कल पदयात्रा), जी टु जी (हरिहपुरगढीदेखि सिन्धुलीगढी पदयात्रा), घरवास तालिम, म्यापिङ, कलायात्रालगायत गतिविधि नागरिक तहकै सहभागितामा गर्दै आएको छ । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment