Comments Add Comment

प्रदेश ५ को राजधानी राख्न दाङको पक्षमा ५५३ सुझाव

तेस्रो अधिवेशनबाट पनि टुंगिएन नाम र राजधानी

२२ वैशाख, बुटवल । नाम र स्थायी राजधानी टुंगो नलगाई आइतबार प्रदेश ५ को प्रदेशसभाको तेस्रो अधिवेशन सकिएको छ ।

प्रदेशको नाम र स्थायी मुकाम तोक्न सुझाव दिन गठित प्रदेशसभाको विशेष समितिले प्रतिवेदन पेश गर्न नसकेका कारण तेस्रो अधिवेशन सकिदा समेत नामाकरण र स्थायी मुकाम तोक्ने प्रक्रिया पछि धकेलिएको छ ।

सुझाव संकलन कार्य सकेर विशेष समिति मातहतको उपसमितिले प्रतिवेदन दिए पनि मूल समितिले अन्तिम रुप दिन नसकेपछि सो प्रक्रिया पछाडि धकेलिएको हो ।
शनिबार बसेको बिशेष समितिको बैठकले आइतबार बिहान पुन बैठक बसेर आइतबार प्रतिवेदन बुझाउने तयारी गरे पनि अन्तिम समयमा आएर समितिले प्रतिवेदन बुझाउने समय पछि सारेको हो ।

कार्यविधिमा रहेको विज्ञहरुको राय सुझाव लिने प्रावधानमा टेकेर समितिले प्रतिवेदन बुझाउने समय पछाडि धकेलेको हो ।

आइतबार बिहान बसेको समितिको बैठकले प्रदेशको नामाकरण र स्थायी मुकाम तोक्ने बिषयमा विज्ञहरुको राय सुझाव लिएर मात्रै समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिने निर्णय गरेको समितिका सभापति दीपेन्द्रकुमार पुनले जानकारी दिए ।

समितिको निर्णयबारे आइतबार प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको सभापति पुनले बताए । प्रदेशसभाको हिउँदे अधिवेशन आइतबार राति १२ बजेबाट अन्त्य हुँदैछ ।

प्रदेशसभाको चालु तेस्रो अधिवेशन सकिए पनि विज्ञहरुको राय सुझाव लिएर अर्को अधिवेशन अगाडिनै समितिले आफ्नो प्रतिवेदन प्रदेशसभा सचिवालयलाई बुझाउन सकिने सभापति पुनले जानकारी दिए ।

तेस्रो अधिवेशन आइतबार सकिने र त्यसलगत्तै बजेट अधिवेशन सुरु हुने भएकाले सो अधिवेशनमा राजधानीको विषयले प्रवेश नपाउने कतिपय सांसदहरुकै आशंका छ । उपसमितिले दिएको प्रतिवेदनमा प्रदेशको राजधानीका लागि दाङका लागि सबै भन्दा बढी सुझाव परेको छ ।

प्रदेशका १२ वटै जिल्लाबाट संकलन भएका १३ सय १३ सुझावमध्ये सबैभन्दा बढी दाङको पक्षमा ५ सय ५३ वटा सुझाव परेको र अस्थायी मुकाम रहेको रुपन्देहीको पक्षमा ३५० वटा प्रस्ताव आएको बताइएको छ ।

नामाकरणका विषयमा भने लुम्बिनीको पक्षमा सबैभन्दा बढी ६५६, मगरात–थरुहटको पक्षमा २१७, वुद्धभूमिको पक्षमा १६३, स्वर्गद्वारी र बागेश्वरीको पक्षमा ५१÷५१ सुझाव परेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment