Comments Add Comment

स्ववियु स्थापनाको आन्दोलन सफल भएको दिन

जेठ १ गते आजकै दिन नेपालको विद्यार्थी आन्दोलनले तत्कालीन पञ्चायती ब्यवस्थाका प्रणेता राजा महेन्द्रलाई मागहरु सम्बोधन गर्न बाध्य पारेर घुँडा टेकाएको ऐतिहासिक दिन हो । आजको दिनलाई विद्यार्थी संगठनहरुले विजय र सफलताको दिवसका रुपमा मनाउने गरेका छन् ।

आजभन्दा करिव ५ दशकअघि ०१७ सालमा राजा महेन्द्रले राजनीतिक दलमाथि प्रतिवन्ध गरी राजनीतिक अधिकार निलम्वन गरेका वखत विश्वविद्यालय, कलेज र स्कूलका विद्यार्थीहरुले संगठितरुपले आन्दोलित गर्नु र आफ्ना माग पूरा गर्न वाध्य पार्नु चानचुने कुरा थिएन । चैतन्य मिश्रको भनाइ जस्तै त्यसबेला विद्यार्थीहरुको एउटा पाटो मात्रै राजनीति थियो, तर त्यसलाई पञ्चायती सासकहरुले त्यसरी बुझ्न सकेनन् र विद्यार्थी आन्दोलन अन्ततः नेपालको इतिहासमा राजतन्त्रको मलामी आन्दोलन बन्न पुग्यो ।

छिटफुट आन्दोलनलाई छाडेर हेर्ने हो भने ०१९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको आन्दोलनलाई २०१७ सालपछिको विद्यार्थी आन्दोलनको प्रारम्भ मानिन्छ । ०२० साल वैशाख २३ गते विश्वविद्यालयमा पहिलो हड्ताल भयो । पञ्चायती शासकहरुले प्राय राजनीतिक गतिविधिमा विद्यार्थीहरुलाई कडाइ गरेका तर बिद्यार्थीहरु पञ्चायती ब्यवस्थाका बिरुद्ध भूसको आगोझैं भित्रभित्रै विस्फोटक आन्दोलनको तयारीमा थिए ।

उनीहरुको मुख्य विषय स्ववियु खोल्न पाउनुपर्छ भन्ने थियो । तर, शासकहरु त्यसो गर्न तयार थिएनन् । आन्दोलनको केन्द्र त्रिवि बन्यो । त्रिविमा आन्दोलन शुरु भएलगत्तै देशैभरि आन्दोलन भुसको आगो झैं सल्कियो । आन्दोलनको वीचमा शासकहरु स्ववियु निर्वाचन गराउन बाध्य भए । ०२० भदौ २० गते त्रिविमा स्ववियु निर्वाचन भयो, जहाँ प्रगतिशील पक्षले विजय हासिल गर्‍यो । ०२० साल फागुनमा स्ववियु कार्य कारिणी बैठक बसी ०२० चैत्र ४ गते सम्पूर्ण कलेजको प्रतिनिधिसहितको बैठक आह्वान गर्‍यो र उपत्यका अन्तर कलेज सम्मेलन आयोजक समिति गठन गर्‍यो ।

जसले ०२१ साल वैसाख २५ गते देखि २९ गते सम्म त्रिचन्द्र कलेजमा सम्मेलन गर्‍यो । पञ्चायती शासकहरुको निर्देशनमा सम्मेलनस्थलमा व्यापक प्रहरी दमन भयो । सैयाैंको संख्यामा घाइते भए, सैयाैंलाई गिरफ्तार गरियो तर पनि लुकीछिपी सम्मेलन सम्पन्न भयो । सम्मेलनले स्ववियु स्थापना, यातायात भाडा छुटसहित विभिन्न ५ वटा प्रस्तावहरु पारित गर्‍यो । त्यसलगत्तै पञ्चायती शासकहरुको निर्देशनमा प्रहरीले सम्मेलनमा भाग लिएका विद्यार्थीहरुको घर र डेरामा छापा मारेर सम्मेलनमा पारित भएको प्रस्ताव पुस्तिका समेत जफत गर्‍यो ।

बैसाख ३० मा गिरˆतार विद्यार्थीहरुको रिहाइका लागि सरकारसमक्ष माग गरियो र जेठ १ गते विद्यार्थीले भव्य मौन जुलुस निकाले । यद्यपि जुलुसमाथि प्रहरीले निर्मम हस्तक्षेप र दमन गर्‍यो । सम्पूर्ण शिक्षण संस्था १५ दिनसम्म बन्द भए । १५ दिनसम्म सरकार र प्रर्दशनकारी विद्यार्थीवीच तनावपूर्ण आन्दोलन चलेपछि अन्ततः पञ्चायत झुक्यो र पक्राउ परेका विद्यार्थी रिहा गर्न बाध्य भयो । आन्दोलनको सफलताले विद्यार्थीहरुमा नयाँ जोस, उमंग भरिदियो । यसरी सम्झौताहीन अविछिन्न संघर्षबाट प्राप्त सफलतापछि जेठ १ लाई विद्यार्थी दिवसका रुपमा सम्झने र मनाउने प्रचलन सुरु भएको हो ।

आजको कार्यभार

विद्यार्थी आन्दोलन का आरोह-अवरोह का धेरै कथाव्यथा छन् । यो अवधिमा विद्यार्थी आन्दोलनमा समाहित हरेक पुस्ताको चाहना थियो, राजतन्त्रको अन्त्य र गणतन्त्र नेपालको स्थपना, संविधान सभाबाट संविधान घोषणा, संघीयता, धर्मनिरपेक्षता, समावेशी प्रतिनिधित्व, समानुपातिक निर्वाचन प्रणालि, स्वास्थ्य, शिक्षा, रोजगारमा जनताको मौलिक अधिकार सुनश्चित भएको हेर्ने । त्यसपश्चात सबै क्षेत्रमा आमूल परिवर्तनका नयाँ क्षितिजहरु देखा पर्नेछन् भन्ने सपना हरेक आन्दोलनकारीको मन मस्तिष्कमा थियो ।

त्यो प्राप्त पनि भयो । तर, हामीले इतिहासलाइै फर्किएर हेर्‍यौं भने हामीले धेरै गुमाएका छौ र केही प्राप्त गरेका छौ । तसर्थ प्राप्त उपलब्धिको सही सदुपयोग गर्दै अबको अखिलले आफ्नो शैक्षिक कार्यदिशा तय गर्नुपर्छ ।

संघीय गणतन्त्र नेपालको पहिलो संविधानले सबै उत्पीडित जाति, क्षेत्र, समुदायलाई अपनत्व महसुस गराउन सक्नुपर्दछ । संविधानको यथाशीघ्र कार्यान्वयन गरी विकास, आर्थिक सम्वृद्धिको “फाष्ट ट्रयाक” मार्फत हरेक जनताको घर दैलोमा परिवर्तन बिहानीको झुल्के घाम जस्तै आशाको किरण लिएर पुग्न सक्नुपर्छ । सबै जनताले समान पहुच र अवसर पाउनु पर्छ ।

राष्ट्रियताको रक्षा, आत्मर्निभर र स्वावलम्वी योजना र कार्यक्रममार्फत हरेक नेपालीले राष्ट्र निर्माणमा भूमिका खेल्ने वातावरण राजनीतिक दलहरुले बनाउन सक्नुपर्छ । देशविकासका आधारहरु पहिचान गरी सरकारले ल्याएको शैक्षिक प्रमाण पत्रका आधारमा विना ब्याज ऋण उपलब्ध गराएर विदेसिँदो धन र जनलाई स्वदेशमै रहने वातावरण सिर्जना गरिनुपर्छ । शिक्षामा २५ प्रतिशत बजेट छुट्याउनु पर्छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन कार्यान्वयन गरिनुपर्छ । संघीय शिक्षा ऐन आयोगको प्रतिवेदनका आधारमा ल्याउनु पर्छ ।

क्याम्पस प्रमुखदेखि विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट नियुक्त गरिनुपर्छ । माध्यमिक तहसम्म शिक्षामा निजीकरण उन्मूलन गरी सम्पूर्ण शिक्षा राज्यले जिम्मा लिनुपर्छ । विद्यमान शैक्षिक बेरोजगारको समस्यालाई हल गर्न रोजगारका अवसर सिर्जना गर्ने र आत्मनिर्भर, उद्यमशील काममा जोड दिन सरकारलाई वातावरण मिलाउन दबाव दिनुपर्छ । तबमात्र विद्यार्थी आन्दोलनको उपज परिवर्तन संस्थागत भएको मानिने छ ।

यससँगै विद्यार्थी संघ/संगठनमाथि पनि अनेकाैं प्रश्नहरु उठेका छन् । यी सबै प्रश्नको व्यवहारबाट जवाफ दिँदै विद्यार्थी आन्दोलनलाई आलोचनात्मक चेत, रचनात्मक प्रतिपक्षीय धार निर्माणमा जोड गर्नुपर्छ । आजको सन्दर्भमा विद्यार्थी आन्दोलनलाई बढीभन्दा बढी रचनात्मक र सिर्जनशील आन्दोलनमा जोड दिनु आवश्यक छ ।

विद्यार्थी संघ/संगठनले इतिहासको गर्विलो विरासतलाई आत्मासात गर्दै बदलिएको राजनीतिक परिस्थिति अनुरुप आफूलाई पनि रुपान्तरण गर्न जरुरी छ ।

यो कुरा साँचो हो कि ऐतिहासिक जागरण, जनआन्दोलन, जनविद्रोह र जनयुद्धको पृष्ठभूमि विद्यार्थी आन्दोलन नै हो । विद्यार्थी आन्दोलनका फरक धाराहरु छन् वाद-विवाद र संवादहरु पनि छन् । तर पनि विद्यार्थी आन्दोलन निरन्तर बेगवान छ ।

आज विद्यार्थी आन्दोलनलाई विभिन्न कलेबरमा खोज्नु, उतार्नु भन्दा पनि यसको गति र प्रवाहलाई सही ढंगले आत्मासात गर्नु नै विद्यार्थी आन्दोलनको सही मूल्यांकन हुनेछ । यही मूल्यांकनका आधारमा प्राप्त उपलब्धिलाई कार्यन्वयन गर्ने हिम्मत, साहस र धैर्यता आउने दिनहरुमा जनताको आँखामा प्रतिविम्वित गर्ने जमर्को आजको विद्यार्थी आन्दोलनले गर्न सके विद्यार्थी दिवसको सार्थकता सिद्ध हुनेछ ।

आजको देशको राजनीतिक सन्दर्भ बदलिएको छ । विद्यार्थी आन्दोलनको रौनक फेरिएको छ । घन्टाघरको राणाकालीन घडीमा संघीय गणतन्त्रात्मक नेपालको समयसुचक घण्टी बज्न थालिसकेको छ । मानिसहरु फिनिक्स पंक्षीकोझैं स्वतन्त्रता अनुभव गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment