Comments Add Comment

ट्रेड युनियन अध्यक्षको चेतावनी : जनप्रतिनिधिको हुकुमी शैली स्वीकार्य छैन

२३ जेठ, काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले जनप्रतिनिधिको हुकुमी शैली स्वीकार्य नहुने बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले जनप्रतिनिधिसँग काम गर्न निजामती कर्मचारीलाई कठिन भएको बताएका हुन् । ‘जनप्रतिनिधिहरुलाई म अनुरोध गर्न चाहन्छु’, उनले चेतावनीको शैलीमा भने, ‘धेरै भ्रम नपाल्नुस् । हामी कर्मचारीहरु ऐन/कानुन अनुसार चल्नुपर्ने बाध्यतामा छौं । तर, तपाईंहरुको जंगेशैलीमा, हुकुमी शैलीमा निजामती जनशक्ति काम गर्न तयार छैन ।’

केही समययता स्थानीय तह र प्रदेशमा कर्मचारीमाथि जनप्रतिनिधिले हातपात गरेको घटना आइरहेका बेला आधिकारिक ट्रेड युनियन अध्यक्षले त्यस्ता गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका हुन् । अध्यक्ष ढकालले जनप्रतिनिधिहरुले नै आफ्नो बानी ब्यहोरोमा सुधार गर्नुपर्ने देखिएको बताए ।

अध्यक्ष ढकालले संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती कर्मचारीसम्बन्धी कानून निर्माण गर्दा आफूहरुको सल्लाह सुझाव नलिएको बताए ।

‘आधिकारिक ट्रेड युनियनको सुझाव सल्लाहमा ऐन, कानुन निर्माण गर्ने प्रस्ट भनिएको छ । यो कुरा राज्य व्यवस्था समितिका माननीयहरुले बुझ्नु भएको छैन भन्ने मलाई विश्वास छैन’, उनले भने, ‘हाम्रोमा पनि दिग्गज व्यक्तिहरु छन् भन्ने उहाँहरुलाई हेक्का छैन कि भन्ने लाग्यो ।’

संघीय निजामती सेवाको गठन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे छलफल गर्न समितिले ट्रेड युनियनलाई नबोलाएको विषय जोड्दै अध्यक्ष ढकालले यसलाई राज्य व्यवस्था समितिले आफूहरुलाई अपमान गरेको रुपमा चित्रण गरेका हुन् ।

अध्यक्ष ढकालले कर्मचारीतन्त्रमा भ्रष्टाचारी मानसिकता रहेको स्वीकार गर्दै तल्लो तहका भन्दा माथिल्लो तहमा बढी भ्रष्टाचारी प्रवृत्ति रहेको उनले बताए ।

‘कर्मचारीले भ्रष्टाचार किन गर्छ ? सचिव हुँदासम्म कहाँबाट के सामान किन्दा कति कमिसन आउँछ, के काम गर्दा कमिसन आउँछ भन्ने बुझिसकेको हुन्छ र उसले त्यो माथि पुग्दासम्म बानी छोड्दैन र तल्लो तहका कर्मचारीमार्फत आफू भ्रष्टाचार गर्छ र जीवन चलाउँछ’ अध्यक्ष ढकाल भन्छन, ‘यो अनुसन्धानको विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment