Comments Add Comment

करुणा जगाउनुहोस् संसार सुन्दर देखिनेछ

साङ्ग्यो योन्जन लामा

संसार, आफु अन्सार । अर्थात हामी जस्तो छौं, हामीले भोग्ने संसार त्यही अनुसार निर्माण हुने हो । हामी खराब छौ, लोभी छौ, हिंस्रक छौ, व्यभिचारी, इष्र्यालु छौ भने हाम्रो संसार सुरक्षित हुँदैन । हाम्रो संसारमा खुसी हुँदैन । हाम्रो संसारमा उमंग हुँदैन । हाम्रो संसारमा प्रेम हुँदैन ।

बरु निरासा, भय, कुण्ठा, क्रोध, लोभले भरिएको हुनेछ । यस्तो संसारलाई नर्क लोक भनेर पनि व्याख्या गर्न सकिन्छ । धर्म-दर्शनले विभिन्न लोकको परिकल्पना गरेको छ । त्यसमध्ये एक हो, नर्क लोक । अर्थात प्रेत लोक । यस्तो लोकमा मान्छेलाई चैन हुँदैन । सुख हुँदैन । निर्भय हुँदैन ।

कुन लोकमा प्रवेश गर्ने ? कुन लोकमा बस्ने ? त्यो कुरा अरुले होइन । हामी आफैले निर्धारण गर्न सक्छौं ।

हामी भन्छौ नि, यमराजले हामीलाई नर्क लोकमा पुर्‍याउँछ । त्यो डरलाग्दो र निर्दयी यमराज भने हामीभित्रै छ । हामी भित्रको घृणा, अहंकार, दम्भ, लोभ, मोह, इष्र्या, रिस, डाह, वासना नै त्यो कु-तत्व हो, जसले हामीलाई नर्कमा पुर्‍याउँछ ।

मनभित्र बुद्ध पनि हिटलर पनि

हरेक मान्छेभित्र बुद्ध हुन्छ । र, हरेक मान्छेभित्र हिटलर पनि हुन्छ । हरेक मान्छेमा करुणा, प्रेम, स्नेह हुन्छ । यसैगरी हरेक मान्छेभित्र लोभ, मोह, इष्र्या पनि हुन्छ । यी दुवै कु-तत्व र सु-तत्वले मनमा बास बस्छ । मनमा राज गर्छ । अब कसलाई मनमा राख्ने र कसलाई मनबाट बहिष्कार गर्ने ?

यो कुरा चाहि हो हामीले जान्नुपर्ने ।

मनभित्रका लोभ, इष्र्य, दम्भलाई जति सक्छौ बहिष्कार गर्नुपर्छ । शरीरभित्र प्रवेश गर्नै दिनुहुन्न । जब यि कु-तत्वहरु मनबाट अलग हुन्छ, शरीर शुद्ध हुन्छ । यो एक शुद्धिकरणको विधी पनि हो ।

करुणाको मूल फुटाउनुपर्छ

मनलाई शुद्ध गरिसकेपछि त्यहाँ एउटा स्रोत फेला पर्छ । त्यो स्रोत करुणाको हो । प्रेमको हो । मैत्रियको हो । मनभित्र त्यही करुणाको मूल फुटाउनुपर्छ । मनलाई करुणाले सिंचित गर्नुपर्छ । तब हामी करुणामय बन्छौ । कसैको दुःखमा, कसैको पीडामा, कसैको अभावमा, कसैका समस्यामा हाम्रो मन पग्लिन्छ ।

मनभित्र करुणाको मूल फुटाउनु भनेको मनलाई हराभरा बनाउनु हो । कोमल र मुलायम बनाउनु हो । उर्वर बनाउनु हो । यस्तो मनमा दया, समर्पण, त्याग, इमान्दारीता हुन्छ ।

जब मनको शुद्धिकरण गरेर करुणाले भरिपूर्ण बनाइन्छ, तब हामी सबैसँग मित्रवत् हुनसक्छौ । सबै हामीलाई आफन्त लाग्छन् । सन्तान लाग्छन् । कोही बैरी हुँदैनन् । कोही दुश्मन हुँदैनन् । कोही प्रतिस्पर्धी हुँदैनन् । तब हामीमा मोह, डाह, इष्र्या घमण्ड जाग्दैन ।

संसार सुन्दर देखिनेछ

एउटी आमाले काखमा खेलाइरहेको बच्चालाई कति ममतामय स्पर्श गर्छिन् ? कति प्रेमले हुर्काउँछिन् ? कति स्नेहले अंगालो हाल्छिन् । यसरी संसारलाई नै आफ्नो करुणामय भावले हेरियो र बुझियो भने सबै आफ्ना लाग्छन् । र, सवैलाई हामी प्रेम गर्न थाल्छौ । हाम्रो इष्र्य, दम्भ आफै नष्ट भएर जानेछन् ।

मनमा करुणा हुनुपर्छ । मैत्रियको भाव जगाउनुपर्छ । संसार आफ्नै लाग्नेछ । संसार सुन्दर लाग्नेछ ।

हामी आखिर रिस, राग किन गरिरहेका छौ ? किन दुश्नमी मोलिरहेका छौ ? किन झगडा गरिरहेका छौ ? किनभने हामीभित्र नकारात्मक तत्व हामी भइरहेका छन् । ति नकारात्मक तत्वले सधै हामीमाथि अधिन जमाउन खोज्छ । हामी भित्रको राम्रा तत्वहरुलाई थिच्न र उछिन्न खोज्छ । हरेकजसो समय हामीभित्र यस्तो अन्र्तद्वन्द्व भइरहेकै हुन्छ । तर, कसलाई जिताउने र कसलाई हराउने भन्ने कु्रा हाम्रो हातमा छ ।

हामीले आफुभित्रको खराब तत्वलाई जब बहिष्कार गर्छौं, तब हामीभित्र करुणा र मैत्रिय भाव पैदा हुन्छ । यसले नै त हामीलाई सुखी र खुसी दिलाउने ।

इष्र्या, दम्भ पालेर झगडा गरिरहँदा त्यसले दिने निचोड के हो ? हामी कस्तो युद्ध जित्न खोजिरहेका छौ ? हामी कहिलेसम्म यस्तो लडाई लडिरहनेछौ ? यसको उपलब्धी के हो ?

मृत्युको मुखमा पुग्दासम्म हामीले यसको जवाफ फेला पार्ने छैनौ । किनभने यो अन्त्यहिन लडाई हो । इष्र्या, दम्भ र लोभको लडाई कहिल्यै टुगिंदैन । अर्को सत्य के पनि हो भने, यसले कहिले पनि सकारात्मक नतिजा दिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment