Comments Add Comment

प्रधानमन्त्रीले पुर्ख्यौली थलो सम्झिए : भित्रिया र खमारेमा आँप, कटहर छन् कि छैनन् ?

९ जेठ, काठमाडौं । सधैं राष्ट्रिय राजनीति र विकासका ठूला ठूला नीति र योजनाका बिषयमा छलफल हुने प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारको १५ मिनेट फरक खालको छलफल भयो । प्रधानमन्त्रीले आफ्नो जन्मस्थानको चर्चा र बाल्यकालका साथीसंगीलाई सम्झना गरे ।

चुहानडाँडा विमानस्थलका लागि रकम माग गर्नका लागि आठराई गाउँपालिकाबाट एउटा समूह प्रधानमन्त्री निवासमा आएको थियो । त्यहाँ आएका अधिकांश सहभागी आठराई मै बसोबास गरेकाहरु र केही झापा र राजधानीमा बसोबास गरिरहेकाहरु थिए ।

‘के छ आठराईको खबर ?’ भन्दै प्रवेश गरेका प्रधानमन्त्रीसमक्ष आगन्तुकले आठराई विमानस्थलका लागि रकम छुट्याउन माग गरे । ‘नीति कार्यक्रममा आइसकेको छ । बजेटका लागि चिन्ता नगर्नु’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

चुहानडाँडाँ विमानस्थलमा रकम माग गरिएको कागज लिएर प्रदेशसभा सांसद तेजमान कङ्दङ्वा प्रधानमन्त्री नजिक गए । तेजमानको हात समाएर प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई चिनाउदै भने, ‘उ मेरो गाउँले भाइ हो । अहिले प्रदेशसभाको सांसद ।’ प्रधानमन्त्रीले फेरि सम्झिए, ‘अर्का तेजबहादुर कङदङ्वा पनि हुनुहुन्छ । वहाँ चाहीँ विर्तामोडमा हुनहुन्छ । तेजप्रसाद कङदङ्वा चाहिँ मेरै सामु हुनुहुन्छ ।’

प्रधानमन्त्रीले आफूले बाल्यकालमा पानी खाने गरेको इवाकै चुच्चेधारो सम्झिए । ‘उ बेला चुच्चेधाराको पानी अजुंलीमा थापेर खान कम्ती मजा हुँदैन थियो’ उनले भने ‘अहिले सुकेर तिर्र….मात्र पानी आउँदो रहेछ ।’

प्रधानमन्त्रीले संक्रान्तिको याकुम्बा गढी पनि स्मरण गरे । ‘गढी के भएछ त ? त्यहाँबाट आरोलो लागेपछि त थुप्रै पानीका मुल थिए पहिला त’, उनले भने ।

प्रधानमन्त्रीको यो जिज्ञासा सुनेपछि पूर्वप्रधानाध्यापक आरसी थपलियाले सुरु गरे ‘जतासुकै मोटरबाटो खनियो । यसले पानीको मुललाई धक्का दियो । मुलहरु अन्तै सरे ।’

भीष्म थपलियाले थपे, ‘भैंसी पाल्ने चलन हरायो । जसले गर्दा आहाल मासिए । आहाल नभएपछि पानी जम्मा हुन र रसाउन पाएन । पानीका मुल सुके ।’ टिका उप्रेतीले भने ‘पहिला जस्तो साउने झरी पर्न छाड्यो । त्यतिबेला साउने झरी हप्तादिनसम्म विस्तारै बर्सिरहन्थ्यो । त्यसले जमिनको भित्री भागसम्म पानी जान्थ्यो । अहिले दर्र…पानी पर्छ जमिनको सहतमै बगेर सकिन्छ ।’

भीम घिमिरेले पनि भने ‘अहिले सानो मुलकतै भेटिए मानिसले सुविधाका लागि पाइप घुसाएर घर मै पानी पु¥याउँछन् । जसले गर्दा पानीको प्राकृतिक बहाव मासियो । अनि हामी काकाकुल भयौं ।’

प्रधानमन्त्री ओलीले आठराईमा एउटा फुटबल मैदानको प्रस्ताव गरे । ‘तपाईंहरुसँग छ भने जग्गा दिनुहोस । हैन भने म जग्गा दिन्छु’ उनले भने ‘छन् त चुहानडाँडाँमा उप्रेतीटार, थपलियाटारतिर ।’

त्यसपछि प्रधानमन्त्री इवाको भित्रिया र खमारेको बगैंचाबारे चासो राखे । ‘हरेक बर्ष असार २२ गते कटर टिप्ने दिन हुन्थ्यो,” प्रधानमन्त्री ओलीले भने ‘मैले पनि धेरै पटक यहाँका आँप कटहर टिपेको छु । खाएको छु । अहिले छन् कि छैनन् भित्रिया र खमारेमा आँप, कटहर ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment