Comments Add Comment

बच्चाको आँखामा क्यान्सर : रोक्न सकिँदैन, बचाउन सकिन्छ

विश्वभर मे महिनाको दोस्रो हप्तालाई रेटिनो ब्लास्टोमाबारे जनचेतनामुलक कार्यक्रम गरिन्छ । नेपालमा पनि तिलगंगा आँखा अस्पतालले विभिन्न कार्यक्रम गरी ‘रेटिनो ब्लास्टोमा सप्ताह’ मनायो । रेटिनो ब्लास्टोमा आँखामा लाग्ने क्यान्सर हो । तर, यो क्यान्सर सामान्यतया पाँच वर्षभन्दा कम उमेरका बालबालिकामा मात्र देखिने गर्छ ।

समयमै यसको उपचार गरेन भने यसले छोटो समयमै मृत्युको मुखमा धकेल्छ । विश्वका १५ हजार बालबालिकामध्ये एक जनामा यस्तो क्यान्सर देखिने गर्छ ।

अंकोलोजिस्ट तथा अकुलोप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार स्थापितका अनुसार तिलगंगामा गत वर्ष ३५ जना रेटिनो ब्लास्टोमा भएका विरामीको उपचार भयो, जसमध्ये १० जनाको दुवै आँखामा क्यान्सर थियो ।

उनै डा. पूर्णिमाले नेपालमा रेटिनो ब्लास्टोमाको अवस्था, उपचारबारे बताएकी छिन्:

रेटिनो ब्लास्टोमाको उपचार नेपालमा सन् २००४ देखि शुरु भएको थियो । तर, त्यतिबेलाको उपचारमा आँखा नै निकालेर फ्याँकिन्थ्यो र नक्कली आँखा राखिन्थ्यो । २००५ को एउटा रिपोर्टले ९७ प्रतिशत विरामीको आँखा निकालिएको देखाएको छ । त्यतिबेला कतिको आँखा मात्र नभएर आँखा वरिपरिको भाग पनि निकाल्नुपरेको थियो ।

तर, अहिले क्यान्सर हुनेवित्तिकै आँखा निकाल्नुपर्छ भन्ने छैन । आँखा वरिपरि किमो दिएर, औषधी गरेर आँखा बचाउने प्रयास पनि गरिन्छ । सकेसम्म आँखाको घेर वा ज्योतिलाई बचाउने प्रयास गरिन्छ । हामीले यसरी उपचार गरेको दुई वर्षमात्र भएको छ । हुन त पोखरा, विराटनगर, भैरहवा लगायतका ठाउँमा पनि रेटिनो ब्लास्टोमाको उपचार हुन्छ, तर त्यहाँ अझै पनि आँखा निकालेर नै फ्याँक्ने गरिन्छ ।

यसरी मार्छ ब्लास्टोमाले

खासगरी रेटिनो ब्लास्टोमा आँखाको सेतो भागमा देखिने गर्छ । रेटिनो ब्लास्टोमा भएमा बच्चाको कालो भागको बीचमा सेतो दाग देखिन्छ । या भनौं फ्ल्यास लिएर फोटो खिच्दा एउटा आँखा कालो र अर्को सेतो भएको फोटो आउने गर्छ ।

रेटिनो ब्लास्टोमाको अर्को संकेत भनेको आँखा बांगो हुँदै जानु हो । रेटिनो ब्लास्टोमाले बच्चालाई डेढो नै बनाउने गर्छ । त्यस्तै, आँखा दुख्ने, रातो भइराख्ने पनि हुन्छ ।

आँखामा सेतो फुला देखियो भने यो आँखाभरि फैलन थाल्छ । अनि मासु पलाउन थाल्छ । यस्तो मासु (ट्युमर) आखाँभित्र हुन्छ र आँखा फोडेर यस्तो मासु बाहिर निस्किन्छ । यस्तो मासु आँखाभन्दा बाहिर फैलियो भने मासु देखिन थाल्छ । आँखाभन्दा पछाडि गयो भने आँखालाई धकेल्छ । जसले गर्दा आँखा नै बाहिर निस्कन्छ ।

यतिबेलासम्म पनि उपचार गरेन भने यो मस्तिष्कतर्फ फैलन थाल्छ । किनकी आँखाका पछाडिका नशा मस्तिष्कसँग जोडिएको हुन्छ । त्यसपछि उपचार प्रक्रिया जटिल बन्छ । यस्तो अवस्थामा पनि उपचार नपाएको कन्चटका गाँठाहरुमा फैलन थाल्छ । अनि फोक्सो, कलेजो हुँदै हाडमा फैलिन्छ । त्यसपछि बच्चाको मृत्यु हुने गर्छ ।

बच्चाको आँखामा फुला देखियो भने पनि शंका गर्नुपर्छ । किनभने त्यो क्यान्सर पनि हुन सक्छ ।

यो निकै छोटो समयमा फैलिने गर्छ । सेतो दाग देखिएको दुई, तीन वा चार महिनामै आँखा फोडेर ट्युमर बाहिर आइसकेको हुन्छ । रेटिनो ब्लास्टोमाले आक्रमण गरेको दुई महिनासम्म पनि उपचार गरेन भने बच्चाको ज्यान जाने गर्छ ।

यस्तो समस्या कतिको दुवै आँखामा हुन्छ भने कतिको एउटामा मात्र । तिलगंगा आँखा अस्पतालमा गत वर्ष ३५ जना रेटिनो ब्लास्टोमा भएका विरामीको उपचार गरियो । जसमध्ये १० जनाको दुवै आँखामा क्यान्सर भएको थियो ।

बाहिरी कारण छैन

रेटिनो ब्लास्टोमा रोग लाग्नुको बाहिरी कारण कुनै पनि होइन । गर्भमा रहँदा बच्चालाई केही पोषण नपुगेर वा गर्भवतीले बच्चालाई हानी हुने केही चिज खाएर पनि यस्तो रोग लाग्ने होइन । यो वंशाणुगत समस्या हो ।

रेटिनो ब्लास्टोमा भएर बाँचेका आमा–बाबुबाट यस्तो बच्चा जन्मन सक्छ । वा पहिलो सन्तानको दुवै आँखामा रेटिनो ब्लास्टोमा छ भने अर्को जन्मिने बच्चामा यस्तो हुने सम्भावना ६ प्रतिशत बढी हुन्छ ।

किन बच्चामा मात्र ?

पाँच वर्षभन्दा कम उमेरका बच्चामा रेटिनो ब्लास्टोमा देखिने गर्छ । नेपालमा प्राय रेटिनो ब्लास्टोमा भएका दुई–तीन वर्षका बच्चाहरु अस्पताल ल्याएको देखिन्छ । कहिलेकाहिँ छ–सात वर्षको बच्चा पनि यो समस्याबाट पीडित भएको पाइएको छ ।

भर्खर जन्मिएको शिशुको आँखाको पूरै विकास भएको हुँदैन । या भनौँ आँखाको पर्दाको पनि पूर्णरुपमा विकास भएको हुँदैन । यसरी आँखाको विकास हुने क्रममा न्युटे«शन कम भएर बच्चामा यो क्यान्सर देखिने गर्छ ।

छ–सात वर्षसम्म आँखाको विकासक्रम निकै तीव्र हुन्छ । यतिबेलासम्म करिब–करिब पूर्ण विकासको अवस्थामा हुन्छ । त्यसपछि १५÷१६ वर्षको उमेरसम्म विस्तारै विकास हुन्छ । अनि पूर्ण रुपमा आँखाको विकास रोकिन्छ । यसकै कारण ठूला मानिसमा रेटिनो ब्लास्टोमा हुँदैन ।

अभिभावको भूमिका

विकसित मुलुकमा यदि आमा–बाबु कसैमा रेटिनोब्लास्टोमा थियो भने सामान्य तरिकाले बच्चा जन्माउँदैनन् । उनीहरुले टेस्ट्युब बेबी जन्माउने गर्छन् ।

हामीले जेनेटिक ल्याबसँग सहकार्य गरी गर्भको पानी निकालेर बच्चामा रेटिनो ब्लास्टोमा छ कि छैन भन्ने पत्ता लगाउने नयाँ अभ्यास सुरु गरेका छौं । पहिलो सन्तानमा रेटिनो ब्लास्टोमा भएपछि अर्को सन्तानमा छ की छैन भनी हामीले हेर्ने गरेका थियौँ । यद्यपि यसको अहिलेसम्म रिपोर्ट भने आएको छैन । रिपोर्टको आधारमा बच्चा जन्माउने वा नजन्माउने भन्ने विषयमा आमा–बाबुले योजना बनाउन सक्छन् ।

लक्षणको आधारमा यो क्यान्सर कहिलेबाट शुरु भएको हो भनि पत्ता लगाउन गाह्रो हुन्छ । त्यसैले पहिलो सन्तानलाई यस्तो समस्या भएको छ भने सावधानी भने अपनाउनुपर्छ । त्यो सावधानी भनेको दोस्रो बच्चा जन्मिएको एक महिनाभित्रै आँखाको परीक्षण गर्नु हो ।

र, तीन–तीन महिनाको अवधिमा आँखाको जाँच गराउँदा बच्चालाई रेटिनो ब्लास्टोमाबाट मात्र नभएर आँखाको ज्योति पनि बचाउन सकिन्छ ।

रेटिनोब्लास्टोमाको उपचार

रेटिनोब्लास्टोमाको शंका लाग्नेवित्तिकै सिटीस्क्यान वा एमआरआई गर्छौं । त्यसबाट ट्युमर आँखा बाहिर निस्किएको छ वा छैन भन्ने कुराको जानकारी हुन्छ । बेहोस पारेर आँखा भित्रका अवस्थाको फोटो खिच्छौं । यदि रेटिनोब्लास्टोमा रहेको पत्ता लाग्यो भने किमोथेरापीको लागि कान्ति बाल अस्पतालमा पठाउँछौं । किनकी हामीसँग यसको व्यवस्था छैन ।

शुरुमा छ सय रुपैयाँको सामान्य किमो दिनुपर्छ । त्यसपछि आवश्यकताअनुसार लेजर ट्रिटमेन्ट, आइसबाट सेक्ने, इन्जेक्सन लगाउने काम गर्छौं । किनकी हामीले ट्युमरलाई मल्टिपल ठाउँबाट आक्रमण गर्नुपर्छ ।

अर्को चार हप्तापछि फेरि बेहोस पारेर हेर्छौं र लेजर एक्साइकल किमो दिन्छौं । त्यो अवस्थामा आँखाको वरिपरिको दिनुपर्ने अवस्था छ भने त्यो पनि दिन्छौँ । छ साइकल किमो दिइसकेपछि आँखाको ट्युमर सुक्दै पनि जान सक्छ । या किमोले काम गरेन भने अर्को तीन साइकल थप्छौँ । यदि यसले पनि काम गरेन भने अप्रेशन गरेर आँखा निकाल्छौं ।

कुनै अलि ढिलो आएको बच्चालाई हाई डोजको १२ साइकल किमो, रेडियो थेरापी दिनुपर्ने पनि हुन सक्छ । त्यस्ता मानिसको आँखा बचाउन सक्दैनौँ । र, नक्कली आँखा राख्छौँ । तर, त्यो नक्कली आँखाले बच्चाले देख्न भने सक्दैन ।

केही समय पहिले ७० प्रतिशत ट्युमर बाहिरै आइसकेपछि मात्र विरामी अस्पतालसम्म आउने गर्थे । तर, अहिले भने ७५ प्रतिशत विरामी चाहिँ शुरुकै अवस्थामा आउने गरेका छन् ।

उपचार खर्च

विरामीको प्रकृतिअनुसार खर्च लाग्ने गर्छ । कसैको आँखा नै निकाल्नुप¥यो भने २०÷३० हजार रुपैयाँमा हुन्छ । तर, पटक–पटक किमो दिँदा एक लाखसम्म खर्च हुन्छ । फेरि अप्रेसनपछि पनि एक वर्ष नपुगेका बच्चालाई तीन–तीन महिनामा र पाँच वर्ष नभएसम्म छ–छ महिनामा बोलाउने गर्छौं । तर, बाहिरी देशमा भने यसको उपचार खर्च निकै महंगो छ ।

क्यान्सर रोगीको उपचारको लागि सरकारले एक लाख रुपैयाँ उपलब्ध गराउने गर्छ । तर, तिलगंगा आँखा अस्पतालको विरामीले त्यो पाउँदैनन् । हामीले गत वर्ष सरकारलाई उपलब्ध गराउनका लागि आग्रह गरेका थियौं । तर, बजेट सकिएकाले अर्को वर्षदेखि उपलब्ध गराउने बताएको थियो । अहिले पनि हामीले स्वास्थ्य मन्त्रालयको सचिवसँग आग्रह गरेका छौं । उहाँले आश्वासन दिनुभएको छ । तर, त्यो रकम उपलब्ध गराउने–नगराउने अहिलेसम्म टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment