Comments Add Comment

६० दिनपछि युरेनियम उत्पादन गर्ने इरानको चेतावनी

२६ वैशाख, काठमाडौं । परमाणु सम्झौतासँग सम्बन्धित नियम इरानले तोडेमा नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी पश्चिमा देशहरुले दिएका छन् । इरानले भने अमेरिकाको तर्फबाट लगाइएका प्रतिबन्धबाट इरानलाई बचाउन ६० दिनभित्र कदम नचाले फेरि युरेनियम उत्पादन र बिक्री सुरु गर्ने चेतावनी दिएको छ ।

अमेरिकाले गत वर्ष आफैंले परमाणु सम्झौताबाट अलग भएको घोषणा गर्दै इरानमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि दुई देशबीचको सम्बन्धमा राम्रो छैन ।

सन् २०१५ मा भएको सम्झौताको उद्देश्य इरानको परमाणु महत्वाकांक्षामा अंकुश लगाउनु थियो । त्यसपछि इरानमाथि लगाइएको प्रतिबन्ध खुकुलो बनाइएको थियो ।

अहिले यस सम्झौताबाट इरान आफैं आंशिक रुपमा अलग छ । अर्थात् सम्झौताका केही सर्तहरु नमान्ने बताएको छ । इरानका विदेशमन्त्री जावेद जरीफले भने आफूहरुले चालेको पछिल्लो कदम सम्झौताअनुसार नै भएको दाबी गरेका छन् ।

इरानमाथि प्रतिबन्ध लगाएर अमेरिकाको ट्रम्प प्रशासनले उसको अर्थव्यवस्थामा नोक्सान पुर्‍याएको छ । इरानको मुद्राको मूल्य सबैभन्दा तल्लो स्तरमा पुगेको छ र महंगीको दर करिब चौगुणाले बढेको छ ।

त्यसैले इरानले पश्चिमा देशहरुलाई ६० दिनको समयसीमा दिँदै अमेरिकाको तर्फबाट लगाइएका प्रतिबन्धबाट इरानलाई बचाउन आग्रह गरेको हो । यदि इरानलाई बचाउन आवश्यक कदम नचालिएमा यूरेनियम उत्पादन फेरि सुरु गर्ने र बिक्री गर्ने चेतावनी इरानले दिएको छ ।

अर्कोतर्फ लण्डनमा रहेका अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इरानको प्रभाव रोक्नका लागि अमेरिका पश्चिमा मित्र राष्ट्रहरुको साथमा रहेको अभिव्यक्ति दिएका छन् । साथै परमाणु सम्झौताको बारेमा अमेरिकाको अलग विचार रहेको उनले बताएका छन् ।

चीन, रुस, ब्रिटेन, फ्रान्स र जर्मनी अहिले पनि इरानसँग भएको परमाणु सम्झौतामा सामेल छन् । अमेरिकाले भने गत वर्ष यस सम्झौता तोडेको थियो ।

ब्रिटेनका विदेश सचिव जेरेमी हन्टले इरानको ताजा कदम अस्वीकार्य रहेको बताएका छन् । साथै उनले इरानलाई सम्झौता पालना गर्न सुझाव दिएका छन् । जेरेमीले यस सम्झौता तोड्नुअघि आफ्नो भविष्यको बारेमा सोच्न इरानलाई चेतावनी दिएका छन् ।

जर्मनीका विदेशमन्त्री हिको मासले यस सम्झौतालाई युरोपको सुरक्षाका लागि महत्वपूर्ण भनेका छन् र जर्मनी सम्झौताको पक्षमा रहेको बताएका छन् ।

फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लेले युरोपेली देशहरुले यस सम्झौतालाई टिकाइ राख्न हरसम्भव कोशिस गरिरहेको बताएका छन् । यदि यसलाई तोडियो भने इरानले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी उनले दिएका छन् ।

रुसका विदेशमन्त्री सर्गेई लावरोभले सम्झौतामा संलग्न सबै राष्ट्रलाई सम्झौता पालना गरिरहन भनेका छन् । साथै उनले पश्चिमा देशहरुले मुद्दालाई भट्काउन चाहेको टिप्पणी गरेका छन् ।

चीनले इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धको कडा विरोध गर्दै आएको छ ।

यी सबै अवस्थाको बीच अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले इरानको आगामी कदमको प्रतिक्षा गरिरहेको बताएका छन् । यस्तै अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष सहायक टिम मोरिसनले इरानको पछिल्लो अभिव्यक्तिलाई युरोपलाई ब्ल्याकमेल गर्न खोजिएको भनेर टिप्पणी गरेका छन् । उनले युरोपेली देशलाई इन्सटेक्स (इन्सट्रुमेन्ट इन सपोर्ट अफ ट्रेड एक्सचेन्ज)बाट पछि हट्न अपिल गरेका छन् ।

इन्सटेक्स के हो ?

यो पेमेन्ट गर्ने नयाँ तरिका हो । जसलाई ब्रिटेन, फ्रान्स र जर्मनीले यसै वर्षको जनवरीबाट नयार गरेका थिए ताकि इरानमाथि लागेका प्रतिबन्धहरुमा कुनै प्रकारको समस्याविना उसको साथ व्यापार जारी राख्न सकियोस् ।

यस प्रकारको व्यापारमा प्रमुख रुपमा इरानी जनतालाई अत्यावश्यक खाद्यपदार्थ, औषधि र प्रतिबन्ध नलगाइएका अन्य सामान सामेल छन् । इरानका लागि विदेशी लेनदेनको सबैभन्दा प्रमुख उत्पादन तेल हो । तर इन्सटेक्समा तेल सामेल छैन । इरान चाहान्छ युरोपीय देशले तेललाई पनि समावेश गरोस् ।

इरानले परमाणु सम्झौताका दुई हिस्साबाट आफैंलाई अलग गरेको छ । यसलाई ज्वाइन्ट कम्पि्रहेन्सिब प्लान अफ एक्सन (जेसीपीओए) भनिन्छ । यसअन्तर्गत युरेनियम र हेभी वाटरको बिक्री समावेश छ ।

यस सम्झौता अन्तर्गत परमाणु हतियार बनाउन प्रयोग हुने सरप्लस युरेनियमलाई इरानले आफूसँग राख्दैन, उसले विदेशमा बेच्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment