+
+

बौद्धिक नपुंसकताको खतरा

सुन्दास चेलीसँग परम्परागत विहे गर्ने कोही ब्राहृमण छ ?

मेखराज परियार मेखराज परियार
२०७६ वैशाख २३ गते १४:४६

सन् १९६५ मा भारत सरकारले डा. भीमराव अम्बेडकर जयन्तीमा दिँदै आएको सार्वजनिक विदा कटौतीको कडा विरोध गर्दै राजनीतिमा प्रवेश गरेका बहुजन नायक काशीराम (सन् १९३४-२००६) ले बहुजन समाज पार्टीको स्थापना १९८४ मा नै गरेका थिए । उनले भनेका छन्, ‘एउटा कुकुरलाई ढुंगाले हान्नुस्, त्यो कुकुर डरले भाग्छ, तर माहुरीको गोलोमा ढुंगा हान्नुस् त, तिनीहरुले तपाईँलाई कसरी आक्रमण गर्नेछन् ? किनभने कुकुर एक्लै हुनाले डराउँछ । तर, माहुरीको झुण्ड हुन्छ र शत्रुका विरुद्ध आक्रमण गर्छन् ।’

बहुजन समाज पार्टी -बसपा)ले भारतको उत्तर प्रदेशमा बहुमत प्राप्त गरी पार्टीकी नेतृ मायावती (बहनजी) ४ पटक मुख्यमन्त्री भइसकेकी छिन् । कांशीरामले नै अखिल भारतीय पिछडा तथा अल्पसंख्यक समुदाय कर्मचारी महासंघ (बामसेफ) सन् १९७१ मा स्थापना गरे । यस संस्थाले हाल देशभरि नै ‘बहुजन समुदाय’ को मुक्ति अभियान सञ्चालन गर्दै आइरहेको छ । बसपा २०१४ को भारतीय आम चुनावमा तेस्रो शक्ति (कूल खसेको मतको आधारमा) बन्न सफल भएको थियो ।

‘बहुजन हिताय, बहुजन सुखाय’ मूलमन्त्रका प्रणेता काशीरामले सन् ९० को दशकमा ‘चम्चा युग’ नामक पुस्तक लेखेका थिए । उनले त्योबेलाको भारतीय दलित/बहुजन समाजप्रति गरेको चित्रण हालको हाम्रो (नेपालको) अवस्थासँग पनि मिल्दो-जुल्दो नै छ । हाम्रो देशमा युगौदेखि विद्यमान जटिल समस्याहरुका सम्वन्धमा समेत गहन बौद्धिक बहस, छलफल र विमर्श भएको खास पाइँदैन । भए तापनि समस्याको गहिराई, तथ्य र यथार्थ खोज्न भन्दा पनि मनगढन्ते, बोक्रे, भ्रामक र बौद्धिक विलासिताका भरमा आफूलाई विद्धान कहलाउने स्वार्थमा अधिकांश कुतर्क गर्न मात्रै अग्रसर देखिन्छन् । यस्तो बौद्धिक स्खलनका कारणले ‘बौद्धिक नपुंसकताको खतरा’ झनै बढाएको छ । मूलतः राष्ट्रको सामाजिक-सांस्कृतिक,आर्थिक र राजनीतिक परिवर्तन एवं सामेली लोकतन्त्रको भविश्य र दिशाबारे गहन बहस हुन अत्यावश्यक छ ।

को बौद्धिक/अबौद्धिक ?

बौद्धिक को हो, अवौद्धिक को हुन् ? कतिपयको सामान्य बुझाइमा उच्च शिक्षा हासिल गरेका व्यक्ति चाहिँ बौद्धिक हुन् भन्ने गरिन्छ । तर, औपचारिक शिक्षा मात्रै बौद्धिकताका परिचायक या मापक हुन् त, भन्ने सवाल स्वाभाविकरुपमा उठ्ने गर्छ । त्यस्तो बुझाई गलत पनि हुन पुग्छ ।

करिब एक दशकअघि ललितपुरको बुङ्मतीकी नानीमायाँ नेपालीले सार्वजनिक ईनार छोएको निहुँमा कुटिँदा, अपमानित हुन र बहिस्कृत हुन बाध्य पारिँदा पीडकहरु क्याम्पसका अध्यापक, शिक्षक, पत्रकार र कम्युनिस्ट पार्टीका कार्यकर्ता धेरै थिए । उच्च शिक्षा प्राप्त गरेका, सहरिया, सम्पन्न व्यक्तिबाट जातीय विभेद, छुवाछूत, महिला हिंसा कम हुन्छ भन्नु गलत र भ्रमपूर्ण बुझाइ हो ।

कर्णाली प्रदेश र सुदुरपश्चिमका जिल्लाहरुमा कथित छाउपडी कुप्रथाको विरुद्धमा कुन शिक्षित व्यक्तिले आवाज उठाएको छ ? अथवा त्यस्ाको विरुद्ध विद्रोह गरेको छ ? अझै डरलाग्दो तथ्य भर्खरै बाहिर आएको छ,बेलायत,अमेरिका र अष्ट्रेलिया लगायत विकसित देशहरुमा बसोबास गर्ने ९० प्रतिशत कथित उच्च जातका नेपालीहरुले दलित वर्ग-समुदायका व्यक्तिहरुलाई जातकै कारण कोठाभाडामा दिँदैनन् ।

काठमाडौं लगायतका सहरहरुमा विभेद र कोठाभाडाका दर्दनाक कहानी त उस्तै छँदैछन् । अम्बेडकरले उहिले नै भनेका थिए-‘विज्ञान प्रविधि र स्वतन्त्रताका कारणले वर्णाश्रम व्यवस्थावादी (मनुवादी)हरु विश्वभरि पुग्ने छन् र युरोप, अमेरीका र अष्ट्रेलिया जस्ता मुलुकहरुसम्म समेत जातीय विभेद व्यवहारको विस्तार हुनेछ ।’

को बौद्धिक हो/होइन भन्ने सन्दर्भमा विश्वभरी नै स्पष्ट परिभाषा पाइँदैन । तथापि अध्ययन, खोज र लगनशीलताका साथ राष्ट्र र समाजमा हुने विसंगति, रुढिवाद, असमानता, असभ्यता, अशिक्षा, समस्या र गरीबीका विरुद्ध अनेक कोणबाट समाधान निम्ति उपायहरु प्रस्तुत गर्ने जो कोही पनि बौद्धिक गनिन सक्छ । यद्यपि हाम्रो देशका बौद्धिक वर्ग भने यति धेरै विभाजित एवं भ्रमित छन् कि उनीहरुका कतिपय बौद्धिक भनिने तर्कले झनै राष्ट्र/सम्वन्धित वर्ग-समुदाय नै दिग्भ्रमित हुने अवस्था आउने गर्दछ । बौद्धिक वर्गका सल्लाह, सुझाव, तर्क र समाधानका उपायहरुले त समाज र राष्ट्र त्यति पनि नसके सम्बन्धित वर्ग-समुदायको मूलभूत समस्या समाधानमा मार्ग निर्देशन हुनुपर्ने हो, तथापि त्यस्तो हुन सकिरहेको छैन । विभिन्न माध्यमद्वारा दैनिक पस्किने बौद्धिक खुराकबाट समाजलाई अघि बढ्ने मार्ग पहिचान गराउन नसक्दा जनतामा नैराश्यता बढेर गएका छन् ।

इतिहास र विगतमा भएका घटना, दुर्घटना र परिघटनाहरु बडो सुन्दर ढंगले व्याख्यासहित प्रस्तुत गर्ने तर अबको बाटो के, भन्ने सन्दर्भमा भने चुइक्कै नबोल्नेहरु कसरी बौद्धिक वर्ग हुन सक्छन् ? विगत त तीतो/मीठो जे-जस्तो भएता पनि त्यो भइसक्यो, बितिसक्यो, त्यो अब त्यस्तै रुपमा फर्किन सम्भव छैन । त्यस्ता घटनाहरुबाट पाठ सिक्दै गल्ती, कमी, कमजोरी नदोहोर्‍याउने कार्य बुद्धिमत्तापूर्ण हुन्छ । विद्धानहरु त दुरद्रष्टा पो हुनुपर्ने हो ।

हाम्रै विगतलाई हेराैं त, दरबार (राजा) का सल्लाहकार, सहयोगी, कर्मचारी आफ्नो काम बाहेक अन्य कुरा आफूखुशी कहीँ-कतै बोल्दैनथे । दरबारले सोधेको सल्लाह दिने बाहेक कैयाैं महत्वपूर्ण कुराहरु गोप्य नै राखिन्थ्यो । ठीक लागे राजाले कार्यान्वयन गर्थे र बोल्थे । तर, हाम्रा प्रधानमन्त्रीका सल्लाहकार, सहयोगी आफैं कार्यकारी भएजसरी धारणा राख्दै हिँड्छन् । गाली-गलौज, विचार प्रस्तुत गर्नु के तिनको काम, कर्तव्य हो र ?

म कसरी दमाई ?

केही दिनअघि चर्चित गायिका तथा संघीय संसद् राष्ट्रिय सभाकी सांसद् कोमल ओलीले एक टेलिभिजन कार्यक्रममा दलित समुदायलाई अपमानित हुने शब्द प्रयोग गरेर बोलिन् । त्यस सम्वन्धमा पहिलो कुरा त उनीजस्तो गरिमामय पदमा आसीन व्यक्तिले बोल्दा विचार गरेर बोल्नुपर्ने हो, त्यो गलत भयो । दोस्रो कुरा, सम्बन्धित कार्यक्रम सञ्चालक र टेलिभिजनले पनि त्यस्तो शब्द हटाएर मात्रै सो कार्यक्रम प्रसारण गर्नुपर्थ्यो । यहाँ विचारणीय कुरोचाहिँ के छ भने दुवै सदनमा सदस्य रहेका दलित सांसद्हरुले सदनमा यो विषयमा कुनै प्रश्न उठाएनन् ।

सत्तारुढ नेकपाका सांसदले यो सन्दर्भमा बोल्दा अप्ठ्यारो होला, तथापि कांग्रेसका सांसदले त आवाज उठाउन सक्थे नि । यसले दलित सांसदहरुको अवस्था, गुलामीपन, योग्यता र क्षमतामाथि प्रश्न उठाएको छ । फिल्म, टेलिफिल्म, विज्ञापन, समाचार र पाठ्यपुस्तकहरुमा समेत जातीय विभेद र घृणाजन्य सामग्री प्रचार तथा प्रसारण भइरहेका छन् । तर, त्यसलाई रोक्ने प्रयास भने कोही-कसैबाट हुन सकिरहेको छैन ।

मेरा आमा/बुवाको नागरिकतामा नाम पछाडिको थरमा दमिनी/दमाई स्पष्ट लेखिएको छ । तथापि यहाँ मेरो सवाल छ, म कसरी दमाई भएँ ? दमाह (पञ्चे/नौमती बाजाहरु मध्ये एक बाजा) बजाउने जात भएकाले दमाई जात रहन गयो । तर म दमाह या बाजा बजाउने व्यवसाय/पेशा त गर्दिनँ । छोरा-छोरीले कहिलेकाहीँ पैसा आइएमई गर्दा या वृद्दाभत्ता बुझ्न जाँदा आफ्नै नाम पछाडिको थर उच्चारण गरेर बोलाउँदा आफैंलाई लाज लाग्ने जात/थर सुन्दा मेरा आमा/बुवा लाज मान्नुनपर्ने बनाउनसमेत सकेन यो लोकतन्त्र र गणतन्त्रले ? परिवर्तनको प्रत्याभूति सर्वसाधारण जनताले गर्न पाउने कहिले हो ? कुरा मात्रै ठूला गरेर समानता आउँदैन ।

संसदको विषयगत समितिमा पुरुष/महिला या बुवा/आमाको नामबाट सन्तानले रोजेर नागरिकता पाउनु पर्ने, विदेशी बुहारी या ज्वाइँको सन्दर्भमा के हुने भन्ने सवालमा व्यापक छलफल भयो र हुँदै छन् पनि । यस विषयमा घनीभूत बहस हुँदै गर्दा, अर्को त्यत्तिकै महत्वपूर्ण सन्दर्भ हो, व्यक्तिले थर परिवर्तन या उप-नाम लेख्न पाउनुपर्छ भन्ने प्रसंग । जस्तै-मैले मेखराज परियारको सट्टा मेखराज अधिकारी या प्रतिक, उदय ईत्यादि लेख्न पाउनुपर्दछ । यो दलित समुदाय मात्रै होइन, अन्यले समेत यस्तो उप-नाम लेख्न पाउनुपर्छ । त्यस्तो व्यवस्थाले समाजमा समानताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

स्मरण रहोस्, यस लेखका स्तम्भकारले थर परिवर्तनको अधिकार सम्बन्धमा निकै अघिदेखि लेख्दै र बोल्दै पनि आइरहेको छ । दलितको कतिपय जात या थरको अर्थ र आशय घृणित एवं गलत अर्थ लाग्नेखालका छन्, ‘म मेरो जात या थरप्रति गौरव गर्छु’ भन्ने कतिपयको बुझाइ सरासर गलत छ । दमाई मात्रै होइन, अन्य पनि जात या थरहरु ठाउँ, पेशा, काम, जिम्मेवारी आदिको सूचकका रुपमा नै राखिएको हुँदा कसैले पनि गौरवसाथ बोक्नैपर्ने आवश्यकता छैन ।

बाैद्धिक बहसको उठान

भाषा, साहित्य, गीत-संगीत, उखान, टुक्का, सिनेमा, विचार, गोष्ठी आदिमा बहस, छलफल, चर्चा गरी राष्ट्रलाई सभ्य बनाउन सकिन्छ । बाल-बालिकाले अक्षराम्भ गरेदेखि उच्च शिक्षा हासिल गर्दासम्म जात, जाति, भाषा, धर्म, परम्पराको उच्चता र विभेदका पाठ्यसामग्री पढ्छन् । त्यतिमात्रै कहाँ हो र, शिक्षक/शिक्षिका र साथी- संगीद्वारा जातका नाममा विभेदपूर्ण व्यवहार समेत भोग्न बाध्य पारिन्छ । अनि जनताले समानताको व्यवहार कसरी सिक्न सक्छन् ? राजनीतिक दलहरुले समानताको निम्ति स्कुलिङ, दण्ड र अभियान चलाउन सके विभेदहरुबाट शीघ्र मुक्ति प्राप्त गर्न सकिन्छ ।

आजकल सिनेमा, टेलिफिल्म, विज्ञापनहरुमा धुमपान, मध्यपान गरेको दृश्य राखिएमा तल स्कृनमा धुमपान, मध्यपान स्वास्थ्यका लागि हानिकारक छ, भनेर लेखिन्छ । तथापि राष्ट्रको संविधान, ऐन-कानुनले अपराध घोषणा गरिसकेको जातीय छुवाछूत र विभेद गरिएका थुप्रै दृश्य, बोली र व्यवहार त्यस्ता मनोरञ्जनका सामग्रीहरुमा सकभर नराख्ने र राखिहाले तापनि तल क्याप्सनमा जात-जातिका नाममा विभेद र छुवाछूत गरिनु गैर-कानुनी र दण्डनीय कार्य हो भनी सुचित गराउने व्यवस्था मिलाउन जरुरी छ । साथै शैक्षिक सामाग्रीहरुमा रहेका जातीय, धार्मिक, क्षेत्रीय, लैंगिक विभेदजन्य सामग्री हठाउन र सच्याउन अत्यावश्यक छ ।

केही दिनअघि वेद वाचक सुन्दास दिदी-बहिनीहरुलाई प्रधानमन्त्री केपी ओलीले आफ्नै निवास बालुवाटारमा बोलाएर वेद वाचन गर्न लगाएको समाचार भाइरल भयो । यसै प्रसंगमा एकजना विद्वानले शास्त्रअनुसार ती सुन्दास दिदी-बहिनी दलित रहेनन्, ब्राहृमण भए भनी घोषणा गरे, जुन अत्यन्तै भ्रामक हो । किनभने भारत वर्षमा ३५ सय देखि ३ हजार वर्षदेखि चल्दै आएको जातीय वर्णा श्रम व्यवस्थामा ज्ञान र सीपको आधारमा कुनै एउटा पनि शूद्र (दलित)लाई क्षेत्री या ब्राहृमण घोषणा गरेको र कर्मकै आधारमा ब्राहृमणलाई शूद्र घोषित गरिएको कुनै उदाहरण छैन । ती मित्रलाई नै सोधाैं न, सुन्दास चेलीहरुलाई परम्परागत बिहे गर्ने कोही ब्राहृमण युवा छ ? घोषणा गर्न सजिलो छ । तर, व्यवहार कठीन छ । ज्ञात रहोस्, हिन्दु वर्णाश्रम व्यवस्थाबमोजिम जात जन्मको आधारमा निर्धारण हुन्छ, कर्म (काम) को आधारमा होइन । बौद्धिक बहस अन्य क्षेत्रमा जस्तै मानवबीचका विभेद, असमानता, छुवाछूत, असभ्यताको समाधानका निम्ति पनि घनघोर र जोरदार बनाउन अत्यावश्यक भइसकेको छ । अन्यथा हाम्रो सुन्दर, शान्त, सभ्य, विकसित र समृद्ध मुलुक निर्माणको सपना पूरा हुने सम्भावना देखिन्न ।

लेखकको बारेमा
मेखराज परियार

राजनीतिक विश्लेषक मेखराज परियार गोरखाका वामपन्थी युवा हुन् । पूर्वमाओवादीका तत्कालीन पोलिटब्युरो रहेका उनी हाल कुनै पनि दलमा आवद्ध छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?