Comments Add Comment

तपाईको नामको अर्थ के हो ?

‘बाबुको नाम के हो ?’ मैले मेरो नाम भन्ने बित्तिकै उनी मुसुक्क हाँसिन् । ‘बाबु यति ठूलो भएर पनि नाम भने बच्चुकैलाश ?’ मैले मुस्कुराउँदै भनें ‘हो हजुर मेरो नाम बच्चुकैलाश नै हो ।’

मेरो नामसँग सम्बन्धित यो र यस्ता धेरै कुराहरु सुनेको छु मैले । बिशेष गरी म सानो छँदा नेपालमा मेरो नाउँको बारेमा धेरै टीकाटिप्पणी हुने गर्थ्यो । म मात्रै हैन, जसको नाम अलिकति अस्वाभाविक छ, उनीहरुका बारेमा यस्तो टीकाटिप्पणी हुने गर्छ ।

मलाई मेरो स्कुलमा पढाउने मेरा गुरुले एक पटक भनेको कुरा अहिले पनि दिमागमा ताजै छ । उहाँ भन्नुहुन्थ्यो, ‘तिमी जति ठूलो भए पनि सधैं बच्चु नै हुन्छौ, तिम्रो नाम नै त्यस्तो ।’

मानिसलाई आफ्नो नाम अति प्रिय लाग्छ । कहीं कतै आफ्नो नाम देख्ने बित्तिकै मानिस अति खुसी हुन्छ । बिशेषत: आफ्नो चर्चा गर्दै वा राम्रो कामको बारेमा तारिफ गर्दै कुनै संचार माध्यम वा पत्र पत्रिकामा आफ्नो नाम आएको छ भने मानिस गर्वले छाती फुलाउँछ । यो अति सामान्य हो । के यो कुरा आफ्नो नाम आफैलाई मन नपर्नेको हकमा पनि लागु हुन्छ ? मेरो विचारमा यो तथ्य सबैलाई लागु हुन्छ ।

मेरो नाम जे जस्तो छ, मलाई मन पर्छ । मानिसको मूल्यांकन नामले हुने हैन । धनराज वा लक्ष्मी नाम हुँदैमा कोही धनी हुने हैन । धन कमाउन मेहनत गर्नुपर्छ, भाग्यले साथ दिनुपर्छ र अरु अनेक कुराहरु गर्नुपर्छ । त्यस्तै मेरो नाम बच्चुकैलाश हुँदैमा म सधैं बच्चा हुने पनि हैन । वा, मेरो नाम बच्चुकैलाश नभएर अरु कुनै राखेको भए पनि म शायद यही नै व्यक्ति हुने थिएँ होला ।

बिशेष गरी नेपालमा सानो छँदा बच्चालाई वा कसैलाई होच्याएर बोलाउँदा नाम बिगार्नु सामान्य हो । कृष्ण कृष्णे हुन्छ, राम रामे हुन्छ । म सानो हुँदा मलाई कतिले बच्चु हैन ‘बच्चे’ भन्थे । अहिले पनि कतिले भन्दा हुन्, मेरो पछाडी । तर, म ठुलो भएपछि मेरो अगाडि त्यसो भन्ने हिम्मत कसैको छैन । मलाई जसले जे भने पनि म त्यही हुँ । मेरो नाम बिगार्दैमा वा मलाई नराम्रो नामले बोलाउँदैमा मेरो बुद्धि, बिबेक र सोचाईमा कुनै फरक आउँदैन ।

नेपाली समाजमा अधिकांशको नाम दुईवटा हुन्छ । एउटा जन्मकुण्डली अनुसार वा राशी अनुसारको नाम र अनि अर्को बोलाउने वा आधिकारिक नाम । मेरा पनि दुईवटा नाम छन् । यसरी हरेक व्यक्तिको नाम किन दुई वटा हुनु पर्‍यो मलाई थाहा छैन । तर, मेरो बिचारमा राशीको नाम सीमित अक्षरबाट शुरु गर्नु पर्ने हुँदा त्यति सामान्य नहुने वा अभिभावकलाई मन नपर्ने हुनाले अर्को बोलाउने राम्रो वा आफूले चाहेको नाम राख्न यस्तो प्रचलन चलेको हुनुपर्छ ।

मेरो नाम किन बच्चुकैलाश रह्यो ? यो मलाई एकिन थाहा छैन । नाम आफैले राख्ने कुरा पनि हैन । मेरी आमाले म सानो छँदा एकपटक भन्नुभएको थियो, त्यतिबेला बुवाको एकदम मनपर्ने गायक ‘बच्चुकैलाश’ भएको हुनाले मेरो नाम उनै गायकको नामबाट राखेको रे ! शायद, त्यति बेलाका हिट र मेरो बुवालाई मन पर्ने गायक रामकृष्ण भएको भए मेरो नाम पनि रामकृष्ण नै हुन्थ्यो कि ? मैले यसो तर्क मात्रै गरेको !

नाम राख्ने सन्दर्भमा मैले सुनेको छु, कतिले भगवानको नाम लिन पाइने हुनाले आफ्नो छोरा छोरी वा नाति नातिनीको नाम भगवानको नामबाट राख्थे रे । त्यसैले हाम्रो जमानामा धेरैको नाम भगवानको नामबाट राखिन्थ्यो। तर, मेरो हकमा भने यो लागु भएन ।

एकपटक राखेको नाम फेर्न सम्भव भए पनि धेरै प्रशासनिक झमेलाहरु छन् । त्यसैले पनि एक पटकको नाम सधैको नाम हुन्छ हाम्रो जीवनमा । आफ्नो नाम राख्न आफूलाई अधिकार भएको भए वा सजिलैसँग नाम फेर्न मिल्ने भए आफ्नो नाम आफैलाई मन नपर्नेहरुले नाम फेर्थे होलान् ।

मन परोस् वा नपरोस् नाम नाम नै हो । नाम र व्यक्तिको चरित्र वा गुण एक अर्कोमा सम्बन्धित छैनन । त्यसैले यो कुरामा त्यति चिन्ता र बहस गर्नु पर्ने कुरा म देख्दिनँ । कतिले आफ्नो नामका पछाडि आफ्नो इच्छा अनुसारको वा व्यक्तित्व अनुसारको टाईटल राख्ने प्रचलन पहिला थियो । मेरो हकमा यो कुरा पनि लागु भएन। अहिले भने गायब जस्तै छ यो प्रचलन ।

धेरैजसो नामको अर्थ हुन्छ । धेरैले मलाई सोध्छन, ‘मेरो नामको अर्थ के हो ?’ नेपालमा शायद सबै जसोलाई थाहा होला मेरो नामको अर्थ । तर, विदेशमा भने मेरो नामको अर्थ धेरैलाई बुझाउनुपर्ने अनुभव छ मसँग । बिदेशमा बिशेष गरी बेलायतमा बीचको नाम लेख्ने वा बोलाउने प्रचलन छैन । त्यसैले मेरो नाम यहाँ बच्चुकैलाश हैन, बच्चु मात्रै हो । यो भने ठाउँ अनुसार मेरो नामको पछाडिको भाग गायब भएको मेरो एउटा अनुभव हो ।

म मेरो जीवनको आधा भन्दा बढी उमेर ढल्केर आधा शताब्धि पुगे पनि मेरो शरीरको बनावट र प्रकृतिले गर्दा मान्छे मलाई त्यो उमेरको देख्दैनन् । मेरा छोराछोरी बिश्वबिद्यालय जान्छन् भन्दा धेरैलाई पत्यार लाग्दैन । अनि म पनि मजाक गर्दै भन्छु, ‘मेरो नाम नै बच्चु, त्यसैले म अहिले पनि सानै छु ।’

अन्त्यमा, मलाई के कुरामा गर्व छ भने यो संसारमा ‘बच्चुकैलाश कैनी’ नाम गरेको व्यक्ति म मात्रै हो । अहिलेसम्म यही नाम र थर भएको व्यक्ति कहीं कतै भेटिएको जानकारी छैन र शायद भेटिने पनि छैन । म यो कुरामा करिव-करिव शतप्रतिशत विश्वस्त छु । कोही कसैलाई कुनै जानकारी भए खबर दिनुहोला, तपाई हामी संगै खबर साटौंला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment