Comments Add Comment

किन बदनाम बन्दैछ शहर ?

गाउँ राम्रो कि शहर ? हामी निर्धक्कसाथ भन्छौ-गाउँ । शहरमा बस्न रमाइलो कि, गाउँमा ? हामी ढुक्कसाथ भन्छौ-गाउँ ।

गाउँ र शहरबीच तुलना गर्दा अक्सर हामी गाउँ रोज्ने गर्छौ । गाउँको हावापानी, वातावरण, हार्दिकताको कुरा गरेर हामी थाक्दैनौ । हामी ग्रामिण परिवेशमै हुर्कियौं । त्यही कारण पनि हामीलाई गाउँको स्वाद र शैली बढी रुचीकर लाग्छ ।

तर, हामी जतिसक्दो गाउँ छाड्न चाहन्छौ । सेवा र सुविधा खोज्दै हामी शहरमा थुप्रिन्छौ । दुर्गमबाट, सुगमतिर । पहाडबाट तराईतिर । अविकसितबाट विकसिततिर । गाउँबाट शहरतिर । समग्र मानव समुदायकै प्रवृत्ति हो यो । हामी सुविधाभोगी छौ । ऐश-आरमको जीवन खोजिरहेका छौ । त्यही कारण हामीलाई शहरको वैभवले तान्छ । हामी गाउँबाट शहरतिर पस्छौ ।

यद्यपी ‘गाउँ नै राम्रो’ पनि भन्न छाड्दैनौ, शहरको मोहमा फस्न पनि छाड्दैनौ ।

गाउँप्रति हामी जसरी साहनुभूति प्रकट गर्छौं, ठीक त्यसैगरी शहरप्रति हामी रोष प्रकट गरिरहेका हुन्छौ । ‘आहा ! गाउँ’ भन्छौ, ‘छिःछिः शहर’ भन्छौ ।

जब-जब हामी शहरका कुरा गर्छौं, त्यहाँको विसंगत पाटोलाई खोतल्ने गर्छौ । शहरको अव्यवस्था, शहरको कोलाहाल, शहरको प्रदूषण, शहरको दुर्गन्ध, शहरको धपेडी । शहरको प्रसंग उप्काउनसाथ हामीले गाली गर्ने कुरा यिनै हुन् ।

हामीलाई शहरको रहनसहन प्रिय लाग्दैन । हामीलाई शहरको मानिसहरु मित्रवत् लाग्दैनन् । हामीलाई शहर आफ्नो लाग्दैन । हामी घर शहरमै बनाउँछौ । तर, त्यही शहरलाई हामी गाली गर्छौ । शहरप्रति किन यत्ति धेरै पक्षपाती ? शहरप्रति किन यति धेरै वितृष्ण ? शहरप्रति किन यति धेरै रोष ?

किन बदनाम शहर ?

गाउँले हुन् वा शहरिया, सबैले गाली गर्ने शहरलाई नै हो । खासगरी शहरको असुविधा र अव्यवस्थालाई लिएर हामी शहरको वदनाम गरिरहेका हुन्छौ ।

शहर भन्नसाथ हामी यहाँको दुर्गतीबारे चर्चा गर्न थाल्छौ । दुर्गुणवारे चर्चा गर्न थाल्छौ । शहरमा फोहोर हुन्छ, धूलो-धुँवा हुन्छ, दुर्गन्ध हुन्छ, हो-हल्ला हुन्छ, चाप हुन्छ, जाम हुन्छ । शहरमा अनेकथरी मान्छे हुन्छन्, अनेकथरी धन्दा हुन्छ, अनेकथरी स्वार्थ हुन्छ ।

शहर महंगो हुन्छ, खर्चिलो हुन्छ, बजारमुखी हुन्छ । शहरमा मानवता हुँदैन । शहरमा सौहार्द्धता हुँदैन । शहरमा हार्दिकता हुँदैन । शहरमा सद्भाव हुँदैन । शहरमा सुरक्षा हुँदैन ।

जब-जब शहरको प्रसंग आउँछ, हामी यस्तै कुराहरु झिकेर शहरको वद्नाम गर्न थाल्छौ । हामी यही थुप्रन्छौ । यही घरबार बसाउने आकंक्षा राख्छौ । तर, गाली गर्न पनि छाड्दैनौ ।

शहर हाम्रा होइनन् ?

शहरमा बस्छौ, शहरलाई गाली गर्छौ । यस्तो लाग्छ, यत्तिका भिड लाग्ने शहरमा कोहीपनि शहरप्रति सद्भाव राख्दैनन् । शहरलाई आफ्नो मान्दैनन् । के शहर हाम्रा होइनन् ?

शहर जतिसुकै भद्रगोल होस्, जतिसुकै लथालिंग होस्, हामीलाई यसबाट कुनै पीडावोध हुँदैन ।

त्यही कारण जथाभावी फोहोर फाल्छौ, जथाभावी ढल मिसाइदिन्छौ, जथाभावी दिसापिसाब गरिदिन्छौ । किनभने हामीलाई शहर हाम्रो हो भन्ने लाग्दैन । शहर विरानो लाग्छ । शहर अर्काको लाग्छ ।

यदि त्यस्तो नलाग्ने भए हामी आफु बस्ने शहरप्रति किन सद्भाव राख्दैनौ ? शहर सफा होस्, सुन्दर होस्, सुगन्धित होस् भन्ने सदिक्षा राख्दैनौ ?

हामी त बाटोमा फुल्दै गरेको फूल चुड्छौ । बाटोमा रोपिएको बिरुवा निमोठिदिन्छौ । बाटोमा हुर्कदै गरेको बुट्यान भाँचिदिन्छौ ।

ति फूलहरु, ति रुखहरु, जसले शहरको शोभा हुन् । तर, हामीलाई मतलब छेन । किनभने शहरप्रति हामी वैरभाव राख्छौ । शहर राम्रो भन्नलाई, शहर हाम्रो भन्नलाई गाउँसँग तुलना गर्नैपर्छ भन्ने छैन । हामी जहाँ बस्छौ, त्यो हाम्रो भूगोल हो । त्यो हाम्रो माटो हो । त्यो हाम्रो हावापानी हो । त्यो हाम्रो पर्यावरण हो । त्यो हाम्रो रुखपात हो । त्यो प्रकृति हाम्रो हो । अतः प्रकृतिलाई जति शृंगारपटार गर्न सकिन्छ, हामीले फेर्ने हावा उत्तिनै स्वच्छ हुन्छ, सुगन्धित हुन्छ ।

आज शहर बदनाम छ । आज शहर प्रदूषित छ । आज शहर दुर्गन्धित छ । किन ?

किनभने शहरप्रति हाम्रो सद्भाव भएन । शहर हामीलाई आफ्नो लागेन । तर, सबै शहरवासीले शहरको सौन्दर्य, पर्यावरण जोगाउने र बढाउने प्रयत्न गर्ने हो भने हाम्रो शहर कति सुसंस्कृत र सभ्य हुन्छ ?

यो शहरले हामीलाई सुुविधा दिएको छ । किनमेल गर्ने, कामधन्दा गर्ने, उद्यम गर्ने, व्यवसाय गर्ने सबै किसिमको अनुकुलता दिएको छ । शहरलाई हामीले के दियौ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

छोरा ! उठ न

Advertisment