Comments Add Comment

त्रुटि सच्याउन विस्तारित चक्रपथको केही भाग भत्काउनुपर्ने

२६ वैशाख, काठमाडौं । कलंकी–सातदोबाटो–कोटेश्वर सडकखण्ड निर्माणका क्रममा सुरक्षाको मामिलामा गम्भीर लापरवाही भएको पुष्टि भएको छ । सडक विभागले बनाएको विज्ञ समूहले यो खण्डलाई सवारी तथा यात्रुको सुरक्षा हुने गरी सुधार गर्नुपर्ने निश्कर्षसहितको रिपोर्ट बुझाएको छ ।

विज्ञको सुझाव अनुसार सडक विभागले काम थलेमा यो सडकका विभिन्न स्थानमा सुधारका लागि सडकको भागहरु भत्काएरै काम गर्नुपर्ने देखिएको छ ।

चीन सरकारको सहयोगमा ८ लेनको बनाइएको यो सडक हालै गत १३ माघमा नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । सडक विभागका अनुसार विज्ञ समूहले सडक पैदलयात्रु र चालकमैत्री नदेखिएको भन्दै विभिन्न पूर्वाधरहरु थप गर्न सुझाव दिएको छ ।

नेपालको सडक संरचना, आवश्यक्ता, स्थानीय परिवेश, नेपाली चालक र पैदल यात्रुहरुको प्रवृत्ति अनुकुल सडकको डिजाइन नगर्दा यसलाई पुन मर्मत गर्नुपर्ने निश्कर्षमा विज्ञ समूह पुगेको हो ।

विज्ञहरुले सडक विभागलाई यो सडकको बीच ग्रिनरीसहितको खाली ठाउँ राख्नुपर्ने सुझाव दिएका छन् ।

विभागका सडक तथा ट्राफिक इकाई प्रमुख दीप बाराहीले सडकलाई विभिन्न तरिकाबाट त्रुटीहरु सच्याएर सुरक्षित बनाउनुपर्ने भन्दै प्रतिवेदन आएको बताए । विज्ञ समूहले यो एक्सप्रेश–वेको बनोटलाई शहरी सडकका रुपमा रुपान्तरण गर्ने गरी चोकहरुलाई व्यवस्थित गर्न भनेको छ ।

यो सडकखण्डको बीचको ४ लेनको अधिकतम् स्पिड लिमिट ५० किलोमिटर प्रतिघण्टा हो । दायाँ–बायाँका सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाका दरले सवारी चलाउन सकिन्छ ।

यो सडकको सबै चोकहरुमा ट्राफिक लाइट हाल्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । ८ लेनको सडमा ट्राफिक लाइट नहुँदा ट्राफिकले हात हल्लाएर व्यवस्थापन गर्न नसक्ने देखिएको विज्ञ समितिका सडक सुरक्षा विज्ञ पदम शाहीले जानकारी दिए ।

‘जेब्रा क्रसिङ पनि थप्नुपर्छ र जेब्रा क्रसहरु राख्दा साधाराण खालको होइन, बाटो काट्दै गरेको सिग्नलाइज हुने गरी सवारीचालकले परैबाट थाहा पाउने गरी राख्नुपर्छ,’ विज्ञ शाहीले भने । यो सडकखण्डमा पर्याप्त जेब्रा क्रसिङ नहुँदा पैदलयात्रुले जोखिम मोलेर सडक पार गर्दै आएका छन् । कोटश्वर, ग्वार्की, सातदोबोटो, एकान्तकुना, बल्खु र कलंकीमा मात्र जेब्रा क्रसिङ छ ।

यस्तै यो सडककको दायाँबाया सडक बत्ती पनि नभएकाले तत्कालै बत्तीको व्यवस्था गर्न पनि प्रतिवेदनमा भनिएको छ ।

‘रातको समयमा यो सडकमा बत्ती नहुँदा बाटो काट्ने सवारी चलाउने दुबैलाई निकै कठीन देखियो,’ विज्ञ शाहीले भने,‘रातमा गाडी ओभर स्पिडमा हुने भएकाले सडक बत्ती नहुँदा भयानक दुर्घटनाका जोखिम छ ।’

यस्तै विज्ञ समूहले सडकको दायाँबायाँ विभिन्न भागमा बलियो रेलिङहरु राख्नुपर्ने सुझाव दिएको छ । रेलिङ नहुँदा पनि सडकमा दुर्घटनाको सम्भावना अधीक देखिएको छ ।

यस्तै सडक वारपार गर्ने यात्रुलाई पनि विस्तारित चक्रपथमा निकै समस्या पर्ने देखिएकाले थप आकाशे पुलहरुहरु थप्नुपर्ने निश्कर्षमा विज्ञ समूह पुगेको छ । कोटेश्वर, ग्वार्को र बागडोलमा मात्रै आकाशे पुल बनेको छ । हाल करिब ३ किलोमिटर पार गरेपछि मात्रै अहिले आकाशे पुलहरु भेटिन्छन् ।

निर्माणाधीन ६ वटा पुलहरु कहिले बनिसक्छन् भन्ने टुंगो छैन । मुख्य चोकहरुमै आकाशे पुल नहुँदा बाटो काट्न गाह्रो छ ।

एकान्तकुनाको यातायात कार्यालय अघि लगायतका धेरै मान्छेको चहलपहल हुने स्थानमा आकाशे पुल अत्यावश्यक देखिएको प्रतिवेदनमा उल्लेख छ ।

‘चोकहरुलाई अहिलैकै हालतमा छोड्नु हुँदैन । यसको ले–आउटमा नै परिवर्तन गरेर चाोकहरुमा टर्न गर्न सक्ने व्यवस्था गर्नुपर्छ,’ विज्ञ शाहीले भने,‘चोकहरुमा घुम्ने सवारीलाई संकेत दिने गरी लेन दिनुपर्छ ।’ हाल चोकहरुमा चार लेनको मात्रै सिधा लेन दिइएको छ ।

यस्तै सडक किनाराका ढल र नालाहरु खुल्लै छाडिएका दुर्घटना हुँदा ठूलो मानवीय क्षति हुने सम्भवना पनि देखिएकाले त्यसलाई छोप्न पनि सुझाव दिइएको छ ।

पहिले नै दुर्घटनाको कारक माने ट्राफिकले हटाइसकेको असुरक्षित डिभाइडर पनि हटाएर त्यसको सट्टा सुरक्षित खालको डिभाइडर राख्न पनि विज्ञ समूहले सुझाव दिएको छ ।

विभिन्न ठाउँहरुमा ‘यू टर्न’को पनि प्रवन्ध गर्नुपर्ने विज्ञ समूहको ठहर छ । यस्ता सुधारका काम गर्दा पुरै सडक खण्ड भत्काउन नरेपनि केही स्थानमा भत्काएरै काम गर्नुपर्ने अवस्था देखिएको विज्ञ शाहीले बताए ।

‘स–सना कामका लागि केही चोक र ‘यू टर्न’ गर्नुपर्ने सथानमा सडक सामान्य रुपमा भत्काउन पर्छ,’ विज्ञ शाहीले भने । सडक विभागले विज्ञ समूहले दिएका सुझावलाई अब क्रमैसँग कार्यान्वयन गर्दै सुधार गर्ने बताएको छ ।

चक्रपथ सुधार आयोजना अन्तर्गतको १०.३९ किलोमिटरको कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड ५ वर्ष लगाएर निर्माण भएको थियो । अब चीन सरकारकै सहयोगमा कलंकी–बालाजु–महाराजगञ्ज सडकको विस्तारको योजना छ ।

तर, त्यसका लागि दुई सरकनारबीच अनुदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छैन । यो दोस्रो डिजाइनिङको काम चलिरहेकाले पहिलो खण्डमा जस्तो त्रुटी हुन नदिने सडक विभागका विकास सहायता महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment