Comments Add Comment

सामूहिक हत्या प्रकरण : मुकुन्डो लगाएर आएका थिए हत्यारा

७ जेठ, फिदिम । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा २ परिवारका नौ जनाको हत्यामा मुकुन्डोधारी समूह संलग्न रहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाकी प्रत्यक्षदर्शी १२ वर्षीया किशोरी सीता खुजुमले एक समूहले धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।

सीताका अनुसार, धारिलो हतियारसहित आएका समूहका सबैले मुकुन्डो लगाएका थिए ।

अज्ञात समूहको निशानामा सीता खुजुम स्वयं पनि परेकी छन् । आक्रमणबाट उनको हात भाँचिएको छ । उनी भागेर ज्यान जोगाउन सफल भएकी छन् । उनको अवस्था गम्भीर रहेकाले उपचारका लागि प्रहरीको भ्यानमा राखेर फिदिम ल्याइएको छ ।

अज्ञात समूहले सोमबार मध्यराति ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्मा परिवारका ९ जनाको विभत्स हत्या गरेको हो ।

हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । शेर्मा र फियाक परिवारको घरको दुरी करिब डेढ–दुई किलोमिटर टाढा छ ।

२ नातेदार परिवारको हत्या भएकाले पारिवारिक रिसिबी यसको कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । पाँचथर प्रहरीले भने यसको अनुसन्धान भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले झापाबाट प्रहरीको अनुसन्धान टोलीलाई बोलाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment