Comments Add Comment

अफ्रिदीले गरे वास्तविक उमेरको खुलासा, बायोग्राफीमा अरु के छ ?

२० वैशाख, काठमाडौं । ‘बुम बुम’ उपनाम पाएका पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको करिअर थुप्रै उतारचढावहरुले भरिएको छ ।

२० वर्ष लामो क्रिकेट जीवनमा उनी चर्चा र विवादबाट कहिल्यै टाढा रहेनन् । उनी पाकिस्तानले उत्पादन गरेका सम्भवतः ठूला क्रिकेट स्टार मध्ये एक हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका अफ्रिदी अहिले फेरि चर्चामा आएका छन् । कारण हो, हालै प्रकाशित बायोग्राफी ‘गेम चेन्जर’ ।

यसले क्रिकेट क्षेत्रमा राम्रै तरंग ल्याइदिएको छ । बायोग्राफीमा उनले आफ्नो क्रिकेट करिअरका केही विवादास्पद र रोचक खुलासाहरु गरेका छन् ।

बायोग्राफीमा उत्तरपश्चिम पाकिस्तानको एक पहाडमा जन्मेर कसरी राष्ट्रिय क्रिकेट टिमको कप्तानसम्म भए भन्ने वर्णन छ । यसमा सबैभन्दा बढि विवाद चाहिँ उनले गरेको वास्तविक उमेरको खुलासालाई लिएर भएको छ । अफ्रिदीले रेकर्डमा भएको भन्दा आफू पाँच वर्ष जेठो भएको खुलाएका छन् ।

आधिकारिक रेकर्डमा अफ्रिदीको जन्ममिति सन् १९८० छ । तर, किताबमा उनले आफू १९७५ मा जन्मिएको बताएका छन् । सन् १९९६ मा अफ्रिदीले आफ्नो डेब्यू एकदिवसीयमा नै सर्वाधिक छिटो शतकको विश्वकिर्तिमान बनाएका थिए । रेकर्डमा त्यतिबेला उनको उमेर मात्र १६ वर्ष देखाइएको छ । तर, अहिले अफ्रिदीले बताएअनुसार त्यतिबेला उनी २० वर्ष पुगेको देखिन्छ ।

सन्न्यासको घोषणा गर्दा अफ्रिदीको उमेर रेकर्डमा ३४ वर्ष थियो तर वास्तविकतामा उनी ३९ वर्ष भइसकेका थिए । अहिले अफ्रिदी ४४ वर्षको भएका छन् ।

जबकि रेकर्डमा उनी ३९ वर्षका मात्र भए । किताबमा अफ्रिदीले लेखेका छन्, ‘म त्यतिबेला उनीहरुले दाबी गरे झैं १६ वर्षको नभएर १९ वर्षको थिएँ । म १९७५ मा जन्मेको हुँ । तर अधिकारीहरुले मेरो गलत जन्ममिति राखिदिए ।’

प्रायजसो क्रिकेट खेलाडीहरुको उमेर रेकर्डमा घटाइएकै हुन्छ । तर, यसरी उमेर घटाएको स्वीकारोक्ति कमै खेलाडीले गर्छन् । अफ्रिदीले इमान्दारीता देखाएका छन् ।

स्पट फिक्सिङ काण्डबारे

सन् २०१० मा पाकिस्तानी क्रिकेट टिम स्पट फिक्सिङ काण्डमा फसेको थियो । ईंग्ल्यान्डमा जारी रहेको टेस्टमा स्पट फिक्सिङ गरेको भेटिएपछि तीन खेलाडी निलम्बनमा परेका थिए । अफ्रिदीले यो प्रसंग पनि किताबमा उल्लेख गरेका छन् ।

अफ्रिदीको दाबी छ कि स्पट फिक्सिङ हुनुभन्दा केही महिना अगाडि टिम म्यानेजमेन्टका सबैजनालाई यसबारे सूचना थियो र प्रमाण पनि हातमा आएको थियो । तर, कसैले वास्ता गरेनन् । त्यतिबेला सोएब मल्लिकलाई कप्तान र सलमान बटलाई उपकप्तान बनाउने निर्णयको पनि उनले आलोचना गरेका छन् ।

‘सोएब यो भूमिकाका लागि फिट थिएनन् भने सलमान बट कच्चै थिए,’ अफ्रिदीले लेखेका छन् ।

उनले पाकिस्तानका प्रधानमन्त्री तथा क्रिकेट टिमका पूर्वकप्तान इमरान खानको जमेर प्रशंसा गरेका छन् । क्रिकेट कप्तानदेखि प्रधानमन्त्रीसम्म खान सफल भएको अफ्रिदीको ठहर छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग इमरानको तुलना गर्दै उनले लेखेका छन्, ‘मोदीभन्दा तुलनात्मकरुपमा खान लचिला छन् । यो उनले प्रमाणित गरिसके ।’

अफ्रिदीले सन् २००३ को विश्वकपमा वकार युनिसको कप्तानीले पाकिस्तानलाई डुबाएको जिकिर गरेका छन् । बकारसँग एकताको भावना नभएको र ड्रेसिङ रुममा हुने राजनीतिलाई उनले मलजल गरेको आरोप लगाएका छन् । ‘टिमलाई नेतृत्व गर्ने कुनै क्षमता उनीसित थिएन,’ किताबमा लेखिएको छ ।

उनले अर्का लिजेन्ड्री कप्तान वसिम अक्रमको नेतृत्वको भने प्रशंसा गरेका छन् । अफ्रिदीले अर्का पूर्वकप्तान जाभेद मियादादले आफूलाई ‘सानो केटो’ भन्दै भेदभाव गरेको आरोप लगाएका छन् । ‘मियादाद सुरुदेखि नै मेरोविरुद्ध लागिरहे । मैले डेब्यू गर्ने म्याच अगाडि उनले मलाई अभ्यास गर्ने मौका समेत दिएनन् । मैले टिमका साथीहरुसँग छुट्टिएर एक्लै अभ्यास गर्नुपरेको थियो ।’ किताबमा लेखिएको छ । साथै खेल जितेपछिको प्रिजेन्टेसन समारोहमा मियादादले आफ्नो प्रशंसा गर्न लगाउने गरेको अफ्रिदीको आरोप छ ।

विश्लेषकहरुले अफ्रिदीको बायोग्राफीलाई ‘जस्तो ब्याटिङ, उस्तै किताब’ भनेर टिप्पणी गरेका थिए । अफ्रिदीको ब्याटिङ विष्फोटक हुनुको साथै गैरजिम्मेवार शैलीको मानिन्थ्यो । उनी अनावश्यकरुपमा पनि ठूला सटहरु खेल्ने प्रयास गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment