Comments Add Comment

विश्वकप नजर : क्रिकेटको जन्मदाता इंग्ल्यान्डले उपाधि खडेरी टार्ला ?

६ जेठ, काठमाडौं । क्रिकेटको जन्मदाता भनेर चिनिने बेलायतले अहिलेसम्म विश्वकप क्रिकेटको उपाधि चुम्न सकेको छैन । यसपाली भने निकै राम्रो फर्ममा देखिएको इंग्ल्यान्डलाई उपाधिको बलियो दावेदारका रुपमा हेरिएको छ ।

त्यसमाथि ‘होमग्राउन्ड’ उपाधि उचाल्ने लालसाले पनि खेलाडीहरुलाई थप प्रेरित गरिरहेको छ । त्यसो त इंग्ल्यान्डले यसअघि चारपटक विश्वकपको आयोजना गरिसकेको छ तर विश्वकपको ट्रफी भने कहिल्यै घरभित्र राख्न सकेन ।

१९७५ मा भएको पहिलो विश्वकपमा इंग्ल्यान्ड सेमिफाइनलसम्मको यात्रा गर्न सफल भयो । अहिलेसम्म इंग्ल्यान्ड दुई पटक सेमिफाइनलबाट बाहिरिएको छ भने तीनपटक फाइनल खेलेको छ । तर भाग्य इंग्ल्यान्डको पक्षमा रहेन ।

इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकपको फाइनलमा पुगेको थियो । यसपालि इंग्ल्यान्ड टिम बलियो छ । ब्याटिङ, बलिङ र फिल्डङ यी तीनै पक्ष चुस्त देखिएको इंग्ल्यान्ड एकदिवसीय क्रिकेटको विश्व बरियतामा पनि शीर्ष स्थानमा छ ।

बट्लर, मोर्गन, रुट र बैरस्टोको तुफानी ब्याटिङ

इंग्ल्यान्ड पछिल्लो समय निकै राम्रो लयमा देखिएको छ । इंग्ल्यान्डको सातौं नम्बरसम्म आउने खेलाडीले शतक प्रहार गर्ने क्षमता राख्छन् । अधिकांश ब्याट्सम्यान विष्फोटक शैलीमा खेल्छन् ।

कप्तान एओइन मोर्गन, जोइ रुट, जोस बट्लर र जोनी बैरस्टो इंग्ल्यान्डका गेम चेन्जर ब्याट्सम्यान हुन् । यी खेलाडीले ठूलो भन्दा ठूलो स्कोरलाई पनि सानो बनाइदिन्छन् ।
ब्याटिङ अर्डरमा इंग्ल्यान्डको ओपनिङमा जासन रोय र जोनी बैरस्टो आउने छन् । तेस्रो नम्बरमा जोइ रुट आउँदा चौथो नम्बरमा कप्तान एओइन मोर्गन छन् ।

अवस्था हेरेर पाँचौमा बेन स्टोक्स, छैटौमा जोस बट्लर, सातौमा मोइन अली र आठौं स्थानमा जेम्स भिन्च आउने गर्छन् । यी सबै राम्रा ब्याट्सम्यान हुन् । त्यस्तै, नवौंमा आदिल राशिद, १० औंमा लिआम प्लुंकेट र ११औं स्थानमा मार्क उड छन् ।

इंग्ल्यान्डले खेलाडी परिर्वतन गरेपछि विशेषगरी अलराउण्डरको बाहुल्यता रहेको छ । अलराउण्डर जोफ्रा आर्चर र लियाम डवसन भित्रिएसँगै टिम झनै बलियो बनेको छ ।
पछिल्लो खेलको नतिजालाई हेर्ने हो भने इंग्ल्यान्डको अग्रपंक्ति मात्रै हैन मध्यक्रम र फिनिसिङ लाइन पनि उतिकै शसक्त छ । आफ्नै घरेलु मैदानमा हुने विश्वकपमा अन्य बलरका लागि यी ब्याट्सम्यान घातक सावित हुन सक्छन् ।

स्टोक्स र अलीको अलराउण्ड, अनुभवी आदिल

विशेषगरी पछिल्लो समयमा अलराउण्डरले खेल जिताउन मुख्य भूमिका खेल्दै आएका छन् । इंग्ल्यान्डका अलराउण्डर मध्ये बेन स्टोक्स र मोइन अली उत्कृष्ट मानिन्छन् ।

ब्याटिङ अलराउण्डर मोइन अली बलिङ पनि उतिकै शसक्त गर्छन् । उनकै उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्डले थुप्रै खेलहरु आफ्नो पक्षमा पारेको छ । यता, बेन स्टोक्सको मुख्य विशेषता ब्याटिङ हो । तर, उनको बलिङ पनि उतिकै जम्ने गरेको छ । मध्यक्रममा ब्याटिङ गर्न आउने स्टोक्स फास्ट बलर हुन् । विश्वकप क्रिकेटमा पनि यी दुई खेलाडीको भूमिका निकै महत्वपूर्ण रहने छ ।

यो पटकको विश्वकपका इंग्ल्यान्डको टिममा ६ जना बलर छन् । आदिल रशिद, टोम कुरान, लियाम प्लुंकेट, क्रिस वोक्स, जोफ्रा आर्चर र मार्क उड । यी मध्ये सबैभन्दा अनुभवी र सफल बलर हुन् आदिल । उनले ८७ एकदिवसीय अन्तर्राष्ट्रियबाट १३० विकेट लिइसकेका छन् । आफ्नो अनुभव र स्किललाई निरन्तरता दिने हो भने विपक्षी ब्याट्सम्यान उनीसँग सजक हुनुपर्नेछ ।

विश्वकपका लागि इंग्ल्यान्ड टिम

इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment