Comments Add Comment

शुष्मी र युकेश बने उत्कृष्ट खेलाडी

२४ जेठ, पोखरा । कराँते खेलाडी शुष्मी श्रेष्ठ र प्याराग्लाइडिङ खेलाडी युकेश गुरुङ गण्डकी प्रदेशको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गरेको ‘चौंथो पोखरा स्पोर्टस अवार्ड–२०७५’ मा शुष्मी र युकेश उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

फुल कन्ट्याक्ट कराँतेकी शुष्मीले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा हात पारिसकेकी छिन् । ८ वर्षदेखि खेल क्षेत्रमा संलग्न उनले अवार्डसँगै स्कुटर प्राप्त गरिन् । यसक्रममा उनले सफ्ट टेनिसकी प्रिति बराल र सुटिङकी श्रेया केसीलाई उछिनेकी थिइन् ।

वर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ युकेश गुरुङले बाजी मारे । प्याराग्लाइडर गुरुङले केही समयअघि इन्डोनेसियामा भएको १८ औं संस्करणको प्याराग्लाइडिङ प्रतियोगितामा रजत पदक दिलाएसँगै चर्चामा आएका थिए । उनले उपाधिसँगै मोटरसाइकल प्राप्त गरे । उक्त विधामा गुरुङसँगै फुल कन्ट्याक्ट कराँते खेलाडी रुपक नेपाली र स्क्वासका अमृत थापा मनोनित भएका थिए ।

वर्ष उत्कृष्ट प्रशिक्षक उपाधी फुल कन्ट्याक्ट कराँते प्रशिक्षक दीपक गोदारले जिते । उनले उक्त अवार्डसँगै नगद २५ हजार रुपैयाँ हात पारे । गोादारसँगै वर्ष उत्कृष्ट प्रशिक्षक विधामा ह्यान्डबल प्रशिक्षक भीमसेन शाक्य र हक्की प्रशिक्षक राजेन्द्र पाठक मनोनयनमा परेका थिए ।

उदीयमान खेलाडी अवार्ड क्रिकेटका अर्जुन कुमालले जिते । आइटिएफ तेक्वान्दोका सुस्मिता थापामगर र आर्चरीका अनुष्का शेरचनलाई पछि पारेका उनले नगद २५ हजार रुपैयाँ हात पारे ।

कास्की बाँस्केट बल संघले वर्ष उत्कृष्ट खेल संघको उपाधि चुम्यो । पत्रकारितामार्फत खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याएवापत खेल पत्रकार विनोद लामिछाने वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट विभूषित भए ।

वर्ष चर्चित खेलाडी श्रीया केसी घोषित भइन् । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एकलतर्फ स्वर्ण र टिमतर्फ रजत जितेकी थिइन् । विभिन्न विधामा मनोनित खेलाडीबाट एसएमएस भोटिङ सबैभन्दा धेरै भोट प्राप्त गर्ने चर्चित खेलाडी घोषित हुने नियमसँगै उनले उक्त विधामा जित हासिल गरेकी हुन् ।

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी चित्रबहादुर गुरुङ सम्मानित भए ।

गुरुङले चीनमा भएको ११ औँ एसियाली खेलकुद प्रतियोगितामा काश्य, तेस्रो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत र पाकिस्तानमा भएको चौंथो दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरेका छन् ।

तस्वीर: युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment