Comments Add Comment

विदेश पठाउने सरकारी लाइन : कोरियामा के छ ?

Photo Credit : इपीएस कोरियन भाषा परीक्षा फारम भर्न लामबद्ध युवाहरु । फाइल फोटो

२५ जेठ, काठमाडौं । शनिबार र आइतबार ९२ हजार युवाले कोरियन भाषाको परीक्षा दिँदैछन् । यीमध्ये १० हजारले मात्रै कोरिया जाने सीमा अटाउन सक्छन् । वर्षैपिच्छे कोरियन भाषा परीक्षामा सामेल हुनेको संख्या बढेको बढ्यै छ । तर, कामदारको कोटा खासै बढेको छैन । यसले प्रतिस्पर्धा कडा बन्दैछ भने युवा असफलताको कारण निराशा पनि झाँगिँदैछ ।

नेपाली पुग्ने नेपाली युवामा ‘डिप्रेसन’ लगायत समस्या पनि बढ्दो क्रममा छ । सोही कारण गत वर्षसम्म आत्महत्याको श्रृंखला पनि उकालो लागेको थियो । तर, यो वर्षबाट आत्महत्या केही कम भएको ईपीएस शाखाले जनाएको छ । सन् २०१९ मा कोरियामा एकजना मात्रै युवाले आत्महत्या गरेको जानकारी छ ।

तर, पनि कोरियन भाषा परीक्षाप्रति विदेशिन चाहने युवाको आशा बढी छ । त्यसको कारण हो, सरकारी तवरबाटै स्वच्छ ढंगबाट हुने परीक्षा र विश्वासिलो रुपमा प्रकाशित हुने नतिजा । सरकारले कोरियाबाटै वैदेशिक रोजगारीका लागि सरकारी तवरमा कामदार पठाउने गरी पहिलोपटक १२ वर्ष अगाडि हस्तक्षेप गरेको थियो ।

सरकार एकातर्फ नेपाली युवालाई स्वदेशमै रोजगारी दिने भनिरहेको छ । अर्कोतिर, कोरियन भाषा सिकाउँदै युवाहरुलाई विदेश पठाउने लाइनमा आफैंले उभ्याइरहेको छ

१२ वर्षबीचमा इम्प्लोइमेन्ट पर्मिट सिस्टम (ईपीएस) भाषा परीक्षा पास गरेर कोरिया जाने नेपालीको संख्या ६० हजार नाघेको छ ।

कोरिया पुगेकामध्ये अधिकांशले खाडी मुलुकमा भन्दा राम्रो सेवा, सुविधा, सम्मान र काम गर्ने वातावरण पाएका छन् । अहिले पनि करिब ५ हजार नेपाली कामदार कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर ‘वर्किङ भिसा’को प्रतीक्षामा छन् ।

अर्को वर्ष १० हजार ५० जना भाषा परीक्षा दिएर कोरिया जाने सूचीमा कायम हुने पक्का छ । श्रम अधिकारीहरु सरकारी स्तरबाटै नेपाली कामदार पठाउने निर्णय सही र सफल भएको यसबाट सावित भएको बताउँछन् ।

तर, सरकार एकातर्फ नेपाली युवालाई स्वदेशमै रोजगारी दिने भनिरहेको छ । अर्कोतिर, कोरियन भाषा सिकाउँदै युवाहरुलाई विदेश पठाउने लाइनमा आफैंले उभ्याइरहेको छ ।

सन् २००८ देखि सरकारीस्तरबाटै कोरियाले भाषा परीक्षा लिएर नेपाली कामदार लैजान थालेको हो । त्यसअघि म्यानपावर र व्यक्तिगत पहलमा कोरिया पुग्ने नेपाली न्यून संख्यामा थिए ।

सरकार आफैं कामदार पठाउने प्रक्रियामा संलग्न भएपछि कोरिया नेपाली युवाको सर्वाधिक आकर्षक गन्तव्य बन्यो । एकपटक भाषा परीक्षा उत्तीर्ण गरेपछि नेपालीले दुई पटक गरी नौ वर्ष आठ महिना त्यहाँ बस्न पाउँछन् । ४ वर्ष १० महिना पुगेर पहिलो पटक फर्किएपछि दोस्रो पटक कोरिया जान भने कम्प्युटरमा आधारित भाषा परीक्षा पास गर्नुपर्छ ।

हालसम्म ६० हजार भन्दा बढी युवाले ईपीएस परीक्षा पास गरेर कोरियामा पुगेर आफ्नो भविष्य कोरेको बताउँन्, ईपीएस शाखाका प्रवक्ता शोभाकर पराजुलीले अनलाइनखबरलाई जानकारी दिए ।

कोरियाले ४० वर्ष ननाघेका अदक्ष कामदारलाई आकर्षक तलब दिने गरी आफ्नो मुलुकमा लगिरहेको छ । १० वर्षमा प्रतिवर्ष औसत ६ हजार नेपाली कामदारलाई रोजगारी दिइरहेको छ ।

अहिले नेपाली कामदारको न्यूनतम तलब मासिक एक लाख ७० हजार रुपैयाँ तोकिएको छ । कोरियाले कृषि तथा उत्पादनमुलक (उद्योग) समूह विभाजन गरी कामदार लैजान्छ ।

कृषिभन्दा उत्पादनमुलक समूहबाट जानेहरुले बढी आम्दानी गर्ने गरेका छन् । अधिकृत पराजुलीका अनुसार खाडी मुलुक तथा मलेसियामा जस्तो कोरियामा कामदारले राजगारदाताबाट ठूलो कष्ट बेहोर्नुपर्दैन । सामाजिक, आर्थिक र भौतिक सुरक्षा अवस्था पनि राम्रो छ ।

वर्षैपच्छे महँगीअनुसार कामदारको तलब वृद्धि हुने गरेको छ । नेपाल सरकारले नै प्रक्रिया पुर्‍याएर पठाउने भएकाले कामदारले एक रुपैयाँ पनि अतिरिक्त शुल्क खर्चिनुपर्दैन । त्यसले खाडी मुलुक जाँदाको जस्तो ठगी हुने जोखिम शून्य बनाइएको छ ।

सरकारले कामदारको कोटा भने उल्लेख्य रुपमा बढाउन सकेको छैन । सरकारी पहल बलियो नहुँदा कोरियाले नै आफ्नो आवश्यकतामा आधारित भएर नेपाली कामदार लगिरहेको छ ।

कोटा कम हुँदा पनि हरेक वर्ष करिब ७० हजार नेपाली युवा कोरिया जान भाषा परीक्षामा सहभागी हुन्छन् ।

हाल उत्तरपुस्तिका रेजा लगाएर ‘म्यानुअल’रुपमा दिनुपर्ने परीक्षा अगामी वर्षबाट कम्प्युटरमा आधारित हुनेछ

कोरिया जान वर्षमा झण्डै ९० हजार युवाले कोरिया जान भाषा परीक्षा दिने गरेका छन् । त्यसको नतिजा पनि कोरियाले नै प्रकाशित गर्छ । सोही कारण परीक्षाको निष्पक्षताप्रति नेपाली युवामा गहिरो विश्वास देखिन्छ ।

कोरिया पुगेका कामदारलाई रोजगारदाताले रुचाएमा उतैबाट श्रम स्वीकृति नवीकरण गर्न सकिन्छ । त्यस्ता कामदारलाई कोरियाले ‘प्रतिबद्ध कामदार’का रुपमा भिसा दिइने गरेको छ ।

पाँचवर्षे भिसामा गएर उत्कृष्ट काम गर्नेहरुले थप पाँच वर्षको कामदार भिसा सजिलै पाउने व्यवस्था कोरिया सरकारले गरेको छ । त्यसका बावजुद कोरिया पुगेका करिब दुई प्रतिशत नेपाली युवा अवैध रुपमा -लुकेर) काम गरिरहेको अनुमान छ ।

भिसा अवधि सकिएपछि पनि नफर्किने, कम्पनी परिवर्तन गरेर काम गर्ने र अपराध गरेर फरार हुने नेपालीको संख्या कोरियामा अन्य मुलुकका कामदारको तुलनामा भने कम छ ।

‘दक्षिण कोरिया नेपाली कामदारको रोजाइमा परेको समस्या कम र अवसर तथा ज्याला ज्यादा भएकाले नै हो,’ प्रवक्ता पराजुली भन्छन्, ‘कमाइ राम्रो हुने भएकाले सकेसम्म कोरिया नै जाउँ भन्ने इच्छा धेरै युवामा देखिन्छ ।’

कोरियाले कामदार भर्तिलाई प्रभावकारी र विश्वसनीय आफ्नो परीक्षा प्रणालीलाई वैज्ञानिक पनि बनाउँदै लगेको छ । आगामी वर्षबाट कोरियन भाषा परीक्षाको मोडालिटी परिवर्तन हुँदैछ । आगामी वर्ष हुने परीक्षामा परीक्षार्थी पूर्ण रुपमा कम्प्युटरबाटै परीक्षा दिनुर्पेछ । हाल उत्तरपुस्तिका रेजा लगाएर ‘म्यानुअल’रुपमा दिनुपर्ने परीक्षा अगामी वर्षबाट कम्प्युटरमा आधारित हुनेछ ।

यसैवर्षबाट सीप परीक्षाको फम्र्याट परिवर्तन भएको छ । अहिले कृषि क्षेत्रमा कोरिया जानेले ९० नम्बरको भाषा परीक्षा पास गरेर ११० नम्बरको पूर्णाङ्कमा सीप परीक्षण उत्तीर्ण गर्नुपर्छ । उत्पादनमूलक क्षेत्रमा जानेले भाषा र सीपमा १००/१०० पूर्णाङ्कमा परीक्षा दिनुपर्छ । सीपमा जाँच दिन भाषा परीक्षामा पास हुनैपर्छ ।

राजधानी सोलस्थित नेपाली दूतावासमा साढे तीन वर्ष श्रम सहचरी रहेका अनिलकुमार गुरुङ डिप्रेसन लगायतका समस्याहरु नेपाली कामदार आफैं, उनीहरुका आफन्त र साथीभाइका कारण उत्पन्न भइरहेको बताउँछन् ।

‘राम्रो कमाइ हुने सोचले कोरिया पुगे पनि त्यहाँको परिवेशमा भिज्न नसक्नेहरुलाई बढी समस्या पर्छ । हाम्रो परिवेशभन्दा विलकुल फरक ठाउँमा पुग्दा अनेकन भावना आउन सक्छन् । त्यहाँको जीवनशैलीसँग भिज्न नसकेपछि कतिपय डिप्रेसनमा जान्छन्,’ उनी भन्छन्, ‘यही डिप्रेसनले कतिपयलाई मृत्युको मुखमा समेत पुर्‍याएको छ ।’

तर, राम्रो आम्दानीका कारण सन्तुष्ट हुनेहरुको संख्या उच्च रहेको उनको ठम्याइ छ । ‘दिइएको जिम्मेवारी पूरा गर्नेहरु कोरियाका ज्वाइँजस्तै हुन्,’ उनी भन्छन्, ‘त्यहाँको कामको प्रकृति शारीरिक परिश्रम नै गर्नुपर्ने खालको हो । त्यसो गर्न नसक्दा कसै-कसैलाई समस्या पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment