Comments Add Comment

काठमाडौंका थप ८ वटा चोकमा बालिँदै ट्राफिक लाइट

४ जेठ, काठमाडौं । काठमाडौंमा थप ८ वटा चोकमा केही हप्ताभित्रै ट्राफिक लाइट बल्ने भएको छ । मुख्य चोकहरुमा ट्राफिक लाइटहरु राख्न लागिएको हो ।

महाराजगञ्ज र नयाँबानेश्वर चोकको परीक्षण सफल भएपछि नयाँ चोकहरुमा पनि त्यसलाई विस्तार गर्न लागिएको हो । मर्मत गरेर बालिएका पुरानै बत्तीले ट्राफिक व्यवस्थापन सजिलो बनाएकाले अन्य चोकमा पनि बल्न छाडेका बत्तीलाई पुनः प्रयोग गर्न लागिएको विभागमा ट्राफिक इकाइ प्रमुख दीप बाराहीले जानकारी दिए । अब कतिपय चोकमा नयाँ लाइटहरु पनि राखिँदैछ ।

काठमाडौंमा बढी व्यवस्त हुने सिंहदरबार, पद्मोदय मोड, बागबजार, कालिमाटी, तीनकुने, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ ट्राफिक लाइट राखिँदैछ ।

यसअघि एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ जडान गर्न खोजिएको थियो । तर, सफल भएन । स्मार्ट लाइट जडान नहुने भएपछि पुरानै ट्राफिक लाइटहरु मर्मत गर्न लागिएको हो ।

तीनकुने, कालिमाटी, पुरानो बाननेश्वर चोक, गौशाला र मित्रपार्कमा नयाँ लाइटहरु जोड्नुपर्ने हुन्छ । अन्य स्थानमा भने पुरानै ट्राफिक लाइटको पूर्वाधार प्रयोग गरेर सञ्चालनमा ल्याउन लागिएको छ । यो कामका लागि भ्याट रकमबाहेक ५७ लाख खर्च गरिँदैछ ।

अघिल्लो वर्ष काठमाडौं महानगरपालिका, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले पुरानै लाइट मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि तत्काल लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार नयाँबानेश्वर र महाराजगञ्जको बत्ती मर्मत गरेर परीक्षण गरिएको थियो । नयाँबानेश्वरमा बत्ती मर्मत गर्न १५ लाख लाग्यो भने महाराजगञ्जमा २७ लाख । महाराजगञ्जको मर्मत खर्च काठमाडौं महानगरले ब्यहोरेको थियो ।

बानेश्वर र महाराजगञ्जमा लाइट सञ्चालनमा आएपछि ट्राफिक व्यवस्थापन केही सहज भएको दावी सडक विभागको छ । काठमाडौंका सडकमा ट्राफिक बत्तिहरु ०६५ सालमा जापानी सहयोग नियोग जाइकाको सहयोगमा जडान गरिदिएको थियो । तर, पछिल्लो समय अधिकांश अलपत्र छन् । उपत्यकाका २० भन्दा बढी स्थानका ट्राफिक बत्ति बिगि्रएका छन् ।

‘छिट्टै नयाँ चोक ठाउँमा लाइटहरु बाल्छौं,’ बाराहीले भने, ‘काठमाडौंमा सवारी जाम र व्यवस्थापनको कठिनाइ हटाउन यो काम तत्कालै गर्न जरुरी छ ।’

तर, बानेश्वर चोकको ट्राफिक लाइटमा भने पटक-पटक समस्या पनि आइरहेको छ ।

लाइट नहुँदा दुर्घटना बढिरहेकाले तत्काल मुख्य चोकहरुमा यसको व्यवस्थापन गर्नुपर्ने माग महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक-पटक गरेको छ । लाइट नहुँदा आवश्कताभन्दा पाँच गुणा बढी ट्राफिक प्रहरीलाई सडकमा सवारी व्यवस्थापनका लागि खटाइरहनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment