Comments Add Comment

आजका पत्रपत्रिका : अख्तियारदेखि महालेखासम्मका प्रमुख नै लिन्छन् दोहोरो सुविधा

२४ जेठ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि अनियमितता र बेथिति सबैको मुख्य प्राथमिकतामा परेको छ ।

मुख पृष्ठमा रातो मच्छिन्द्रनाथको रथको तस्वीर छापेको कान्तिपुरले भ्रष्टाचारको मिसिल नै अख्तियारबाट गायब भएको दाबी गरेको छ । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दाको मिसिल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गायब भएको हो ।

कान्तिपुरका अनुसार अख्तियारले पटक पटक मिसिल नभेटिएको जवाफ लेखेपछि सर्वोच्च अदालतले १५ दिनभित्र मिसिलसहित उपस्थित हुन आदेश दिएको छ ।

कान्तिपुरले सरकारले ल्याएका विधेयकमा देखिएको विवादलाई पनि समेटेको छ ।

सरकारले पछिल्लो समय ल्याएका विधेयक एकपछि अर्को विवादमा पर्दै गएका छन् । ६ वटा विधेयकमा अहिले चर्को विवाद देखिएको छ ।

समाचार अनुसार राहदानी, चिकित्सा शिक्षा, मिडिया काउन्सिल, वन, भूमिसुधार, मानव अधिकार आयोय ऐन संशोधन विधेयकमा चर्को विवाद छ ।

छानबिन नटुंगिँदै त्रिभुवन विश्वविद्यालय सेवा आयोगले अन्तरवार्ता सञ्चालन गरेको खबर कान्तिपुरको भित्री पृष्ठमा छ । कान्तिपुरका अनुसार नातेदार पास गराउन अनियमित तरिकाले सञ्चालन गरिएका त्रिवि सेवा आयोगका परीक्षाको अन्तरवार्ता लोकसेवा आयोगको प्रतिनिधिबिनै लिइएको पाइएको छ ।

नयाँ पत्रिकाले संवैधानिक निकायका पदाधिकारीहरुले तलबसँगै पेन्सनसमेत बुझ्ने गरेको खुलासा गरेको छ । ओली नेर्तृत्वको मन्त्रिपरिषद्ले ८ माघ ०७२ मा लाभको पदमा बस्नेले दोहारो सुविधा लिनु गैरकानूनी हुने निर्णय गरे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीनकुमार घिमिरेदेखि महालेखापरीक्षक टंकमणि शर्मासम्मले यस्तो सुविधा लिइरहेका छन् । त्यस्तै, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेल, नरेन्द्रकुमार दाहाल, वित्त आयोग अध्यक्ष बालानन्द पौडेल, प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थ, लोकसेवा सदस्य वृन्दा हाडा, श्रीपुरुष ढकाल र अशोककुमार झाले दोहोरो सुविधा लिइरहेका छन् ।

नयाँ पत्रिका लेख्छ– स्वच्छ छवि र उच्च नैतिकता भएका व्यक्तिहरु नै संवैधानिक निकायको पदाधिकारी बन्ने अपेक्षा संविधानले गरेको छ । त्यही संधिवानअन्तर्गत नियुक्त भएका पदाधिकारीहरुले तलब र पेन्सनमा दोहोरो सुविधा लिइरहेका छन् ।

यद्यपि, केही व्यक्तिले भने दोहोरो सुविधा लिएका छैनन् । त्यसमा कानून आयोगका अध्यक्ष माधव पौडेल, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, प्रदेश ५ का प्रमुख उमाकान्त झा पर्छन् । समावेशी आयोग अध्यक्ष शान्तराज सुवेदी, सूचना आयोगका अध्यक्ष कृष्णहरि बाँस्कोटा र निर्वाच आयोगका प्रमुख दिनेश थपलियाले पनि दोहोरो सुविधा लिएका छैनन् ।

लोकसेवा आयोगका अध्यक्ष मैनालीले यसबारे प्रतिक्रिया दिँदै नैतिकवान बन्दा कसैले प्रशंसा नगरेकाले दोहोरो सुविधा लिएको बताएका छन् । उनले भनेका छन्– नैतिक प्रश्न त हो । तर म पहिला आदर्शवान बन्न खोज्दा कसले प्रशंसा गर्यो ?’

अन्नपूर्णले मल अभावमाथि नजर लगाएको छ । समाचार अनुसार रसायनिक मल नपाएपछि देशभरका किसान मर्कामा परेका छन् ।

नेकपामा केपी ओलीलाई माधव नेपालले टक्कर दिएकोदेखि राउटे भेट्न टिकट काट्नुपर्ने भएकोसम्मका खबर अन्नपूर्णको पहिलो पृष्ठमा छन् ।

गोरखापत्रले विश्व बैंकको प्रक्षेपण भन्दै नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लेखेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment