Comments Add Comment

पर्यटक डाक्न लुम्बिनी भ्रमण वर्षको टोली पोखरामा

२४ वैशाख, पोखरा । प्रदेश ५ ले २०७६ सालमा मनाउन लागेको लुम्बिनी भ्रमण वर्षको प्रचार प्रसारका लागि एक टोली पोखरा आएको छ । उक्त अभियानको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ४ गते गर्दैछिन् ।

लुम्बिनी र आसपासका क्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा चिनाउने र अधिक पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउन लागेको प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेलले बताए । पर्यटन उद्योगलाई प्रदेशले आर्थिक र दिगो विकाससँग जोड्ने नीतिअनुसार नै २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउन लागिएको जानकारी दिए ।

‘लुम्बिनी विश्व सम्पदा सूचिमा परेको पुरातात्विक ठाउँ हो । बौद्धमार्गी पर्यटकका लागि एउटा आकर्षक तीर्थस्थल पनि हो,’ पौडेलले भने, ‘जीवनमा एकपटक बुद्धको जन्मभूमि पुग्ने आकांक्षा बोकेकालाई आकर्षित गर्न सकिन्छ भनेर यो भ्रमण वर्ष प्रदेशले मनाउने निर्णय गरेको हो ।’ उनले भ्रमण वर्षले प्रदेश ५ को मात्रै नभई समग्र देशकै पर्यटनमा नयाँ अवसर थप्ने विश्वास व्यक्त गरे ।

भ्रमण वर्ष जेठ ४ गते बुद्ध जयन्तीबाट सुरु भएर अर्को वर्षको चैत शुक्लपूर्णिमासम्म जारी रहने छ । यसअवधिमा पर्यटकलाई लुम्बिनीमा आकर्षण गर्न व्यापक प्रचारप्रसारदेखि आवश्यक भौतिक पूर्वाधार निर्माणसम्म प्रदेश सरकारले पूरा गर्ने पौडेलले सुनाए । उनले भने, ‘प्रदेशका आकर्षक पर्यटकीय स्थानसँग जोडिएर जाने र नेपालीसमेत भ्रमण संस्कृतिको विकास गर्ने काम यही समयावधिमा हुनेछन् ।’

सचिव पौडेलले लुम्बिनी भ्रमण वर्षमा लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेशभरीका आकर्षक पर्यटकीय ठाउँलाई समेत प्रचारप्रसार गरिने जानकारी दिए । उनले भने, ‘लुम्बिनी केन्द्रमा हुनेछ । तर यसबाहेक हामी यसवरपरका रोल्पाको जलजलादेखि बर्दिया निकुञ्जसम्मको प्रवद्र्धन गर्नेछौं ।’ प्रदेशका अन्य ठाउँका प्रचारप्रसार गर्दा लुम्बिनी आउने पर्यटकको पनि बसाइँ लम्बिने उनले दाबी गरे ।

भ्रमण वर्षमा मायादेवी प्रस्तुति उत्सव, खानाका पारखीका लागि लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव, सडक प्रदर्शनी, मायादेवी मन्दिरमा दैनिक दीप प्रज्वलन, मासिक पूर्णिमा उत्सव लगायतका कार्यक्रम हुने भ्रमण वर्षको प्रचारप्रसार सचिवालयले जनाएको छ ।

लुम्बिनीमा सरदर १३ लाख जना पर्यटक आउने गरेका छन् । भ्रमण वर्षमा आन्तरिक तथा बाह्य गरेर २० लाख पर्यटक लुम्बिनीमा भित्र्याउने प्रदेश ५ सरकारको योजना छ । ‘अबको केही महिनामै भैरहवा विमानस्थल निर्माण भइसक्छ । सडकहरु ४ देखि ६ लेनका बन्दैछन् । यसरी पनि भ्रमण वर्षमा पर्यटकको संख्या बढ्ने विश्वास लिएका छौं,’ प्रचारप्रसार सचिवालय सदस्य अमृत गिरीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment