Comments Add Comment

बिहेबाट असन्तुष्ट बुबाले जलाए छोरी र ज्वाइँ

२४ वैशाख, काठमाडौं । रुक्मिणी १९ वर्षकी थिइन् । रुक्मिणी र मंगेशबीच प्रेम विवाह भयो । तर उनीहरुको बिहेको निर्णयमा परिवारको सहमति थिएन । किनभने उनीहरुको अन्तरजातीय बिहे भएको थियो ।

विवाहपछि परिवारबीच मनमुटाव यति धेरै बढ्यो कि रुक्मिणीको बुवा, काका र मामा मिलेर रुक्मिणी र मंगेशलाई जिउँदै जलाइदिए । आफ्नो परिवारको रिसको मूल्य रुक्मिणीले आफ्नो ज्यान दिएर चुकाइन् ।

यो दर्दनाक घटना हो, भारत महाराष्ट्रको अहमदनगरको ।

६ महिना पहिले रुक्मिणी र मंगेश रणसिंघेबीच बिहे भएको थियो । प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका थिए । मंगेशको परिवारका सदस्यहरुले यो बिहेलाई स्वीकार गरे पनि रुक्मिणीका बुवा र परिवारका अन्य सदस्यहरु यो बिहेको विपक्षमा थिए ।

मंगेशका भाइ महेश भन्छन्, ‘बिहेपछि पनि रुक्मिणीका घरका सदस्यहरुले विरोध गरिरहेका थिए । रुक्मिणी या मंगेश जो सडकमा देखिए पनि उनीहरुले धम्की दिने गर्दथे । यसबाट हैरान भएपछि रुक्मिणी र मंगेशले सन् २०१९ को फेब्रुअरी महिनामा प्रहरीमा उजरी पनि गराएका थिए ।

यसै तनावको माहोलको बीच एक दिन रुक्मिणीका आमा–बुवाले ३० अप्रिलमा उनलाई घर बोलाए । घर आएपछि उनीहरुले रुक्मिणीलाई पिटे । त्यसै रात रुक्मिणीले मंगेशलाई फोन गरेर आमा–बुवाले पिटेको जानकारी गराइन् । र, आफूलाई लिन आउन पनि उनले मंगेशलाई भनिन् ।

भोलिपल्ट मे १ तारिखको दिन मंगेश रुक्मिणीलाई लिन ससुराली गए । त्यहाँ उत्तर प्रदेशमा रहँदै आएका रुक्मिणीका काका सुरेन्द्र बाबुलाल भारती (बिल्लु पण्डित) र मामा घनश्याम पनि आएका थिए । मंगेश ससुराली घरमा आएपछि बिहेको विषयलाई लिएर झगडा चर्कियो । रुक्मिणी र मंगेश कुटिए ।

त्यसपछि उनीहरुले रुक्मिणी र मंगेश दुवैलाई डोरीले बाँधे । त्यसपछि पेट्रोल छर्किएर उनीहरुलाई आगो लगाइदिए ।

घरबाट दर्दनाक चिच्याहट सुनेपछि छिमेकीहरु घटनास्थल पुगे । उनीहरुले एम्बुलेन्स बोलाएर रुक्मिणी र मंगेशलाई पुणेको अस्पताल लगे । दुवैलाई ससून अस्पतालमा भर्ना गरियो ।

तीन दिनसम्म जीवनसँग लड्दालड्दै पाँच मे तारिखको दिन रुक्मिणीको मृत्यु भयो । रुक्मिणीको शरीरको ६० देखि ६५ प्रतिशतसम्म जलेको थियो ।

ससून अस्पतालका डाक्टर अजय तावरेले बीबीसीमा बताएअनुसार मंगेशको उपचार हाल जारी छ । उनको स्थिति पनि गम्भीर छ । उनको शरीरको करिब ४५ प्रतिशत भाग जलेको छ ।

रुक्मिणीको माइतीका छिमेकी सञ्जय वेदी भन्छन्, ‘घरबाट धुँवा निस्किइरहेको थियो । तर ढोका बन्द थियो । हामीले ढोका फोडेर उद्धार ग¥यौं र एम्बुलेन्समा राखेर अस्पताल पठायौं ।’

यसैबीच प्रहरीले रुक्मिणीका मामा घनश्याम र काका सुरेन्द्रलाई पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार रुक्मिणीका बुवा रामा रामफल भारती फरार छन् । उनीको खोजी जारी छ । घटनास्थलमा प्रहरीले पेट्रोलको बोतल लगायतका केही सामाग्री बरामद गरेर अनुसन्धान सुरु गरेको छ ।

रुक्मिणीका देवर महेशको आरोप छ कि प्रहरीले विगतमा आँखा चिम्लिँदा उनको परिवारले धेरै अप्ठ्यारा व्यहोर्दै आएको छ । अहिले भने महेश आशावादी छन्– उनको भाउजूको हत्यारालाई छिटै सजाय मिल्नेछ र परिवारले न्याय पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment