Comments Add Comment

भेडेटारको झल्को दिने भोजपुरको सुन्तले डाँडा

१८ जेठ, भोजपुर । मोटरबाटो विस्तार भएसँगै पहाडमा सम्भावनाका ढोकाहरु खुल्दैछन् । भोजपुर नगरपालिका क्षेत्रमा रहेको सुन्तले डाँडा आन्तरिक र वाहृय पर्यटकको चाप दिनदिनै बढ्न थालेको छ ।

समुन्द्री सतहदेखि २२ सय मिटर उचाइमा पर्ने यो ठाउँ थकान र आलस्यतालाई बिर्साउने थलो बन्दैछ ।

धरान र धनकुटाको बीचमा पर्ने भेडेटारको झझल्को दिलाउने यो ठाउँको प्राकृतिक सुन्दरताले त्यहाँ पुग्ने जोकोहिलाई पनि मन लोभ्याउँछ ।

भोजपुर बजारबाट पैदल २ घण्टा लाग्ने करिब ११ किलोमिटर टाढा यस ठाउँमा सावरी साधनबाट आधा घण्टामै पुगिन्छ । सदरमुकाबाट नजिकै भएकाले पनि छुट्टीमा घुम्न जाने तथा साथीभाइबीच रमाइलो गर्न जानेको संख्या उत्तिकै छ ।

सुन्तले डाँडाबाट मकालु, कञ्चनजंघा हिमालको मनमोहक सौन्दर्य तथा अन्य थुप्रै हिमशृखंलाहरु प्रष्टै देख्न तथा अवलोकन गर्न सकिन्छ । उदाउँदो र अस्ताउँदो सूर्यको दृश्यावलोकनबाट आनन्द त्यत्तिकै मिल्छ । फराकिलो नागी, हरियाली जंगल, सिजनमा फुल्ने गुराँस तथा वरपरको प्राकृतिक दृष्यहरुको यहाँको मुख्य आकर्षणको रुपमा रहेको छ । हिउँ खेल्ने तथा रमित हेर्न पनि मानिसहरुको जमघट हुने गरेको छ ।

वर्षैभरि चिसो हुने यस ठाउँमा लोकल कुखुराको तिते, तोङ्बा, उसिनेको आलु, राँगाको सुकुटी, रायोको साग लगायतका खानेकुराका परिकारहरु विशेषताका रुपमा छन् । प्रायः शनिबार तथा विदाको दिनमा रमाइलो गर्ने, रिफ्रेस हुने र घुमघाम गर्न आउनेको चाप बढी हुने गरेको स्थानीय मचिन्द्र राई बताउँछन् ।

नयाँ वर्ष तथा विशेष पर्वहरुमा बनभोज खान आउनेहरु पनि बढ्दो छ । सुन्तलेमा सेप्टेम्बर १५ देखि डिसेम्बर पहिलो हप्तासम्म घुमफिर गर्ने उपयुक्त मौसम हो ।

भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आले पर्यटकीय क्षेत्रको सम्वर्द्धन र प्रवर्द्धन नै आर्थिक विकासको मेरुदण्ड भएकाले आफ्नो नगर क्षेत्रका पर्यटकीय स्थलहरुको पहिचान गरी यसलाई योजनावद्ध ढंगबाट विकास गर्न नगरपालिकाले योजना बनाइरहेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment