Comments Add Comment

बार समक्ष सिटौलाको बयान : न्यायाधीश नियुक्तिमा म गड्यौलो भएँ

२ जेठ, काठमाडौं । न्यायपरिषदका सदस्य रामप्रसाद सिटौलाले नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठमाथि कानुन दिवसको दिन प्रयोग गरेका अपशब्द फिर्ता लिएका छन् ।

नेपाल बारको कार्य समिति बैठकमा बुधबार उपस्थित भएका सिटौलाले दुर्भाग्यपूर्ण घटना भएको भन्दै आफूले बोलेका शब्द फिर्ता लिएको जनाएका हुन् ।

सिटौलाको भनाइ उधृत गर्दै बार कार्य समितिका एक सदस्यले भने ‘जे भयो दुर्भाग्यपूर्ण भयो, मैले बोलेका शब्द ब्याक गर्छु । म बुढो मान्छे ७० वर्षको भएँ, कतिपय सम्झिन पनि सक्दिन । राम दाइ बुढो भएछ भनेर माफी दिनुस् । म न्याय परिषदको सदस्य बारमा आएर बयान दिदैछु, यो नै ठूलो सजाय हो ।’

बार एशोसिएसनको कोटाबाट परिषद सदस्य भएका सिटौलाले अध्यक्ष श्रेष्ठमाथि अपशब्द प्रयोग गर्दै बारको पत्र ‘धोती लाउने’ धम्की दिएपछि उनलाई फिर्ता बोलाउने निर्णय गर्न लागिएको थियो । पूर्वअध्यक्षहरुको सुझावपछि बारले बुधवार चार बजेको समय दिएर सिटौलालाई छलफलका लागि बोलाएको थियो । उनी बारले तोकेकै समयमा पुगेर आफ्नो प्रष्टिकरण दिएका हुन् ।

बारलाई सघाउन आफू तयार रहेको बताउँदै सिटौलाले डा.मनोज शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश बनाउन प्रधान न्यायाधीश चोलेन्द्रशमसेर जबरा, कानुनमन्त्री भानुभक्त ढकाल र परिषद सदस्य पदम बैदिकबीच सेटिङ भएको आरोप समेत लगाएको ती सदस्यले बताए । उनले अन्तिमसम्म आफू लड्दा पनि बहुमतले निर्णय हुने भएपछि चुप लागेको बताएका थिए ।

सिटौलाले भने ‘तीनजनाले सेटिङमा ल्याए । प्रधान न्यायाधीशले तिमीले विरोध गरे पनि तीनजना भएर नियुक्ति गर्दिन्छौं भनेपछि म चुप बसेँ ।’

न्यायपरिषद सदस्य सिटौलाले सीटीईभीटीमा उपसचिव तहमा कार्यरत कर्मचारी रेणुका शाहलाई उच्च अदालतको न्यायाधीश बनाउनेमा पनि प्रधानन्यायाधीशनै जिम्मेवार रहेको बयान बार कार्य समिति समक्ष दिएका छन् । उनले बार समक्ष भने ‘म गड्यौलो भएँ, कमिलाहरुले मलाई बोकेर लगे ।’

बहुमतको सामु आफू निरीह भएको उनले बताएको ती सदस्यले जनाए । सिटौलाले उच्च अदालतको मुख्य न्यायाधीश न्याय सेवा बाहिरबाट नियुक्ति गर्न खोजिए आफूले अन्तिमसम्म लड्ने भन्दै बारको सहयोग माग गरेको स्रोतले जनँएको छ । उनले बारको हितमा आफू काम गर्न तयार रहेकोभन्दै आफूलाई साथ दिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment