+
+
Shares

अभिभावकत्व ग्रहण गरेपछि दायित्व बिर्सिए नेताले, अनाथालयमा पुगे बालबालिका

न्यारो बडी जहाज खरिदमा पनि 'अनियमितता'

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २५ गते ६:४६

२५ जेठ, काठमाडौं । आजका पत्रिकाहरुमा सामाजिक विषयवस्तुहरु नै प्रमुख समाचारको रुपमा प्रकाशित छन् ।

नेपाल वायु सेवा निगमको न्यारो बडी जहाजमा पनि अनियमितता भएको, लोक सेवा आयोगमा १० दिनमा ५० हजारको आवेदन परेको, सरकारी अनुदानबाट धेरैजसो भूकम्प पीडितले बस्नै नमिल्ने घर बनाएको लगायतका समाचारहरु आजका पत्रिकामा छन् ।

अभिभावकत्व ग्रहण गरेका बालबालिकाको बिजोग

प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका मन्त्री र पार्टीका नेताले विद्यार्थी भर्ना अभियानको क्रममा अभिभावकत्व ग्रहण गरे पनि आफ्नो दायित्व बिर्सिएको समाचार पनि आजका पत्रिकामा पढ्न पाइन्छ । यो समाचार हो नागरिक दैनिकको ।

नागरिक समाचारमा लेख्छ- प्रधानमन्त्री, मन्त्रीलगायतले तामझामका साथ विपन्न बालबालिकाको अभिभाकत्व त ग्रहण गरे तर फर्केर काठमाडौं पुगेपछि अभिभावकले निर्वाह गर्नुपर्ने दायित्व बिर्से । त्यसैले उनीहरुबाट अभिभाकत्व ग्रहण गरिएका बालबालिका यति बेला कोही पढाइ खर्च जुटाउन यार्सा खोज्न उच्च हिमाली पाटनमा पुगेका छन् भने कोही अनाथालयको शरणमा ।

प्रधानमन्त्री ओलीले मुगुको मुगुम कर्मारोङ गाउँपालिका-८ की ठिन्ले माङ्मु लामा यतिबेला पढाइ खर्च जुटाउन यार्सा खोज्न गएको, वनमन्त्री शक्तिबहादुर बस्नेतले अभिभावकत्व ग्रहण गरेका जाजरकोटको भेरी नगरपालिका-१ कोलचौरकी शर्मिला विक अहिले काठमाडौंको एक अनाथालयमा रहेको दृष्टान्त समाचारमा प्रस्तुत गरिएको छ ।

न्यारो बडी जहाजमा पनि अनियमितता

पशुपतिनाथ मन्दिरको चल-अचल सम्पत्ति हत्याउने क्रम बढेको मुख्य समाचार छापेको अन्नपूर्ण पोष्ट दैनिकले नेपाल वायु सेवा निगमको न्यारो बडी जहाजमा पनि अनियमितता भएको समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ ।

वाइड बडी जहाजको अनियमितता छानविन गरिरहेको संसदीय समितिले चार वर्ष अगाडि किनिएका न्यारो बडी जहाजमा पनि अनियमितता भएको औंल्याएको हो । समाचारमा लेखिएको छ, ‘निगमले ल्याएका ए ३२०-२०० सिरिजका न्यारोबडीमा पनि खरिद प्रक्रिया मिचेको र बजार मूल्यभन्दा बढी रकम खर्चिएर अर्बौं रुपैयाँ हानि पुर्‍याएको समितिको ठम्याइ छ ।’

सरकारी अनुदानबाट बने एककोठे घर

कान्तिपुर दैनिकले भूकम्प पीडितलाई दिएको अनुदान रकमबाट गाउँगाउँमा एककोठे घर बनेका समाचार छापेको छ । अनुदानमा बनाइएका कतिपय घरमा त बाख्रापालन गरिएको छ । ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको अनुदानका भरमा आफुखुसी घर बनाउने धेरैजसो ग्रामीण बासिन्दाका र बस्नै नमिल्ने भेटिएका छन्,’ समाचारमा लेखिएको छ ।

यस्तै गोर्खाको धार्चे गाउँपालिका ४ लाप्राकस्थित गुप्सीपाखामा एनआरएनले बनाएको एकीकृत बस्ती स्थानीयबासीलाई निल्नु न ओकल्नु भएको समाचार पनि छ ।

नयाँ पत्रिका दैनिकले राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको समाचार छापेको छ । गौरवका आयोजनाको कामको गति सुस्त भएको र १ खर्ब ८४ अर्ब व्ययभार थपिएको समाचारमा उल्लेख छ ।

राजधानी दैनिकले लोक सेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारी पूर्तिका लागि आह्वान गरेको विज्ञापनमा १० दिनको अवधिमा झण्डै ५० हजारले अनलाइन आवेदन फारम भरेको समाचारमा छापेको छ ।

गोरखापत्र दैनिकले भक्तपुरका चारवटै नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको र यो कार्यक्रम उदघाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई स्वदेशमै रोजगारको बाटो खुला भएको भनेर बोलेको विषयलाई मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?