Comments Add Comment

विवादित होटल उद्घाटन नगरी फर्किए प्रधानमन्त्री

१८ जेठ, पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पुग्नुभन्दा डेढ घन्टा अगाडि नै लेकसाइडस्थित स्वस इन्टरनेसनल होटल सरोबरमा चहलपहल थियो । सुरक्षा व्यवस्था कडा बनाएको थियो । आयोजकले भव्य तयारी गरेका थिए । होटल सञ्चालकले पाहुना तथा विभिन्न क्षेत्रका व्यक्तिलाई प्रधानमन्त्रीले साढे ९ बजे होटलको उद्घाटन गर्ने भनेर निम्ता बाँडेका थिए ।

पानै ११ हुनै लाग्दा प्रधानमन्त्री ओली होटल सरोबर प्रांगणमा प्रवेश गरे । कार्यक्रम सञ्चालकले हलमा खचाखच पाहुनालाई प्रधानमन्त्री होटल प्रवेश गरिसकेको र औपचारिक कार्यक्रमसँगै होटल उद्घाटन हुने जानकारी दिए । खेलकुदमन्त्री जगत विक, प्रदेशका मन्त्री र सांसद कार्यक्रम हलको मञ्चमा थिए ।

तर ओली कार्यक्रम हलमा गएनन् । कार्यक्रम सञ्चालकले उद्घोष गरे, ‘प्रधानमन्त्रीज्यू आराम गर्दै हुनुहुन्छ । १५ मिनेटपछि कार्यक्रम सुरु गर्ने जानकारी गराउँदछौं ।’ हलबाट निम्तालु बाहिर निस्के ।

२५ मिनेट जति भीआपी कक्षमै बसेर प्रधानमन्त्री ओली उद्घाटन नै नगरी होटलबाट बाहिरिए । होटल मापदण्ड विपरीत बनेको र विवादित समेत बनिनसक्ने सूचना नेकपा नेताहरुले दिएपछि प्रधानमन्त्री ओली होटल उद्घाटन नगरी बाहिरिएको बताइएको छ ।

जबकी प्रधानमन्त्रीबाट समुद्घाटन गरिएको शिलालेख समेत तयार थियो ।

पोखरा महानगरका मेयर मानबहादुर जिसी भने मापदण्ड मिचेर बनाएको होटलमा आफू नजाने प्रतिक्रिया दिएका थिए ।

सबै तलाको अनुमति नै नलिएको अवैध होटल उद्घाटन गर्न प्रधानमन्त्री आउने खबरसँगै आलोचना बढेको थियो । गएको पुसदेखि सञ्चालनमा आएको होटल शनिबार औपचारिक उद्घाटन गर्ने कार्यक्रम थियो । होटलमा पुगेर प्रधानमन्त्री ओलीले पोशाक परिवर्तन गरेर स्काउटको लगाए ।

यस्तो छ उद्घाटन नगर्नुका कारण

पोखरा लेकसाइडमा भर्खरै निर्माण सकिएर सञ्चालनमा आएको ९ तले होटल हो, स्विस इन्टरनेसनल होटल सरोबर जबकी साढे २ तलाभन्दा अग्लो भवन बनाउन नपाइने पोखराको मापदण्ड छ ।

होटलका अध्यक्ष प्राडा भरतराज पहारी हुन् । विशेष अदालतबाट भ्रष्टाचारको मुद्दामा उनी दोषी ठहर भएका थिए ।

अझ रोचक छ पोखरा महानगपालिकाले पोखरामा निर्माण हुने भौतिक पूर्वाधार र खोलानाला, नदी र तालसम्मको मापदण्ड कायम गर्न विज्ञ समूह बनाएको थियो, जसको संयोजक पहारी नै थिए ।

त्यसबेला मापदण्ड परिवर्तन गरेर नियम मिच्नेहरुलाई उन्मुक्ति दिने विज्ञ समूहको संयोजक पहारीलाई बनाइएको भन्दै महानगरको आलोचना भएको थियो । पहारी संयोजक रहेको समितिले जग्गाको क्षेत्रफलको आधारमा उचाइ कायम हुने गरी महानगरलाई बुझाएको प्रतिवेदन पास भएको छ ।आफैंले बुझाएको प्रतिवेदनअनुसार पनि होटल सरोबरले मापदण्ड पूरा गर्दैन । अन्तर्राष्ट्रियस्तरको भनिएको यो होटलका सञ्चाल पहारी भने पोखरामा पुरानो मापदण्ड चल्न नसक्ने र महानगरले नै विभिन्न समयमा ल्याएको मापदण्डअनुसारै आफूले निर्माण गरेको बताउँछन् ।

पहारीले भने यसबारे केही प्रतिक्रिया दिएनन् ।

होटल सरोबरलाई पाँच तारेस्तरको होटल भनिएको छ । यो होटल सञ्चालनको जिम्मा स्विस इन्टरनेसनल होटल एन्ड रिसोर्टलाई दिइएको छ ।

होटलमा १ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको लगानीकर्ताको दाबी छ । ६ रोपनी जमिनमा फैलिएको होटल स्विस शैली, परम्परा र अनुशासनलाई पछ्याउँदै निर्माण भएको लगानीकर्ता बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment