१ जेठ, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको समूह चरणमा भारतीय क्लब मिनर्वा पन्जाबविरुद्ध आज प्रतिस्पर्धा गर्दैछ ।
एएफसी कपको समूह ‘ई’ मा रहेको मनाङले आफ्नै घरेलु मैदानमा पञ्जाबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
एन्फा कम्प्लेक्सको मैदानमा आज दिउँसो तीन बजे हुने खेलमा मनाङले पञ्जाबलाई पराजित गर्दै तीन अंक बटुल्ने लक्ष्यमा छ ।
प्रि-म्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक छिरिङ लोप्साङले पञ्जाबलाई पराजित गर्दै तीन अंक बटुल्ने लक्ष्य रहेको बताएका थिए । अघिल्लो चरणमा पुग्ने सम्भावनालाई यथावत नै राख्नका लागि आजको खेल मनाङले जित्नै पर्ने हुन्छ ।
यसअघिका दुई खेलमा हार र एक खेलमा बराबरी खेलको मनाङ समूह ‘ई’को पुछारमा छ । मनाङले अवे खेलमा पञ्जाबविरुद्ध उसैको मैदानमा २-२ गोलको बराबरी खेलेको थियो । त्यसकारण पनि बलियो मनस्थिति बनाएर मनाङ मैदानमा उत्रिदैछ ।