Comments Add Comment

गाउँघरमा फाटेका मन सिउँदै मेलमिलाप केन्द्र

३ वर्षमा १९७० विवाद मेलमिलापबाट समाधान

Photo Credit : सिन्धुपाल्चोकको एक गाउँ

१८ वैशाख, सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका–६ बस्ने दुई परिवारबीचमा विगत ४० वर्षदेखि अंशसम्बन्धी विवाद थियो । कैयौंपटक प्रहरी र अदालत धाँउदा पनि उनीहरुको विवाद मिल्न सकेको थिएन ।

अन्ततः यो विवाद स्थानीय मेलमिलाप केन्द्रमा आयो । कृष्णबहादुर बोहराले आफूलाई दाई पर्ने उत्तमध्वज बोहराले रातको समयमा कुटपिट गरेको र ४० हजारसमेत लुटेर लगेको भन्दै स्थानीय मेलमिलाप केन्द्रमा उजुरी दर्ता गराए । तर उत्तमध्वजले दुवै आरोप अस्वीकार गर्दै अंश विवादका कारणले आफुमाथि यस्तो आरोप लगाइएको बताए ।

मेलमिलाप केन्द्रले दुवै पक्षलाई राखेर छोटो समयमा विवाद सल्टाइदिएको छ । यसरी दुई परिवारबीचको वर्षौंदेखिको तित्तता हटेर सम्वन्ध सुमधुर बनेको छ ।

मेलमिलाप केन्द्रमा उजुरी आएपछि मेलमिलाप गराउन ६ दिन मात्र लागेको मेलमिलपकर्ता राधाकृष्ण भट्टराई, नेत्रप्रसाद पौडेल र चरित्रकुमार श्रेष्ठले जानकारी दिए ।

‘पहिले बोलचाल नै थिएन, अहिले दुवै परिवार एकझैं भएका छन्,’ मेलमिलापकर्ता राधाकृष्ण भट्टराईले भने ।

चौतारा साँगाचोकगढी नगरपालिका–४ कुभिण्डे निवासी सासु रिता बोगटी (परिवर्तित नाम) र बुहारी सीता बोगटी (परिर्वतित नाम) बीच कुटाकुट भयो । सासु र बुहारीको झगडाले उग्ररुप नै लियो । बुहारीले कुटपिट गरेको गरेको भन्दै सासु मेलमिलाप केन्द्रमा पुगीन । केन्द्रले दुवैलाई राखेर मेलमिलाप गरायो । अहिले उनीहरुको सम्बन्धमा सुधार आएको र मिलेर बसिरहेको स्थानीय मेलमिलकर्ता अर्जुन शर्माले जानकारी दिए ।

यतिबेला सिन्धुपाल्चोकमा यस्ता प्रकृतिका घटनाहरु अदालत र प्रहरी कार्यालयमा कमै जान्छन् । न्याय प्राप्तिका लागि पीडितहरु स्थानीय मेलमिलाप केन्द्र र मेलमिलापकर्ताहरुलाई भेट्न जाने गरेका छन् । गाउँका विवाद गाउँमै मिलाउने उद्देश्यले स्थानीयस्तरमा स्थापित सामुदायिक मेलमिलाप केन्द्रले स्थानीयको खर्च मात्रै होइन अदालत र प्रहरी कार्यालयमा जाने समय समेत बचत भएको छ ।

प्राकृतिक श्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालले जिल्लामा विगत तीन वर्षदेखि सुरु गरेको यो अभियानले धेरै फाटेका मनहरु सिउन मद्दत गरेको केन्द्रका कार्यकारी निर्देशक चुपबहादुर थापाले बताए ।

‘टुटेका सम्बन्ध र फाटेका मनहरु स्थानीय स्तरमै मिलिरहेका छन्,’ उनले भने ।

कार्यक्रम सुरु भएयता सिन्धुपाल्चोकमा मात्रै १९ सय ७० विवादहरुमा मेलमिलाप भएको थापाले जानकारी दिए । उनका अनुसार यो वर्ष मात्रै ८ सय ७६ विवादहरु हल भएका छन् ।

समाजमा शान्ति कायम गर्नका लागि ‘मन सिउने अस्पताल’ गाउँ–गाउँमा हुनुपर्छ भनेर आफुहरुले अभियान सुरु गरेको थापाले बताए ।

प्राकृतिक श्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति नेत्र धितालले मेलमिलाप केन्द्रबाट विवादहरु समाधान हुदै गएपछि स्थानीयको पैसा र समय समेत बचत हुने गरेको बताए ।

स्थानीयस्तरमा सबैभन्दा बढि जग्गासम्बन्धी विवादहरु मेलमिलापबाट समाधान हुने गरेका छन् । तिन वर्षको अवधीमा जिल्लामा मात्रै ३ सय ५३ जग्गा विवाद मेलमिलापबाट समाधान भएको छ । त्यस्तै घरेलु हिंसाका ३ सय २१, खानेपानी कुलो विवादका २ सय ६ विवाद समाधान भएको धितालले जानकारी दिए ।

स्थानीय तहमा गठीत न्यायीक समितिले समेत मेलमिलमपबाटै धेरै घटनाहरुको समाधान गर्ने गरेकाले पनि यो अभियान स्थानीय सरकारकै एउटा अभिन्न अंग भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ बताउँछन् । सिन्धुपाल्चोकको १२ स्थानीय तहको १ सय ३ वडामा नै अदालतबाट सुचिकृत मेलमिलाकर्ताहरु क्रियाशील छन् ।

जिल्ला अदालतले समेत कतिपय मुद्दाहरु मेलमिलाबाटै समाधान गर्नका लागि पहल गर्ने गरेको जिल्ला अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले जानकारी दिए ।

‘अदालतभित्रै मेलमिलाप कक्ष सञ्चालनमा रहेको छ, त्यो बाहेक स्थानीयस्तरमा रहेका मेलमिलापकर्तासम्म पनि हामीले पठाउने गरेका छौं’ पौडेलले भने ।

स्थानीयस्तरमा मेलमिलाप केन्द्र र स्थानीय तहमा भएका न्यायिक समितिका कारण प्रहरी कार्यालयमा सामान्य विवाद लिएर आउनेको संख्यामा कमी आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी माधव काफ्ले बताउँछन् ।

प्राकृतिक श्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्र नेपालले सिन्धुपाल्चोकमा तालिम दिएका ९ सय ५ जना मेलमिलापकर्ता छन् । प्राय सबै मेलमिलापकर्ताहरु स्थानीयस्तरमा हुने विवादहरु समाधानका लागि क्रियाशील रहेको केन्द्रका निर्देशक थापाको भनाइ छ । सिन्धुपाल्चोक सहित २२ जिल्लामा मेलमिलाप र संवाद कार्यक्रम केन्द्रले सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment