+
+
Shares

सकियो सडक सुरक्षा सप्ताह

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते १८:३२

२९ वैशाख, वीरगञ्ज । ‘नो एक्सीडेन्ट नो ड्यामेज’ भन्ने नाराका साथ वैशाख २३ गतेबाट सुरु गरिएको पाँचौ सडक सुरक्षा सप्ताह सम्पन्न भएको छ ।

सातदिनसम्म निरन्तर सडक सुरक्षा सम्बन्धी गतिबिधि सञ्चालनपछि ट्राफिक प्रहरीले सप्ताहव्यापी अभियानको औपचारिक समापन गरेको हो । वीरगञ्जमा सप्ताहको अन्तिम दिन सचेतनामुलक र्‍याली निकालिएको छ ।

सडक सभ्यता अभिवृद्धि तथा सवारी दुर्घटना न्युनिकरणका लागि सचेतनामुलक र्‍याली निकालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको र्‍याली नगर परिक्रमा पछि विपी उद्यान पार्कमा आएर सभामा परिणत भएको थियो ।

प्याव्सन, एन प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुको सहभागीतामा निकालिएको र्‍यालीमा सहभागीहरुले तीव्र गतिमा सवारी नचलाऔं, सदैव ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू पनि बचौं अरुलाई पनि बचाऔं, मोटरसाईकलमा दुई जना भन्दा बढी नबसौं लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

समापन कार्यक्रममा बोल्ने वक्ताहरुले सडकमा लापरबाही नगर्न सुझाव दिएका छन् । उनीहरुले सडकमा हुने सानो लापरबाहीले ठूलो दुर्घटना निम्तिन सक्नेमा सचेत हुन आग्रह गरे ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले सडक १२ अैं महिना २४ औं घण्टा सुरक्षित हुनुपर्ने बताए ।

वीरगञ्ज पब्लिक कलेजका निर्देशक दिपक शाक्या, ट्राफिक प्रहरी कार्यालय प्रदेश नं २ का प्रमुख ट्राफिक प्रहरी उपरीक्षक योगबहादुर पाललगायतले सवारी साधन चलाउँदा हुने सानो लापरबाहीले ज्यान जान सक्ने भएकोले सजग रहन आग्रह गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले विभिन्न निकायसँगको समन्वयमा सडक सुरक्षा सप्ताहमा विभिन्न कार्यक्रम गरेको छ ।

सडक सुरक्षा सप्ताहमा मात्रै विद्यार्थी र विद्यालयाका सवारी चालकलाई लक्षित गरेर ३/३ पटक ट्राफिक सचेतना कक्षा सञ्चालन गरिएको ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए । उनका अनुसार ती कक्षाबाट २ सय ४५ जना विद्यार्थी र १ सय ६२ जना चालक ट्राफिक नियमका बारेमा सचेत भएका छन् ।

ट्राफिक प्रहरीले ती विद्यार्थीहरुलाई सर्वसाधरणलाई ट्राफिक नियमका बारेमा जानकारी दिलाउनका लागिसमेत प्रयोग गरेको थियो ।

त्यसैगरी ८ ठाउँमा ट्राफिक सचेतनाका बोर्ड राखिएको र १ हजार भन्दा बढी पर्चा पम्पलेट वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा जिल्लामा चालु आर्थिक वर्षको ९ महिनामा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भइसकेको छ । २५ वटा सवारी दुर्घटनामा १० जना गम्भिर घाईते भएका छन् भने ५ जना सामान्य घाईते भएको ट्राफिक प्रहरीको तथ्याङक छ ।

२५ वटा सवारी दुर्घटना मध्ये १६ वटा १६ देखि २५ वर्ष उमेर समूहका युवाले चलाएको सवारी दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?