Comments Add Comment

उर्लाबारीका ४ क्रसर उद्योगलाई प्रतिबन्ध, मेयरकोलाई छुट !

१० जेठ, विराटनगर । मापदण्ड पूरा नगरी खुलेका क्रसरका कारण बस्ती जोखिममा परेको भन्दै उर्लाबारी १ का वासिन्दा दुई महिना यता स्थानीयबासी रिले अनसनमा छन् ।

सुरुमा स्थानीयको आन्दोलनलाई चासो नदिएको जिल्ला समन्वय समितिले शुक्रवार पाँच मध्ये ४ वटा क्रसरलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ । जिल्ला अनुगमन समितिको बैठकले मापदण्ड पूरा नगरे पनि जनप्रतिनिधिको लगानी रहेको क्रसरलाई निर्वाध रुपमा चल्न दिएको छ ।

पूर्वेली क्रसरमा उर्लाबारी नगरपालिकाका मेयर खडग फागोको लगानी रहेको स्थानीयको दाबी छ । मेयरकै लगानी भएकै कारण अनुगमन समितिले बन्द गर्ने आँट नगरेको स्थानीयको आरोप छ ।

तर जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेल पूर्वेली क्रसरप्रति स्थानीयको विरोध नभएको बताउँछन् । ‘हामीले अनुगमन गर्दा पूर्वेली बन्द गर्नुपर्ने देखेनौं’ उनी भन्छन् ‘मोरङका कुनै क्रसर मापदण्ड पूरा गरेका छैनन् । सबैलाई साउनसम्म व्यवस्थित हुन निर्देशन दिएका छौ ।’ पूर्वेली क्रसरले सर्वसाधारणलाई असर गरेको नदेखिएको उनको भनाइ छ ।

स्थानीय वासिन्दाले भने पाँचवटै क्रसरका विरुद्ध आन्दोलन गरेको बताउछन् । ‘हाम्रो आन्दोलन पाँचवटा क्रसर यहाँबाट हटाउनु पर्छ भन्ने हो’ स्थानीय गोपाल रिमाल भन्छन् ‘चारवटा मात्र बन्द गर्ने निर्णय भएको सुन्दैछौं ।’

वडा नम्बर १ मै सञ्चालित पञ्चेश्वर क्रसर उद्योगका सञ्चालक पनि प्रशासनले अन्याय गरेको बताउँछन । पूर्वेली र हाम्रो क्रसर सँगसँगै सञ्चालनमा आएका हुन्’ पञ्चेश्वरका सञ्चालक प्रकाश खड्गी भन्छन् ‘धेरै मापदण्ड पूरा गरेको हाम्रो मात्र बन्द गर्न मिल्दैन ।’

बैठकमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी नयाँ तीनवटा उद्योग र शुक्रबार विवादमा परेको पञ्चेश्वर क्रसर तत्काल बन्द गर्ने निर्णय भएको बताए । मेयरको क्रसरका विषयमा आफूलाई जानकारी नभएको उनको भनाइ छ ।

मेयर भन्छन् : एक रुपैयाँ नाफा मागेको छैन

उर्लाबारी नगरपालिकाका मेयर खडक फागो पूर्वेली क्रसरमा आफ्नो सेयर रहे पनि नाफा घाटा केही नलिएको बताउँछन् । पाँच वर्षअघि उद्योग दर्ताका क्रममा आफूले सहयोग गरेका कारण सञ्चालकहरुले केही सेयर दिने आश्वासन दिए पनि आफूले कुनै फाइदा नलिएको बताएका हुन् ।

‘पाँच वर्ष भयो होला, त्यतीबेला शुशिल कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँको स्वकीय सचिव लक्ष्मण ढकाल हुनुहुन्थ्यो’ फागो भन्छन् ‘माथिबाट लाइसेन्स ढिलो भयो भनिदिनु सेयर दिन्छौं भनेर पूर्वेलीकोहरुले भनेको हो मलाई, मलाई राख्यो राखेन आफ्नो ठाउँमा छ । तर मैले भन्दिन्छु भनेर भन्दिएँ ।’ फागोकै सक्रियतामा उक्त क्रसर उद्योगले लाइसेन्स पाएको थियो ।

‘मैले नाफा मागेको छैन । दिएको पनि छैन’ उनले भने ‘सेयर छ भन्ने जानकारी छैन ।’ क्रसर सञ्चालकहरुलाई सहयोग गरेको भए पनि केही नलिएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment