Comments Add Comment

डर, मोह र धर्मको व्यापार

अहिले तपाईंलाई कसैले भन्नेछन्, फलानो धर्म लिनुहोस् । अर्थात उनले जुन तथाकथित धर्म अंगालेका छन्, त्यसमै लाग्न तपाईंलाई फकाउँछन् । लोभ्याउँछन् । नजानिदो ढंगले धम्क्याउँछन् । डर एवं त्रास देखाइदिन्छन् ।  उनीहरुले भन्नेछन्, ‘फलानो धर्म लिनुहोस्, यस्तो मिल्छ, उस्तो मिल्छ ।’

तपाईंलाई केही हदसम्म लोभ लाग्छ । केही हदसम्म डर लाग्छ । केही भ्रमित हुनुहुनेछ । केही द्विविधाग्रस्त हुनुहुनेछ । अब तपाईं आफुले गरिआएको, मानिएआएको, बुझिआएको संस्कार, संस्कृति र परम्पराबाट मोडिएर अर्कै धर्ममा लाग्नुहुनेछ । हो, यही मोडबाट तपाईंमाथि ‘भावनात्मक अत्याचार’ हुन थाल्नेछ ।

अब तपाईं उनीहरुप्रति समर्पित हुनुपर्नेछ । अब तपाईं उनीहरुको ईशारामा चल्नुपर्नेछ । अब तपाईं उनीहरुकै अह्राई-खटाइमा लाग्नुपर्नेछ । उनीहरुले अनेक शब्दजाल बुनेर तपाईंलाई यस्तो कठपुतली बनाउँनेछ कि, तपाईं उनले जे भनेपनि ‘नाई’ वा ‘हुन्न’ भन्न सक्ने अवस्थामा रहनुहुन्न । त्यसपछि तपाईर्ंले उनीहरुकै उत्पादन किनिदिनु पर्नेछ । तपाईंले उनीहरुकै लागि सहयोग गर्नुपर्नेछ । आफ्नो सम्पति वा आफ्नो कमाईको केही अंश उनीहरुकै भागमा बुझाउनुपर्नेछ ।

अहिले धेरै किसिमका ‘धर्म’ हाम्रो समाजमा सल्बलाइरहेका छन् । यी कथित धर्मले तपाईंबाट आर्थिक लाभ लिन्छ नै । भेटीको रुपमा, दक्षिणाको रुपमा, दानको रुपमा तपाईंबाट पैसा असुलिन्छ । त्यतीले मात्र नपुगेर उनीहरुको पुस्तक, पोस्टर र अन्य सामाग्री तपाईंले खरिद गर्नुपर्नेछ । अब सोच्नुहोस् त, तपाईंको ईश्वर/भगवान/परमेश्वरले त्यो पैसा प्राप्त गर्छ होला ? तपाईंले आफ्नो कमाईबाट दिएको पैसा परमेश्वर/भगवानले कसरी उपभोग गर्छ होला ? के उनीहरुलाई पनि पैसाको खाँचो छ ? के पैसा वा आर्थिक सहयोग गरेमा धर्म हुन्छ ?

मनन गर्नुहोस् । मन्थन गर्नुहोस् । आफैसँग प्रश्न गर्नुहोस् । किनभने तपाईंबाट कुनैपनि बाहानामा आर्थिक लाभ लिइन्छ र उक्त पैसा कुनै दुःखी गरिब, असाहय, पीडितका खातिर खर्च गरिदैन । बरु, ति धर्म संचालनको नाममा खर्च गरिन्छ । कथित धर्मगुरुहरु त्यही आर्जनबाट लाभ लिन्छन् । वास्तवमा उनीहरुले तपाईंलाई धर्मको आड, लोभ र भय देखाएर आफ्नो दुनो सोझाएका हुन् । उनीहरु धर्मगुरु होइनन् । देवदूत होइनन् । बरु व्यापारी हुन् ।

यदि कसैले पनि तपाईंलाई कुनैपनि धर्ममा लाग्नुपर्छ भनेर फकाउँछ, लोभ देखाउँछ, डर देखाउँछ भने सर्तक रहनुहोस्, उनीहरुले तपाईंलाई धर्मको बाटोमा हिँडाउन लागेका होइनन् । उनीहरुले त तपाईंलाई घनचक्करमा पारेर कुनैपनि किसिमको लाग लिन लागेका हुन् ।

धर्ममा डर हुँदैन । धर्ममा मोह हुँदैन । धर्ममा लोभ हुँदैन । जबकी अहिलेका तथाकथित धर्म र धर्मगुरुले डर, मोह र लोभकै आडमा धर्मको व्यापार गरिरहेका छन् ।

कुनैपनि धर्म वा धार्मिक संगठनले आर्थिक लाभ लिने चेष्टा गर्छ भने बुझ्नुहोस्, तपाईंमाथि अन्याय हुँदैछ । तपाईंमाथि उनीहरुले अपराध गर्दैछन् । अहिले यस्ता थुप्रै धार्मिक संघ-संगठन चलायमान छन् । ति धार्मिक संघ-संगठनले समाजमा डर, भय एव लोभको बिजारोपण गरिदिएको छ । समाजलाई भ्रममा पार्दैछ । समाज भाँड्दैछ ।

पैसा खाने धर्म

तपाईंलाई कुनैपनि ठाउँमा दान, भेटीको लागि बाध्य बनाइन्छ भने, त्यहाँ जाँदै नजानुहोस् । वा त्यसमा लाग्दै नलाग्नुहोस् । किनभने तपाईंले आफ्नो पसिना, श्रम र समय खर्चेर आर्जन गरेको पैसा अरु कसैले दुरुपायोग गर्नेछन् । यसको सोझो अर्थ हो, तपाईंको श्रम, पसिना र समयको अवमूल्यन हुँदैछ ।

अहिले थुप्रै धार्मिक संगठन, मन्दिर, चर्च, सियोन, गुम्बा आदिले पैसा उठाउने गर्छ । यसरी उठाएको पैसा तथाकथित धर्मगुरुले आफ्नो मोजमस्तीका लागि खर्च गर्छ । जब तपाईंलाई कुनै किसिमको प्रभावमा पारेर पैसा वा आर्थिक सहयोग मागिन्छ भने त्यहाँ केही गडबड छ ।

कहाँ गर्ने दान ?

मठ-मन्दिर वा कुनै धार्मिकस्थल आदिमा गएपछि हामी आफ्नो इच्छाले आफ्नो गच्छेले केही पैसा भेटी, दानको रुपमा चढाउँछौ । यसको अर्थ भनेको आफुमा धनप्रतिको आशक्ति त्याग्नुपर्छ भन्ने हो । अर्थात जीवनमा धन, सम्पति, पैसामा लिप्त हुनुहुँदैन भनेर तपाईंमा त्यागको भावना विकास गर्न खोजिएको हो । यसैगरी तपाईंले धेरै पैसा कमाउनुभयो, धन दौलत जोड्नुभयो भने, त्यसको केही अंश गरिब, दुःखी, असाहय, पीडिताको लागि खर्च गर्नुपर्छ भन्नलाई हो ।

अतः तपाईं हामीले यसरी गरिएको दान, सहयोग, भेटी त्यही कामका लागि खर्चनुपर्छ, जसले समाज कल्याण वा लोक-हितको काम गर्छ । तबमात्र हामीले गर्ने आर्थिक सहयोगको सार्थकता हुन्छ ।

हाम्रा पूर्खाहरुले, हाम्रा पौराणिक शास्त्रहरुले हामीलाई दान वा आर्थिक सहयोग गर्न प्रेरित गरे । त्यसमा अभ्यास गराए । आज पनि हामी आफ्नो कमाईको केही अंश दान दिनुपर्छ । आफुले कमाएको सम्पतिको केही हिस्सा अरुलाई सहयोग गर्नुपर्छ भन्ने गर्छौं । तर, यसरी दिइएको सहयोग उसैले प्राप्त गर्नुपर्छ, जो नाङ्गा छन् । जो भोका छन् । जो दुःखी छन् । जो अभावग्रस्त छन् । जो पीडित छन् । अर्थात जसलाई सहयोग चाहिएको छ । अन्याथा धर्मका नाममा दिइने आर्थिक सहयोग, पैसा व्यर्थ हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment