Comments Add Comment

दासढुंगा–गाँजीपुर क्षेत्रमा अब एकीकृत विकास

चितवन दासढुंगा र गाँजीपुर जननेता मदन भण्डारी र जीवराज आश्रितको निधन भएका कारण चर्चामा आए । दासढुंगा नेताद्वय सवार जीप दुर्घटना भएको ठाउँ हो भने, गाँजीपुर मदन भण्डारीको शव भेटिएको स्थान ।

चर्चामा आए पनि दासढुंगा र गाँजीपुरमा विकासको पहल नभएको तीतो यथार्थ छ । दुवै ठाउमा सामान्य किसिमको मदन–आश्रित पार्क मात्र छन् । समकालिन नेपाली राजनीतिका चर्चित नेताद्धयको निधन भएको क्षेत्रलाई ‘राजनीतिक तीर्थस्थल’को रुपमा विकास गर्न सकिन्थ्यो, तर गरिएन । अब यो अवस्था हटाउनुपर्छ भन्ने आवाज शक्तिशाली बन्दैछ । मदन भण्डारी फाउण्डेशन, चितवनको पहलमा केही कदम चालिएका पनि छन् ।

रहस्यमय जीप दुर्घटनामा नेताद्वयको निधन भएपछि दासढुंगा क्षेत्रमा विकास सोच नै नबनेको चाही पक्कै हैन । स्पष्ट योजना र बजेट अभावका कारण यो क्षेत्र पछाडि परेको हो । यही कारण हरेक जेठ ३ गते दासढुंगामा भेला हुने, शालिकमा माल्र्यापण र भाषण गरेर भरतपुर फर्किने काम मात्र भयो ।

विभिन्न समयमा तत्कालिन नेकपा (एमाले)को जिल्ला कमिटी, युवा संघ र अन्य जन वर्गीय संगठनको सहयोगमा गतिलो काम गर्ने कुरा त भयो, तर त्यसले निरन्तरता पाएन । स्वर्गीय नेता जागृतप्रसाद भेटवालको नेतृत्वमा गठित समितिले यो क्षेत्रको विकासको लागी जग्गा प्राप्ति, बाटो व्यवस्थापन र पार्क मर्मत–सम्भार गरिएको थियो । गाँजीपुरमा पनि ‘मदन स्मृति पार्क’ बनाएर स्थानीय समितिमार्फत सामान्य कार्यक्रमहरू हुँदै आएको छ । तर, विस्तृत योजनाका साथ कमा अगाडि बढ्न सकेको छैन ।

डा. तिलचन्द्र भट्टराई

यी दुई महत्वपूर्णस्थलको वीचमा रहेको नारायणी नदी चितवनको विकास सम्भावनाको मेरुदण्ड पनि हो । नारायणीसँग जोडिएका नारायणगढ, गैडाकोट, देवघाट, शिवघाट, नगर वन, ज्ञानेश्वर लगायतका सामुदायिक वनहरु र गाँजीपुर हुँदै गोलाघाटसम्म सामान्य स्तरका छुट्टाछुट्टै विकासका काम अघि बढिरहेका छन् ।

यी सबै क्षेत्रलाई समेट्ने गुरूयोजना बनाउने उद्देश्यले मदन भण्डारी फाउण्डेशन, चितवनले गत चैत्र ८ गते काठमाण्डौंमा वृहत छलफल कार्यक्रम गरेको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको त्यस छलफलमा गुरूयोजनालाई आकार दिन प्रदेश ३ सरकारले पाँचजना विज्ञको समुह बनाउने निर्णय भएअनुसार काम अघि बढेको छ ।

मदन–आश्रितको शालिकसहितको पार्क क्षेत्र, उत्तर तर्फको भिरालो र देवघाटतर्फको क्षेत्रमा एकीकृत विकास गर्ने योजना बनिरहेको छ । पार्कको लागी पहिल्यै खरिद भएको ३८ कठ्ठालाई उपुयक्त मूल्यमा नजिकको जग्गा किनेर १२ बिघाजति बनाउने योजना छ ।

दासढुंगामा संग्रहालय, पुस्तकालय, सामुदायिक भवनको साथै तनहुतर्फको भागमा मदन भण्डारी र जीवराज आश्रितको ठूला शालिक बनाएर मुग्लिन–नारायणगढ लोकमार्गबाट सबैले देख्ने गरी राख्नु उपयुक्त हुन्छ । एकीकृत विकास योजनामा समेटिएका क्षेत्रमा बाटो, हरियाली पार्क, विश्रामस्थल आदिको व्यवस्था गर्नुपर्छ ।

भरतपुर महानगरपालिका– १७ मा पर्ने नारायणी नदी किनारको करिव ६० मिटर चौडाइसहितको क्षेत्रमा व्यवस्थित पार्क र जैविक विविधता अध्ययन केन्द्रका साथै महत्वपूर्ण व्यक्तिहरुले वृक्षारोपण गर्ने स्थल बनाइनुपर्छ ।

अहिले त्यहाँ भ्युटावर निर्माण भरहेको छ । मदनको शव भेटिएको ठाउँमा शालिक ठड्याएर हिउँद, वर्षा सबै समयमा पुग्न सकिने गरी पूल बनाउने योजना पनि अघि बढेको छ । त्यहाँ जग्गा कम छ । पार्क नजिकै रहेको सेनाको चेकपोष्टलाई अन्यत्र सार्दा जग्गा निकस्न्छ । थप जग्गाको लागि स्थानीय समुदायबाट सहयोगको खाँचो छ ।

समग्र चितवनको विकासलाई नारायणी नदी संरक्षणसंग जोडेर अगाडी बढाउने हो । त्यसरी नै स्थानीय जीवनमा परिवर्तन ल्याउने आर्थिक–सामाजिक रुपान्तरणको खाका बनाउने हो । मदन भण्डारीको नाममा गरिने सबै किसिमका कृयाकलाप यस क्षेत्रसंग सम्बन्धित हुनुपर्छ ।

नारायणीको दुवैतर्फ चार लेनको सडक निर्माण गर्न आवश्यक छ । दुवैतिर उकास अनुसार हरियाली क्षेत्र, पर्यटकिय क्षेत्र, कृषि क्षेत्र र बजार क्षेत्र विकास गर्नु उपयुक्त हुन्छ । विश्वका ठूला शहरहरु नदी किनारमा रहेको तथ्यलाई आत्मसाथ गरेर नवलपुर पूर्वको विभिन्न स्थानमा बस्ती विकास गर्नुपर्छ ।

गाँजीपूर क्षेत्रमा ठूलो मात्रमा जमिन उकास हुने सम्भावना छ । त्यहाँ घाँसे मैदान र वन बनाएर जैविक विविधता अध्ययन केन्द्रको रुपमा विकाश गरिनुपर्छ । दासढुंगा–गाँजीपुर क्षेत्रमा महत्वपूर्ण धार्मिक स्थल देवघाट छ । त्यसलाई धार्मिक पर्यटन केन्द्र बनाउनुपर्छ ।

नेपाल ट्रष्टको नाममा रहेको ऐतिहासिक दियालो बंगला, नारायणगढ बजार क्षेत्रको नारायणी नदी किनार र नगर वनको विस्तृत परियोजना निर्माण गर्दै समन्वयका साथ एकिकृत विकासको अवधारणालाई अघि बढाउनु उपयुक्त हुन्छ । त्यसैगरी, स्थानीय पहलमा संरक्षण र विकाशमा अघि बढिरहेको शिवघाट, काँप्रेघाट, ज्ञानेश्वर सामुदायिक वनको योजनालाई समेत यसमा समेट्न सक्दा यहाँको विकासमा थप टेवा दिन्छ ।

नारायणी नदीको स्वच्छता र विकासको कुरा गर्दा यसको उद्गमस्थल दामोदर कुण्ड र गोसाई कुण्डदेखी गजेन्द्र मोक्षधाम, त्रिवेणीसम्मको क्षेत्रको एकिकृत संरक्षण गर्ने राष्ट्रिय प्रधिकरण स्थापना गरी राष्ट्रिय गौरवको आयोजनाको रूपमा लैजान सके चितवनको मात्र नभई समग्र नेपालको सम्वृद्धिमा महत्वपूर्ण योगदान पुग्छ । संघिय, प्रादेशिक सरकार र स्थानीय सरकार तथा सम्बन्धित सबै यसतर्फ अघि बढ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment