
८ जेठ, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ नाप्ने नेपाल सरकारको टोली बुधवार बिहान चुचुरोमा पुगेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम नेतृत्वको ५ सदस्यीय टोली बिहान सवा ३ बजे सगरमाथाको चुचुरोमा पुगेको हो ।
नापी विभागका महानिर्देशक प्रकाश जोशीले अत्याधुनिक उपकरणसहित सरकारी टोली शिखरमा पुगेको पुष्टि गरे ।
प्रमुख नापी अधिकृत गौतम, नापी अधिकृत रवीन कार्की र अन्य तीन सहयोगीले आधा घण्टासम्म सगरमाथा शिखरमा बसेर स्याटेलाइटबाट आएका संकेतहरु रेकर्ड गरेको जोशीले बताए । सामान्यतः १५ मिनेट गर्दा पुग्ने ‘अब्जरभेसन’ आधा घण्टासम्म शिखरमै बसेर गरिएको हो ।
महानिर्देशक जोशीले भने, ‘हाम्रो टोलीले आज बिहान आधा घण्टासम्म चुचुरोमा बसेर अब्जरभेसन गरेको छ । १५ मिनेटमा गर्दा पुग्ने हो । आरटेन भन्ने उपकरणले आकाशमा घुमिरहेका स्याटेलाइटबाट आएका सिग्नलहरु रेकर्ड गर्छ । त्यस्ता किरण (रे)हरुलाई त्यसले भण्डारण गरेर राख्छ ।
सरकारी टोली सगरमाथा शिखरमा पुगेर उपकरण फिट गर्दैमा तत्कालै उचाइ पत्ता लाग्ने भने होइन । सबै प्रक्रिया टुंग्याएर डाटा प्रोसेसिङ गरि उचाइ निकाल्न अझै कम्तीमा ६ महिना लाग्ने महानिर्देशक जोशीले बताए । जमिनमा गर्ने सर्बेको काम अझै एक दुई महिना लाग्ने उनले बताए । तर सिजनकै बेला सगरमाथा आरोहण गर्नुपर्ने भएकाले शिखरको मापनको काम सकिएको हो ।
कतिपय ठाउँमा हेलिकोप्टरबाट सर्बे गर्नुपर्ने हुन्छ । अहिले विभिन्न ठाउँमा नापी विभागको टोलीले ग्राभिटी सर्बे र त्रिकोणमितीय प्रविधिको सर्बे पनि गरिरहेको छ ।
प्रतिक्रिया 4