Comments Add Comment

स्तरोन्नती गरिएका भन्सार नाकाबाट निर्यात शून्य

२ जेठ, काठमाडौं । नेपालमा दुई दर्जन भन्सार बिन्दुबाट आयात–निर्यात व्यापार हुन्छ । यसमध्ये ८ भन्सार बिन्दुबाट भने नेपालले कुनै पनि सामान बाहिर पठाउन सकेको छैन ।

भन्सार विभागकाअनुसार २३ वटा भन्सार बिन्दुबाट आयात–निर्यात दुवै हुन्छ, तर ८ भन्सार विन्दु भने केवल वस्तु आयातका लागि मात्र प्रयोग भइरहेका छन् । चालु आर्थिक वर्ष २०७५/७६ को ९ महिना (साउन–चैत)मा नेपालले ६९ अर्ब ८२ करोड २३ लाख बराबरको वस्तु निर्यात गरेको थियो ।

विराटनगर, काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वीरगञ्ज विन्दुबाट ठूलो हिस्सामा वस्तु निर्यात हुन्छ । विभागको तथ्यांकअनुसार तीन विन्दुबाट क्रमशः २९.५२, २५.४२ र २१.२८ प्रतिशत वस्तु निर्यात हुने गरेको छ । ७ वटा भन्सार विन्दुबाट कूल निर्यात व्यापारको १ प्रतिशतभन्दा कम निर्यात हुने गरेको तथ्यांक छ ।

वस्तु निर्यातमध्ये सबैभन्दा धेरै पामको तेल विदेश जान्छ । यसबाहेक धागो, गलैंचा, चिया–कफी, फलाम तथा स्टीलका सामग्री बढी निर्यात हुन्छन् ।

निर्यात व्यापार शून्य भएका भन्सार कार्यालयमध्ये अधिकांश चालु आर्थिक वर्षभित्रै स्तरोन्नती गरिएका हुन् । यसअघि छोटी भन्सारका रुपमा रहेका यी कार्यालयलाई यसै आर्थिक वर्षमा भन्सार कार्यालयका रुपमा स्तरोन्नती गरिएको थियो । भद्रपुर, ठाँडी, महेशपुर, सुठौली र सती भन्सार यसै वर्ष स्तरोन्नती गरिएका हुन् । जनकपुरलगायत भन्सार विन्दुबाट भने यसअघि निर्यात भएको तथ्यांक विभागसँग छैन ।

भद्रपुर भन्सार कार्यालय प्रमुख फणिन्द्र खतिवडाकाअनुसार नयाँ भन्सार कार्यालय भएका कारण आवश्यक पूर्वाधार निर्माण गर्नै बाँकी छ । खासगरी स्थानीय उत्पादनको आयात–निर्यात हुने सम्भावना देखेरै सरकारले छोटी भन्सार स्तरोन्नती गरेको थियो । ‘यस वर्ष हामी वैदेशिक व्यापारको आधार खडा गर्दैछौं,’ उनले भने, ‘अर्को वर्षबाट क्रमशः व्यापार बढ्छ ।’

निर्यात शून्य रहेका भन्सार कार्यालयहरुबाट आयात भने मज्जाले भइरहेको छ । सबैभन्दा बढी जलेश्वरबाट आयात भएको छ । ९ महिनाको अवधिमा यो नाकाबाट ७ अर्ब ९२ करोड बराबरको आयात भएको भन्सार विभागले बताएको छ । यसैगरी, जनकपुरबाट ९८ करोड १३ लाख, सर्लाहीबाट ९८ करोड, भद्रपुर (झापा) बाट ४४ करोड ३९ लाख, महेशपुर (नवलपरासी) बाट ३० करोड ४२ लाख, ठाडी (सिरहा) बाट १ करोड ७३ लाख र सती (कैलाली) बाट १ करोड १६ लाखको आयात भएको छ ।

आयातको तुलनामा १ प्रतिशतभन्दा कम निर्यात हुने भन्सार विन्दुमा कृष्णनगर, कैलाली, सुनसरी, गौर, कञ्चनपुर, सिरहा र राजविराज छन् ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट झण्डै १ सय मुलुकमा नेपाली सामान निर्यात हुन्छन् । यसमध्ये ठूलो हिस्सा भारत, चीन, अमेरिका, जर्मनी, टर्कीलगायत देशको छ ।

भारतमा ४४ अर्ब रुपैयाँको सामान निर्यात भएको छ । अमेरिकामा ७ अर्ब ९७ करोड ८७ लाख रुपैयाँको निर्यात हुँदा जर्मनीमा २ अर्ब ३६ करोड, टर्कीमा २ अर्ब ३३ करोड र चीनमा १ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको तथ्यांकले देखाएको छ ।

अहिले व्यापार घाटा अझै बढेको छ । चालु आर्थिक वर्षमा आर्थिक वर्षको ९ महिनामा वस्तु निर्यात ६९ अर्ब ८२ करोड मात्र रहँदा आयात भने १० खर्ब ६१ अर्ब नाघिसकेको छ । कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९३.८ प्रतिशत छ । निर्यातको हिस्सा केवल ६.२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको ९ महिनाकै तुलनामा यस वर्ष व्यापार घाटा अझ बढेको तथ्यांकले देखाएको छ ।

आयात हुने विन्दुमध्ये सबैभन्दा ठूलो हिस्सा वीरगन्ज भन्सारको छ । यस विन्दुबाट ३४.५६ प्रतिशत बराबरको आयात हुन्छ । त्यसपछि क्रमशः भैरहवा, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुख्खा बन्दरगाह, नेपालगन्ज, रसुवालगायत छन् । आयात हुने वस्तुमध्ये ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगट्छ ।

सरकारले आयात प्रतिस्थापन गर्न निर्यातजन्य उद्योग प्रवद्र्धनको नीति लिएको छ । चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले आगामी दुई वर्षभित्र चिनी, औषधि, फलामे डण्डी, काठ, सिमेन्टलगायत आधारभूत निर्माण सामग्रीमा आत्मनिर्भर हुने घोषणा गरेको थियो । जुट, गलैंचा, तयारी पोशाक, पश्मिना, रेशम र कपासमा आधारित उद्योग, जुत्ता र हस्तकलाका निर्यातजन्य उद्योगको प्रवद्र्धन गर्ने सरकारको योजना थियो । तर, आयातमा यी आधारभूत वस्तुकै हिस्सा अधिक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment