३० वैशाख, काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थान हासिल गरेको छ ।
उपाधि उचाल्नबाट म्यान्चेस्टर सिटीसँग एक अंकले पछि परेको लिभरपुलले उपविजेतामै यो संस्करणको लिग सकाएको हो । यता सिटीले भने लगातार दोस्रो पटक इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि उचालेको छ ।
आइतरबार राति भएको अन्तिम चरणको खेलमा लिभरपुलले वोल्भ्सलाई २-० गोलको सहज जित निकालेको हो । आफ्नै घरेलु मैदानमा भएको खेलमा साडियो मानेले दुई गोल गरे । उनकै दुई गोलको मद्दतमा लिभरपुलले सहज जित हात पारेको हो ।
खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । उनकै गोलमा पहिलो हाफसम्म १-० गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । यो गोल पनि मानेकै नाममा रह्यो । खेलको ८१औं मिनेटमा उनले गोल गर्दै लिभरपुललाई २-० गोलको जित दिलाए ।
३८ खेलबाट ९८ अंक बनाउँदै म्यानचेस्टर सिटीले उपाधि जित्यो । यता, लिभरपुलले भने ३८ खेलबाट ९७ अंक बनाउन सफल भयो ।
प्रतिक्रिया 4