Comments Add Comment

करिअरको अन्तिम विश्वकपमा गेल उपकप्तान

२५ वैशाख, काठमाडौं । वेष्ट इन्डिजले क्रिकेटको युनिभर्सल बोसको रुपमा परिचित क्रिस गेललाई विश्वकपका लागि उपकप्तानको जिम्मेवारी दिएको छ ।

एकदिवसीय क्रिकेटमा यही विश्वकपदेखि विदा लिने घोषणा गरिसकेका गेललाई वेष्ट इन्डिजले उपकप्तानको जिम्मेवारी दिएको हो । वेष्ट इन्डिजको कप्तानमा भने जासन होल्डर छन् ।

२८९ एकदिवसीय खेलबाट १० हजार १५१ रन बनाएका क्रिस गेल वेष्ट इन्डिजका अनुभवि खेलाडी हुन् । उनले सन् २०१५ को विश्वकपमा जिम्बाब्वेविरुद्ध २१५ रन बनाउँदै रेकर्ड राखेका थिए । कुनै पनि वेष्ट इन्डिजका एकदिवसीय क्रिकेटमा यति ठूलो स्कोर बनाएको छैन ।

उनले वेष्ट इन्डिजका लागि कप्तानीको भूमिका पनि निभाइसकेका छन् । उनले अन्तिम पटक सन् २०१० मा वेष्ट इन्डिजका लागि कप्तानीको भूमिका निर्वाह गरेका थिए ।

उपकप्तानको जिम्मेवारी दिएपछि क्रिस गेलले भनेका छन्, ‘सिनियर खेलाडी भएको हुँदा यो मेरो दायित्व पनि हो कि कप्तान र सबै खेलाडीलाई सहयोग गर्ने ।’

गेलले थपेका छन्,’यो विश्वकप विशेष हुनेछ । समर्थकले यो पटक ठूलो अपेक्षा राखेको छ । हामी राम्रो खेल्ने प्रयत्न गर्नेछौं । हाम्रो समर्थकलाई खुशी बनाउनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment