Comments Add Comment

विकराल बाल विवाहः भयानक जोखिम

एकपटक सोच्नुहोस् त, विवाहको अर्थ र आवश्यक्ता नबुझी तपाईंको जोडी बाँधिदिए के हुन्छ ? दाम्पत्य जीवनको महत्व नबुझ्दै विवाह गर्नुपरे के हुन्छ ?

हामी यी कुरा सोच्न मात्र सक्छौं । हाम्रै मुलुकका कतिपय बालबालिका भने भोगिरहेका छन् । धेरै टाढा पुग्नुपर्दैन, दिपायलस्थित सिलगढीको समाजलाई नियाले पुग्छ । खासगरी मुक्त हलिया परिवारलाई ।

उक्त समुदायमा कलिलै उमेरमा छोराछोरीको विवाह गराइदिने प्रवृत्ति छ । पछिल्लो तीन बर्षयता एक सय ६३ जनाको बालविवाह भएको रहेछ । दिपायल सिलगढी नगरपालिका -८ मा गरिएको एक सर्वेक्षणले यस्तै नतिजा देखाउँछ ।

सर्वेक्षणले भन्छ, ०७३ मा ३८, ०७४ मा ५६ र ०७५ मा ६९ जनाको बालविवाह भएको छ । यसरी विवाह हुनेमध्ये एक सय ३३ जना बालिका र २७ जना बालक छन् । उनीहरुको उमेर १४ देखि १९ बर्ष छ ।

त्यसो त दिपायलमा मात्र होइन, नेपालका अन्य भेगमा पनि बालविवाहको विकराल अवस्था छ । केही बर्षअघि प्रकाशित एक खबर अनुसार नेपालमा प्रत्येक बर्ष १० बर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको विवाह हुने गरेको छ । यसैगरी १० देखि १४ वर्ष उमेरका ११ लाखभन्दा बढी बालिकाको बर्षेनी विवाह हुने गरेको छ । कुल जनसंख्याको ४३ लाखभन्दा बढी १५ देखि १९ बर्षमुनिका किशोरीको विवाह हुने गरेको छ ।

बालविवाह गर्नु कानुनी छुट छैन । यो शारीरिक र मानसिक हिसाबले पनि जोखिमपूर्ण छ । यद्यपी बाल विवाहको क्रम अहिले पनि जारी छ ।

नेपाल सर्वाधिक बाल विवाह हुने मुलुकमा पर्छ । विश्वदक्षिण एसियामा बङ्गलादेश र भारतपछि बालविवाह धेरै हुने मुलुकमा नेपाल पर्छ ।

अपराध भन्ने जान्दा जान्दै

बाल विवाह गराउन कानुनी रुपले बन्देज छ । यसलाई कानुनले अपराध मानेको छ त्यसैले बाल विवाह गराउनेले कानुनी सजाय भोग्नुपर्छ ।

कानुनले स्पष्ट भनेको छ, २० बर्ष नपुगी गरिएको विवाह स्वतः रद्द हुन्छ । यसरी विवाह गराइदिनेलाई तीन बर्षसम्म कैद वा ३० हजार जरिवाना गर्न सकिन्छ । वा दुवै सजाय हुनसक्छ ।

कानुनी रुपमा बाल विवाह गर्न छुट छैन भन्ने थाहा पाएर पनि यस किसिमको प्रवृत्ति भने रोकिएको छैन । कतिपयमा चाहि वाल विवाह एक अपराध हो भन्ने चेतना नै छैन ।

बाल विवाहको प्रवृत्ति त्यही समुदायमा बढी देखिएको छ, जो आर्थिक, सामाजिक रुपले पछौटे छन् । उनीहरु यसैपनि सामाजिक विभेदका सिकार छन् । त्यसमाथि शिक्षा र चेतनाको लहर फैलिएको छैन । त्यस्तै समुदायमा बालविवाहको प्रवृत्ति देखिएको छ ।

जस्तो, दिपायलको मुक्त हलिया परिवारमा यस्तो समस्या छ । चितवनको चेपाङ समुदायमा पनि यस्तै समस्या छ । चेपाङ समुदायमा बालविवाह गर्ने चलन नै छ । तराईका कतिपय समाजमा पनि बाल विवाह गराइन्छ । केही बर्षअघि प्रकाशित एक तथ्यांक अनुसार नेपालको सबैभन्दा बढी बालविवाह हुने जिल्ला रुपन्देही हो । त्यहाँका गरिब, अशिक्षित समुदायमा बालविवाहको चलन छ ।

सानै उमेरमा छोराछोरीको विवाह गराइदिएपछि आफ्नो कर्म सकिन्छ भन्ने सोचाईले पनि यसमा काम गरेको छ । त्यसैगरी तराईका गरिब समुदायमा चाहि छोरी हुर्किएपछि योग्य पुरुष पाउन गाह्रो हुने साथै दाइजो धेरै दिनुपर्ने भयको कारण वालविवाह गराइएको पाइन्छ ।

विवाह बच्चाको खेल होइन

हामीकहाँ भनाई नै छ, ‘विहेवारी २० बर्ष पारी ।’

यो त्यसै भनिएको होइन । २० बर्षपछि विवाह गर्नुपर्छ भन्ने कुरा धेरै अर्थपूर्ण छ । विवाह गर्नु भनेको दुई अलग युवा र युवती एकाकार हुनु हो । दम्पती हुनु हो । दम्पती हुनु भनेको परिवार हुनु हो । जब दुई अलग महिला र पुरुष मिलेर एउटा परिवारको रचना गर्न पुग्छन्, उनीहरुमाथि सामाजिक दायित्व बढ्छ । जिम्मेवारी बढ्छ ।

२० बर्षपछि मात्र विवाहका लागि योग्य उमेर मानिन्छ । किनभने यही उमेरपछि मात्र शारीरिक, मानसिक हिसाबले परिपक्क हुन्छ । विवाहपछि गरिने शारीरिक भोगदेखि पारिवारिक जीवन चलाउन शारीरिक, मानसिक, आर्थिक सबै सक्षम हुन जरुरी छ ।

विवाह गर्नका लागि शारीरिक रुपले तयार हुनुपर्छ । किनभने विवाहपछि हुने यौन सम्बन्ध, गर्भधानदेखि बालबच्चा हुर्काउने, स्यहार्ने कुरामा पनि परिपक्कताको आवश्यक्ता पर्छ । यसैगरी दाम्पत्य जीवनलाई सहज बनाउन दुबै शारीरिक र मानसिक रुपले सक्षम हुनुपर्छ ।

सानै उमेरमा विवाह गराइदिदा उनीहरुको दाम्पत्य जीवन धरापमा पर्छ । पारिवारिक संरचना कमजोर हुन्छ । यौन तथा प्रजनन स्वास्थ्यमा गंभिर समस्या आउन सक्छ ।

यही कारण विवाह कुनै बच्चाको खेल होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment