+
+
Shares

विश्वप्रकाशले सुझाए चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १२:१७

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनाव अघि पार्टीको महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव गरेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बिहीबार बिहान फोन सम्पर्क मार्फत महामन्त्री शर्माले चार विकल्पहरु सुनाएका हुन् ।

महामन्त्री शर्माले २७ देखि २९ मंसिरसम्म १५ औं महाधिवेशन गर्न सकिने पहिलो विकल्प अघि सारेका छन् । कार्यसम्पादन समितिको बैठकमा अर्का महामन्त्री गगन थापाले पेश गरेको कार्यतालिका अनुसार नियमित महाधिवेशन गर्ने प्रस्तावलाई पारित गर्नुपर्ने पहिलो विकल्प राखेका छन् । व्यक्तिगत स्वार्थबाट माथि उठेर नियमित महाधिवेशनको कार्यतालिका पारित गर्नुपर्ने उनको राय छ ।

महामन्त्री शर्माले मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर गरिएको अवस्थामा त्यही समयभित्र विशेष महाधिवेशन गर्न सकिने दोस्रो विकल्प देखाएका छन् । विधानको १७ (२) बमोजिम भएको व्यवस्था ‘केन्द्रीय समितिले चाहेमा’ विशेष महाधिेवेशन हुन सक्ने भएकाले उक्त निर्णय गर्न सकिने महामन्त्री शर्माले बताएका छन् ।

महामन्त्री शर्माले विधानको सोही धारामा रहेको व्यवस्था अनुसार महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन गर्नुपर्ने तेस्रो विकल्पमा रहेको उल्लेख गरेका छन् ।

यो विकल्पमा पनि सहमति नभए १५ औं महाधिवेशनका लागि पुस १६ देखि १९ गतेसम्म गर्नसकिने चौथो विकल्प अघि सारेका छन् । संस्थापक नेता बीपी कोइराला २०३३ सालमा मेलमिलापको नीति लिएर फर्केको दिनलाई स्मरण गरेर त्यही दिनबाट १५ औं महाधिवेशन गर्न सकिने शर्माले बताएका छन् ।

केन्द्रीय समितिबाट निर्वाचन समिति पुनर्गठन, विधान संशोधन मस्यौदा समिति गठन, महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन गर्नुपर्ने विषय समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?