२९ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका एट्याटिङ मिडफिल्डर जगजित श्रेष्ठ २०१६ पछि एकाएक ‘गायब’ भए । एउटा चर्चित अनुहार यसरी मैदानबाट हराउँदा पनि खासै खोजी भएन, किनकी सिनियर टोलीको नियमित खेल भइरहेको थिएन भने युवा खेलाडीहरु अगाडि आइसकेका थिए ।
तर तीन वर्षको ग्यापपछि नेपाली राष्ट्रिय टिममा जोडिएका छन् जगजित । मलेसिया र चाइनिज ताइपेसँग आगामी जुनमा हुने मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुरु गरेको बन्द प्रशिक्षणमा उनी पनि छन् ।
राष्ट्रिय जर्सीको न्यास्रो मेटाउन जगजित पनि अरु खेलाडीसँगै मेहनत गरिरहेका छन् । एन्फा कम्प्लेक्स, सातदोबाटोस्थित मैदानमा भेटिएका अनलाइनखबरसँग उनले भने, ‘लामो समयपछि अभ्यासमा फर्किएको छु, खुशी लागेको छ । टिममा छनोट हुनेमा आशावादी छु ।’
किन भए पलायन ?
२०७० सालको सहिद स्मारक ए डिभिजन लिगपछि लामो समयसम्म घरेलु लिग रोकियो । यसले धेरै खेलाडीको रोजीरोटी कठिन बन्यो । प्रतिभावान खेलाडी विदेशिन वा अर्कै पेशा अंगाल्न बाध्य बने । उनीहरु खेलाडीमध्ये एक हुन् जगजित श्रेष्ठ ।
लिग फुटबल नहुँदाको निराशाले उनलाई देशबाट बाहिर धकेल्यो । एकाएक स्टुडेन्ट भिसामा अष्ट्रेलिया पुगे । ‘त्यो बेला यहाँ लिग हुने छाटकाँट थिएन । अझै तीन-चार वर्ष लिग हुँदैन भन्ने लाग्यो,’ जगजितले भने, ‘साथीहरुबाट अष्ट्रेलियामा पनि फुटबल खेल्न मिल्ने थाहा पाएँ । त्यसैले यो निर्णय लिएँ ।’
उनी अष्ट्रेलिया त पुगे, तर फुटबल खेल्नका लागि ठूलै संघर्ष गर्नु पर्यो । उनले तल्लो तहको डिभिजनबाट सुरु गरेका थिए । त्यो पनि उनका लागि कम चुनौतीपूर्ण थिएन । किनकी हरेक क्लबले दुई जनामात्र विदेशी खेलाडी राख्न पाउँछन् ।
‘त्यो लिग खेल्नु मेरो लागि निकै चुनौती थियो । आफ्नो तौल सात-आठ केजी घटाएँ । कठिन अभ्यास गरे,’ उनले सुनाए ।
गत सिजन भने विटलसी युनाइटेड फुटबल क्लबबाट लिग-२ खेले । पारिश्रमिक पनि राम्रै पाए । विगत दुई वर्षदेखि स्तरीय क्लबबाट खेल्दै आएका उनी यही जूनबाट अर्को क्लबमा जाने बताउँछन् ।
उनी भन्छन्, ‘पारिश्रमिकको हिसाबले नेपालको भन्दा राम्रो छ । त्यहाँ पारिश्रमिक साता-सातामा दिने गरिन्छ । मैले यहाँ फुटबल खेलेर मासिक जति कमाउँथे, त्योभन्दा ३-४ गुणा बढी हुन्छ ।’
नेपाल र अष्ट्रेलियाको फुटबल शैली निकै फरक रहेको उनको अनुभव छ । ‘त्यहाँ हप्तामा तीन दिन अभ्यास हुन्छ, एक दिन वामअर्प मात्रै । अरु दिन भिडियो एनालाइसिस् र टेक्निकल पक्षलाई जोड दिइन्छ,’ उनले भने, ‘यहाँ हामी जहिल्यै मैदानमै हुन्छौं । प्राविधिक पक्षलाई प्राथमिकतामा राख्दैनौं ।’
अष्ट्रेलियामा पाएको अवसरले आफूलाई परिपक्व बनाएको उनको बुझाइ छ । ‘म अष्ट्रेलियामा पनि नियमित खेलिरहेको छु । यही दौरानमा आफ्नो धेरै पक्षमा सुधार गरेको छु । शारीरिकदेखि प्राविधिक पक्ष राम्रो भएको छ, ‘ उनले भने, ‘तर आफ्नो देशका लागि खेल्नुको महत्व र खुशी बेग्लै हुन्छ ।’
युवा खेलाडीको चुनौती
जतिबेला जगजित अष्ट्रेलियामा आफ्नो फुटबल कलालाई निखारिरहेका थिए, त्यही बेला नेपालको राष्ट्रिय टोलीमा पनि नयाँ अनुहारहरु आए । हालै मात्र ए डिभिजन लिग पनि भयो ।
त्यसैले जगजितलाई फेरि नेपालको राष्ट्रिय टोलीमा स्थान बनाउन सहज छैन ।
म्याच फिक्सिङ काण्डपछि राष्ट्रिय टिममा ठूलै हेरफेर भयो, टिममा युवा खेलाडीहरु हावी भए । उनीहरुले आफूलाई प्रमाणित पनि गरेका छन् । अब जगजतिले उनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । यसलाई उनले अन्यथा लिएका पनि छैनन् ।
‘राष्ट्रिय टिममा डेब्यु गर्दादेखि नै मेरो पोजिसनमा निकै च्यालेन्ज हुने गरेको छ । मिडफिल्डमा नयाँ र युवा खेलाडीहरु आएका छन् । सबै एकसेएक प्रतिभावान छन्’, जगजितले भने ।
तर, उनलाई टिममा स्थान बनाउन सक्छु भन्ने आत्मविश्वास छ । मेरो तर्फबाट उत्कृष्ट प्रदर्शन गर्ने भन्दै उनले भने, ‘नयाँ प्रशिक्षक हुनुहुन्छ, तर उहाँले मेरो खेल पहिले पनि देख्नु भएको हो । त्यसकारण टिममा पर्न सक्छु जस्तो लाग्छ ।’
एएफसी च्यालेन्ज कपको छनोटमा नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दा जगजितले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । ६५ औं मिनेटमा सब्सिच्युटका रुपमा मैदान प्रवेश गरेका उनी रातो कार्ड खाँदै बाहिरिनु परेको थियो ।
उनले जोशैजोशमा फाउल खेले । उनी थप्छन्, ‘एकछिन त मलाई विश्वासै भएन । निराजन खड्का दाइले तिमीले रेड कार्ड खायौ बाहिर जानुपर्छ भन्नु भयो । अनि लुरुलुरु निस्किएँ ।’
‘त्यतिबेलासम्म मैले राष्ट्रिय टिमको महत्व बुझ्न सकेको रहेनछु । अहिले आएर आफूले आफैंलाई मुर्ख मान्छु’, उनी अघि भन्छन् ।
तर, आफूलाई निखार्दै लगेका उनले २०७० सालसम्म घरेलु प्रतियोगिता र राष्ट्रिय टिममा खेलिरहे । एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्ध टिममा परेका उनले खेल्ने अवसर भने पाएनन् ।
अब राष्ट्रिय टिममा फर्किँदा पहिलेको भन्दा अझ राम्रो खेल्ने दाबी गर्छन् जगजित । ‘पक्कै पहिलेको भन्दा राम्रो प्रदर्शन गर्न सक्छु । राष्ट्रिय टिमको लागि अझै केही गर्छु जस्तो लाग्छ । त्यसको लागि पाएको अवसरको सदुपयोग गर्न चाहन्छु’ उनले भने ।
घरेलु लिग खेल्ने
२०७० पछि रोकिएको सहिद स्मारक ए डिभिजन लिग २०७५ सालमा सुरु भयो । रोकिएको लिग सुरु हुनु आफैंमा सुखद भएपनि रेलिगेसन प्रणाली नहुँदा अपेक्षाकृत आकर्षण भने रहेन ।
अष्ट्रेलियामा रहेका जगजित अनुपस्थित थिए । आगामी दिनमा फेरि ए डिभिजन लिग भएमा त्यसमा सहभागी हुनेे सोच बनाएका छन् उनले । ‘गएको संस्करणको लिग राम्रो तरिकाले भएन । आगामी दिनमा राम्रो र स्तरीय लिग भयो भने खेल्छु,’ उनले भने, ‘लिगलाई स्तरीय बनाउन सकिन्छ र त्यसो भएमा म आउँछु ।’
प्रतिक्रिया 4