Comments Add Comment

अपराध महाशाखा छाड्नुअघि सिंहले भने – प्रहरीको मनोबल उठाएँ

२६ वैशाख, काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाबाट सरुवा भएका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् । प्रहरी तालिम निर्देशनालयमा सरुवा भएर जानुअघि पत्रकार सम्मेलन गर्दै सिंहले ९८ प्रतिशत घटनामा आफूले सफलता हाँसिल गरेको दाबी गरेका हुन् ।

बबरमहलस्थित निवासमै ४ भदौमा हत्या गरिएका पूर्वराजदूत केशव झा हत्या प्रकरणमा भने नतिजा निकाल्न नसकिएको उनले स्वीकारे । ‘झा घटनाको अनुसन्धान केही प्राविधिक कठिनाइ भए । यद्यपि, अनुसन्धान अझै जारी छ’, उनले भने ।

महाशाखाको तत्कालिन नेतृत्व साढे ३३ किलो सुन तस्करी प्रकरण मुछिएपछि नेतृत्व सम्हाल्न आएका सिंहले आफूले प्रहरीको मनोबल उठाउने काम गरेको पनि बताए । ‘एसएसपीसहित अन्य प्रहरीहरुमाथि मुद्दा चलेर मनोबल गिरेको वेला कामको स्पीडमा ल्यानु चुनौती थियो । त्यो निर्देशन दिएर मात्र हुने चिज थिएन’, उनले भने, ‘कानून अनुसार प्रहरी अधिकारीको संरक्षणबाट अहिले यहाँका अधिकारीको मनोबल उठेको छ ।’

उनले ९ पन्ने कामको फेहरिस्तसमेत प्रस्तुत गरे । जसमा लुटपाटदेखि गौचनहत्या काण्डका फरार अभियुक्तलाई पक्राउ गरिएको घटनासम्म समेटिएका छन् । उनको नेतृत्वमा एनसेल कार्यालय अगाडि भएको बम विष्फोटमा संलग्न व्यक्तिहरु पक्राउ परेका थिए ।

विप्लव समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओलीउर्फ सुदर्शनलाई पनि महाशाखाको टोलीले काभ्रेबाट फर्किँदै गर्दा पक्राउ गरेको थियो । उनको कार्यकालमा ४ जना अपराधिक पृष्ठभूमिका व्यक्तिमाथि इन्काउन्टर भयो । २८ जेठमा अपराधिक क्रियाकलापमा संलग्न भनिएका अशोक लामा, ७ असारमा लुटेर खुडे भनिने अमरबहादुर तामाङ र २१ मंसिरमा डाँका राजन लिम्बुलाई खुट्टामा गोली हानेर प्रहरीले पक्राउ गर्‍यो ।

२० साउनमा काँडाघारीमा बालकको अपहरणपछि हत्या गर्ने गोपाल र अजय तामाङ मारिए । तर, यो घटनामा भने सिंह विवादमा मुछिए । प्रहरीले पक्राउ गरेर लगेको देख्ने व्यक्ति मिडियामा आएपछि विवाद भएको थियो । हाल मानव अधिकार आयोगले घटनाको छानबिन गरिरहेको छ ।

सिंहले लाइसेन्स लिएर दुरुपयोग गर्ने व्यक्तिको हतियार पनि खोसेका थिए । त्यसो त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनायारण पाठकको घुसकाण्डमा पनि उनी मुछिए । पाठकले घुस लिएको भिडियो खिच्ने समूहलाई पक्राउ गरेर भिडियो नष्ट गर्न दबाव दिएको सार्वजनिक भएको थियो ।

पत्रकार सम्मेलनमा ‘संवैधानिक निकायबाट महाशाखाको दुरुपयोग भएको’ जिज्ञासा उठेपछि उनले प्रहरी कुनै पनि निकायबाट दुरुपयोग नहुने दाबी गरेका थिए । ‘संवैधानिक आयोग मात्र होइन, सबै कुरामा व्यवसायिक काम गरिन्छ । दुरुपयोग हुँदैन’, उनले भने ।

सिंहले आफ्नो कार्यकालमा ८ सय ४८ वटा मुद्दा दर्ता भएको पनि बताएका छन् ।

यो पनि पढ्नुस– अपराध महाशाखा प्रमुखको ५ योजनाः गुण्डा नियन्त्रणदेखि साना हतियार खोजीसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment