
७ जेठ, जनकपुरधाम, । सरकार गठन भएको १६ महिना बितिसक्दा समेत प्रदेश २ को नामांकरण नगरेको भन्दै विपक्षी दलहरुले प्रदेश सरकारको कडा आलोचना गरेका छन् । प्रदेशको नाम राख्न नसक्नुलाई सरकारको ‘निकम्मापन’ भनेका छन् ।
मंगलबार बसेको प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रदेशको नामांकरण नगरी सरकारले संस्कारहीनता प्रस्तुत गरेको बताए । ‘प्रदेश सरकार गठन भएको १६ महिना बितिसक्दासमेत सरकारले यसतर्फ कुनै ध्यान नदिएर संस्कारलाई बिर्सेको छ’ उनले भने, ‘कुुनै पनि बच्चाको जन्म भएको ६ दिनभित्र न्वारन संस्कार गरी नाम राख्ने गरिए पनि यो सरकारले १६ महिनासम्म नाम राख्न नसक्नु संस्कारहीनताको पराकाष्ठा हो ।’
प्रदेशको नाम अगाडि २ नम्बरी लागेको तर, सरकारले यसतर्फ चासो नदिनु बिडम्बना भएको भन्दै उनले बताए । ‘हामीले नै पटक–पटक यो विषयमा हामीसँग छलफल गर्नुस्, कुनै न कुनै निश्कर्ष निस्किन्छ भन्दा पनि सरकारले चासो दिएको छैन’ उनले भने ।
कांग्रेसले प्रदेश २ लाई मिथिला–भोजपुरा नामाकरण गर्न चाहेको भन्दै उनले मधेस प्रदेश नाम आफूहरुलाई मान्य नहुने बताए ।
आन्दोलन गर्दा समग्र मधेश एक स्वायत्त प्रदेश भन्नेहरु आठ जिल्लालाई नै मधेस मान्दा मधेस नामांकरण गर्न नसकिने उनको तर्क छ ।
प्रदेशको नाम मिथिला–भोजपुरा नै राख्नुपर्ने बताउँदै उनले सरकारलाई केन्द्रीय सरकारझैं पहिचान नमेटाउन आग्रह गरे ।
प्रदेशमा मिथिला र भोजपुरा सस्कृति र पहिचान भएको भन्दै उनले भने, ‘तपाईंहरु केन्द्रले मधेशको पहिचान मेटाउन खोज्यो, खसवादी बन्यो भनेर भनिरहनुभएको छ । तर तपाईंहरु पनि त यहाँको पहिचान मेटाउन खोजिरहनुभएको छ, यसो नगर्नुस् ।’
प्रदेशको राजधानी जनकपुरधाम र भाषा मैथिली हुनुपर्ने उनले बताए ।
बैठकमा सत्तासीन राजपाका सांसद बच्चालाल चौधरी र सुरिता कुमारी साहले मधेश प्रदेश नामाकरण गर्नुपर्ने बताए । सांसद साहले प्रदेशको सम्पर्क भाषा हिन्दी हुनसक्ने बताइन् ।
प्रतिक्रिया 4