Comments Add Comment

सीमाक्षेत्रको आतिथ्यः किन अडिदैनन् विदेशी पाहुना

लुम्बिनी एक त्यस्तो आस्थाको पुञ्ज हो, जसले विश्वभरका बुद्धिष्टलाई लोभ्याउँछ । तर, बुद्धिष्ट मात्र होइन, अन्य पाहुनालाई पनि लुम्बिनीको आकर्षणले तानेर नेपालसम्म ल्याइपुर्‍याउँछ ।

तथ्यांकले भन्छ, दिनमा औसत १० हजार आगन्तुक लुम्बिनी प्रवेश गर्छन् । यो मूख्य सिजनको कुरा हो । अन्य दिनमा पनि चहलपहल त्यती घट्दैन ।

तर दुःखका साथ भन्नुपर्छ, यसरी लुम्बिनीको आकर्षणले तानिएर नेपालसम्म आइपुग्ने विदेशी आगन्तुक यहाँ अडिदैनन् । साँझ-बिहानको गाँस टिप्न होस् वा रात्रीकालिन विश्राम गर्न, भारत पुग्छन् । सीमाक्षेत्रको साझा पीडा हो सायद यो । छिमेकी भारतले जस्तो पर्यटकलाई सेवा र सुविधा उपलब्ध गराउन नसक्दा नेपाल आएका पर्यटक पनि उनीहरुकै पेवा बन्ने गर्छ ।

लुम्बिनीमा आउनेमध्ये कम्तीमा दैनिक पाँच हजार त विदेशी पर्यटक हुँदो हो । उनीहरु भारतको बाटो हुँदै लुम्बिनी आउँछन् । बुद्धको जन्मथलो नियाल्छन् । अनि सीमा पार गरेर भारत पुग्छन्, गाँस र बासको लागि ।

यसको सोझो अर्थ के भने, हामीले लुम्बिनीको पर्यटनबाट सुको फाइदा लिन सकेका छैनौ । पर्यटक आउँछन् । घुम्छन् । जान्छन् । हामी टुलुटुलु हेरेर बस्छौ । यो हाम्रो वाध्यता हो वा लाचरी ? यो हाम्रो कमजोरी हो वा बेपर्वाह ? सोच्नुपर्ने अवस्था छ ।

अक्सर लुम्बिनीलाई गन्तव्य बनाए भित्रने पर्यटकहरुले भारतको बाटो रोज्छन् । उनीहरु बुद्धिष्ट सर्किट अर्थात बनारस, बोधगया हुँदै लुम्बिनीको फन्को लगाउँछन् । बनारस र बोधगया भारतको भूमिमा पर्छ । लुम्बिनी नेपालको । गौतम बुद्धको जन्मथलो वा सम्पूर्ण बुद्धिष्टको आकर्षणको मूख्य केन्द्र भनेकै लुम्बिनी हो ।

जबकी लुम्बिनी घुम्न आउने पर्यटकबाट हामीले लाभ लिन सकेका छैनौ । किन ?

यसका एकमात्र कारण छै्रनन् । एक त हामीले नेपाल भित्रने पर्यटकको वर्गिकरण गरेका छैनौ । लुम्बिनी आउने पर्यटक भनेका बौद्धमार्गी, बुद्धिष्ट वा धार्मिक आस्था राख्नेहरु हुन् । अर्थात धार्मिक पर्यटक । तर, उनीहरु सोझै नेपाल आउँदैनन् । काठमाडौंको त्रिभूवन विमानस्थल हुँदै आउने प्रवृत्ति उति छैन । बरु उनीहरु भारतको बोधगया, बनारस हुँदै लुम्बिनी आउँछन् ।

यसरी भारतबाट लुम्बिनी प्रवेश गर्ने पर्यटकले भारतकै ट्राभल एजेन्टलाई समातेका हुन्छन् । यसो भनौं, लुम्बिनी आउने पर्यटकका लागि नेपाली ट्राभल एजेन्ट वा कुनै सेवाग्राहीको उपस्थिती रहँदैन । त्यही कारण उनीहरुले नेपालबारे जान्ने र बुझ्ने अनुकुलता पाउँदैनन् ।

भारतिय एजेन्टले जसरी व्याख्या र चर्चा गर्छन्, त्यसमै उनीहरुले विश्वास गर्नुपर्ने हुन्छ । संभवत उनीहरुले नेपालप्रति चासो र उत्सुकता राख्दैनन् । त्यही कारण पनि नेपाल आएर नेपालकै हावापानीमा रमाउने इच्छा गर्दैनन् ।

लुम्बिनीको सौन्दर्य र सामथ्र्य

लुम्बिनी वास्तवमा हाम्रो लागि यस्तो अनमोल सम्पदा हो, जसको आडमा हामीले धार्मिक पर्यटनको स्वर्णद्वार खोल्न सक्छौं ।

विश्वका जनसंख्यामध्ये आधा हिस्सा बुद्धिष्टहरुको छ भनिन्छ । चीन, जापान, कोरिया, मंगोलिया, इन्डोनेसिया, श्रीलंका, थाइल्यान्ड, म्यानमार आदि थुप्रै मुलुक छन्, जहाँ बौद्धमार्गीहरुको बाहुल्य छ । यिनीहरुको मूख्य आकर्षण र आस्थाको केन्द्र भनेको लुम्बिनी नै हो । यत्तिका जनसंख्यामध्ये थोरै मात्र लुम्बिनीसम्म आउने हो भने यहाँ आगन्तुकको चाप थेगिनसक्नु हुनेछ । यसले त्यस आसपास खासगरी लुम्बनी, भैरहवा, बुटवलदेखि देवदहसम्मको पर्यटनलाई गुल्जार बनाइदिन सक्छ ।

त्यती मात्र होइन, लुम्बिनीलाई गन्तव्य बनाएर आउने पर्यटक काठमाडौंको बौद्ध तथा स्वयम्भूको फन्को लगाउन सक्छन् । यसरी ठूलो संख्याको धार्मिक पर्यटकलाई भित्र्याउने आकर्षण हामीसँग छ । तर, हामी सुनको कचौरा बोकेर माग्न बसेका मगन्ते जस्तै भएका छौं ।

आफ्नै आँगनमा आउने पर्यटकलाई समेत आफ्नो उत्पादन, खानपान बेच्न सक्दैनौ । यसमा मुलत हाम्रो हस्पिटालिटी क्षेत्र नै कमजोर छ ।

हामीकहाँ पर्याप्त पूर्वाधार छैन । अर्थात आगन्तुकलाई सेवा-सुविधा दिने होटल, रेष्टुरेन्ट आदि पर्याप्त मात्रामा छैन । होटल, रेष्टुरेन्ट नहुनुमा एउटा समस्या चाहि दक्ष जनशक्ति पनि हो । त्यस क्षेत्रमा होटल व्यवसायका लागि दक्ष जनशक्तिको चरम अभाव छ ।

अर्कोतिर भौतिक पूर्वाधारको पनि कमी छ । सुविधायुक्त होटल, रेष्टुरेन्ट न्युन छन् । सेवा-सुविधाको अभाव छ । त्यससँगै पर्यटन र होटल व्यवसायसँग सम्बन्धित संघ-संस्थाको सक्रियता त्यस क्षेत्रमा लगभग सून्य जस्तै छ । यी थुप्रै कारणले आँगनसम्म आइपुग्ने पाहुनालाई पनि हामी आतिथ्य दिन सकिरहेका छैनौ ।

हुन त अब लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । त्यसको काम लगभग सकिएको बताइन्छ । अब यसले पनि लुम्बिनीको पर्यटनमा केही न केही सघाउ पुर्‍याउने नै छ । यससँगै हामीले एकिकृत रुपमा पर्यटन विकासका आधारहरु निर्माण र व्यवस्थापन गर्न सकेमा लुम्बिनी आउने पर्यटकबाट लाभ लिन सक्नेछौ ।

(लेखक पिक हस्पिटालिटी म्यानेजमेन्टका उपाध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment