
१३ जेठ, काठमाडौं । गृह मन्त्रालयले कानुन र शान्ति विरोधी गतिविधि कुनै पनि सर्तमा क्षम्य नहुने जनाएको छ ।
सोमबार अपरान्ह गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले विज्ञप्ति जारी गर्दै हिंसात्मक तथा विध्वंसात्मक गतिविधिमा संलग्न नहुन विप्लव समूहलाई चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण राजनीतिक अभ्यासमार्फत आमनागरिकका मुद्दालाई सम्बोधन गर्ने संवैधानिक प्रावधान विद्यमान रहेको अवस्थामा निर्दोष नागरिकको जीउ धनमाथि सांघातिक आक्रमण गर्ने, सर्वसाधारणलाई आतंकित हुने गरी विष्फोट गराउने, सरकारी सम्पत्तिमा क्षति पुर्याउने जस्ता अमानवीय एवं जघन्य घटनाप्रति गृहमन्त्रालय घोर भत्र्सना गर्दछ ।’
विज्ञप्तिमा मुलुकभर शान्ति सुरक्षाको यथोचित प्रबन्ध भएको दाबी गर्दै कुनै भ्रममा नपरी नियमित क्रियाकलापमा संलग्न हुन पनि आग्रह गरिएको छ ।
‘समाजमा हुने सबै प्रकारका गैरकानूनी एवं शान्ति विरोधी गतिविधिलाई सहयोग नगर्न, नगराउन र समृद्ध नेपालको निर्माण अभियानमा हातेमालो गर्न पनि गृह मन्त्रालय नागरिकमा सविनय अनुरोध गर्दछ’, सुवेदीले भनेका छन् ।
सोमबार नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको थियो । बन्दको पूर्वसन्ध्यामा राजधानीको विभिन्न ठाउँमा भएको विष्फोटमा ७ जनाको मृत्यु र ६ जना घाइते भएका थिए ।
घटनाको योजनामा संलग्न १५ जनालाई कारबाहीका लागि नियन्त्रणमा लिइएको समेत गृहले जनाएको छ ।
हेर्नुहोस् विज्ञप्ति
प्रतिक्रिया 4