Comments Add Comment

प्रदेश ५ का खोला नदी अत्यधिक दोहन, छैन अनुगमन

२४ जेठ, बुटवल । प्रदेश ५ मा नदीजन्य पदार्थमा चरम दोहन भएपछि सरोकारवालाको चासो बढेको छ ।

शुक्रबार बुटलमा आयोजित एक साक्षात्कारमा प्रदेशसभाको अर्थ उद्योग तथा वातावरण समिति सभापति दधिराम न्यौपानेले अनुगमनमा जाने निकायहरु धेरै भए पनि परिणाम नदेखिएको बताए ।

‘सबै अनुगमनमा जाने तर परिणाम केही नहुने दख्यौं’, उनले भने ‘त्यसैले हामी अनुगमनमा नजाने निर्णयमा पुगेका हौ, तर वास्तविक अनुगमनको अधिकार वातावरण समितिलाई छ ।’

प्रदेश लेखा समिति सदस्य बैजनाथ कलवारले चरम दोहनको अवस्था रहेको भन्दै यस्तै अवस्था रहिरहे साउन पछि खोलाहरुमा माटो मात्र हुने बताए । प्रदेशसभा सदस्य समेत रहेका कलवारले प्रदेश ५ मा इतिहासमै नभएको दोहन अहिले भइरहेको दावी गरे ।

उनले अनुगमनको क्रममा क्रसरहरु अवैधानिक रुपमा सञ्चालनमा रहेको पाइएको बताए । ‘कुनै पनि क्रसरको विल विजक भ्याटमा छैनन् । अवैध विलहरुको प्रयोग भइरहेको छ’ कलवारले भने ।

अन्तिम समयमा ठेकदारहरु खोलामा

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अवैध रुपमा उत्खनन रोक्ने बताए । अन्तिम समयमा ठेकदारहरु खोलामा पस्न खोज्ने बेला भएको भन्दै त्यसलाई नियन्त्रण गरिने उनको भनाइ छ ।

‘खोलामा एक्साभेटर पस्नासाथ ध्वस्त हुने गरी दोहन भयो भन्नु अधुरो टिप्पणी हो’, उनले भने ‘कहीँ कतै पेलपाल भएको रहेछ भने त्यसलाई नियन्त्रण गरिन्छ ।’

वातावरण विद प्रा.डा. नारायण कँडेलले विकास निर्माण गर्दा वातावरणीय पक्षलाई सरोकारवालाहरुले ध्यान दिन नसकेको बताए ।

बिहीबार मात्रै बुटवलको तिनाउ नदीमा बस्तीलाई नै असुरक्षित हुने गरी बुटवल उपमहानगरले नदीजन्य पदार्थ उत्खनन गर्न दिएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।

बुटवल उपमहानगरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि स्वसाम कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई तिनाउको मिलनचोकघाटबाट १७ हजार ७ सय २७ दशमलव ८ सय १६ घनमिटर नदीजन्य पदार्थ उपलब्ध गराउन अनुमति दिएको छ ।

ढुंगा गिट्टी कहाँ जान्छ थाहा छैन : स्थानीय

स्वसामले अनियमित रुपमा उत्खनन गरेको भन्दै बिहीबार मोतीपुर रानीगञ्ज क्षेत्रका स्थानीयले १५ वटा टिपर ४ वटा स्काभेटर नियन्त्रण लिएका छन् । बुटवल ११ र १६ को सीमामा उत्खनन भइरहेको छ । वारी र पारी समान रुपमा उत्खनन नभएको र मोतीपुर रानीगञ्ज क्षेत्रका स्थानीयले भने गाडी नै नियन्त्रणमा लिएका हुन् ।

‘बस्तीलाई जोखिममा पार्ने गरी अनियमित रुपमा उत्खनन भइरहेको छ, यहाँको ढुंगा गिट्टी कहाँ जान्छ त्यो पनि थाहा छैन’ मोतीपुरका अगुवा बाबुराम घिमिरेले भने ।

विमानस्थलका नाममा ढुंगा, गिट्टीको अवैध उत्खनन र बिक्री भएको स्थानीयको आरोप छ । बुटवल ११ को सार्वजनिक जग्गामा काँडेतार लगाएर डम्पिङ गरिएको छ । उपमहानगरले नै वडा नम्बर ११ र मोतीपुर क्षेत्रलाई विभेद गरेको स्थानीयको आरोप छ ।

पारीपट्टीको भागमा कुनै पनि सीमा नतोकिएको हरिहर टोल संस्थाका अध्यक्ष जंगबहादुर खत्रीले बताए । उनका अनुसार उत्खननका कारण बस्तीमा बाढी पस्ने सम्भावना अधिक छ । तिनाउकै कारण झन्डै ३ हजार बस्तीलाई असर पार्ने स्थानीयको भनाइ छ ।

बुटवल उपमहानगर वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले विवाद सामान्य भएको भन्दै समाधान गरिने बताए । उनले उपमहानगरको अनुमतिमै उत्खनन गरिएको बताउँदै विमानस्थल निर्माणमा नदीजन्य पदार्थ प्रयोग हुने बताए ।

बुटवलको तिनाउ नदीको चरम दोहन भएकाले यसमा उत्खनन नै गर्न नहुने तर्क विज्ञहरुले गर्दै आएका छन् । तर, तिनाउमा उत्खनन भने अनियमत रुपमा हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment