+
+
Shares
अन्तर्वार्ता :

केही विकसित देशमा भएको बैंकिङ सुविधा नेपालमा सुरु गर्‍यौं

कामना सेवा विकास बैंकको नयाँ डिपोजिट प्रडक्ट ‘विशिष्ट बचत खाता’ मा पाइने सुविधा हो, जस अन्तर्गत ग्राहक आफूले बैंकबाट प्राप्त गर्ने सेवा घर, अफिस वा आफूले रोजेको स्थानबाटै लिन सकिन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कामना सेवा विकास बैंकले विशिष्ट बचत खातामा डोअर स्टेप बैंकिङ सर्भिस सार्वजनिक गरेको छ, जसले ग्राहकलाई घरमै बैंकिङ सेवा लिन सुविधा दिन्छ।
  • यो सेवा हाल काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध छ र ग्राहकले मोबाइल बैंकिङ एपबाट सेवा छनोट गरी अनुरोध गर्न सक्छन्।
  • नेपाल राष्ट्र बैंकको स्वीकृतिमा सञ्चालनमा आएको यो सेवा कुनै शुल्क बिना उपलब्ध छ र लक्षित वर्ग सम्पूर्ण नेपाली हुन्।

कामना सेवा विकास बैंकले हालै नयाँ ‘प्रडक्ट’ सार्वजनिक गरेको छ– विशिष्ट खाता अन्तर्गतको ‘डोअर स्टेप बैंकिङ सर्भिस’ । जस अन्तर्गत अब बैंकिङ सेवा लिन बैंकसम्म धाउनु पर्दैन । केही विकसित देशमा सुरुवात भएको यस्तो विशिष्टीकृत सुविधा सहित सेवा कामनाले सञ्चालनमा ल्याएको हो । यो नयाँ प्रडक्टबारे कामना विकास बैंकका प्रमुख व्यवसाय अधिकृत दीपेन्द्र सुवेदीसँग गरिएको कुराकानी :

कामना सेवा विकास बैंकले हालै सार्वजनिक गरेको डोअर स्टेप बैंकिङ सर्भिस कस्तो प्रडक्ट हो ?

कामना सेवा विकास बैंकको नयाँ डिपोजिट प्रडक्ट ‘विशिष्ट बचत खाता’ मा पाइने सुविधा हो, जस अन्तर्गत ग्राहक आफूले बैंकबाट प्राप्त गर्ने सेवा घर, अफिस वा आफूले रोजेको स्थानबाटै लिन सकिन्छ । जस्तै, बैंकमा रहेको खातामा रकम जम्मा गर्ने, खाताबाट रकम झिक्ने, चेक बुक माग गर्ने, चेक जम्मा गर्ने, स्टेटमेन्ट माग गर्ने, ब्यालेन्स सर्टिफिकेट माग गर्ने लगायत सुविधा नि:शुल्क पाइन्छ । हाल यो सुविधा काठमाडौं, भक्तपुर र ललितपुरमा मात्र उपलबध छ ।

यस्तो सुविधा लिन के गर्नुपर्छ ?

सबैभन्दा पहिले त ‘विशिष्ट बचत खाता’ खोल्नुपर्छ, जुन खातामा नि:शुल्क लकर सुविधा, नि:शुल्क मोबाइल बैंकिङ, नि:शुल्क डिम्याट, नि:शुल्क मेरो सेयर खाता समेत उपलब्ध छ । कामना सेवाको मोबााइल बैंकिङ एप केएसआई मोबाइलमा रहेको डोअर स्टेप बैंकिङ सर्भिसमा गई विशिष्ट सेवा अन्तर्गत आफूलाई आवश्यक सुविधा छनोट गरी सुविधा लिन अनुरोध गर्न सकिन्छ । जुन अनुरोध बैंकलाई प्राप्त भएपछि बैंकले यस्तो सुविधा ग्राहकले छनोट गरेकै स्थानमा पुर्‍याउँछन् ।

नगद तथा अन्य महत्त्वपूर्ण कागजात लिएर हिँड्दा जोखिम हुँदैन त ?

बैंकले आफ्नै कर्मचारी मार्फत यो सुविधा प्रदान गर्दछ, जो एकदमै प्रशिक्षित हुन्छन्, जसले गर्दा कर्मचारीबाट हुने जोखिम आफैंमा न्यूनीकरण हुन्छ । कुनै त्यस्तो भइपरी आउने दुर्घटनाका लागि बैंकले सम्पूर्ण कारोबारको बीमासमेत गरेको छ । कर्मचारीले बोक्ने हरेक नगद तथा कागजात एकदमै राम्रो तरिकाले प्याकिङ गरिएको हुन्छ जसले गर्दा बीचमा केही हुन्छ कि भन्ने पनि हुँदैन ।

विश्व बजारमा डोअर स्टेप बैंकिङ सर्भिसको चलन कस्तो छ ?

विश्व बजारमा डोअर स्टेप बैंकिङ सर्भिस क्रमश: लोकप्रिय बन्दै गएको छ । छिमेकी भारतमा यो सेवा भारतीय रिजर्भ बैंकको प्रवर्द्धनमा केही बैंकले सञ्चालन गरिरहेका छन् । त्यस्तै बेलायतमा वृद्ध तथा फरक क्षमता भएका व्यक्तिलाई त्यहाँको हुलाक सेवासँग सहकार्यमा यो सुविधा उपलब्ध गराइन्छ । अमेरिकामा यो सेवा प्राय: उच्च आय भएका ग्राहकलाई मात्र दिइन्छ भने चीन र जापानमा सीमित प्रकारका डोअर स्टेप बैंकिङ सेवामात्र उपलब्ध छन् ।

अलि नौलो खालको सेवा भएकाले सफल हुन्छ होला?

पक्कै पनि हामीलाई सुन्दा अचम्म लाग्छ, तर यो वास्तवमै विशिष्ट छ । अब पहिलेजस्तो सबै व्यक्ति बैंकसम्म धाउन समय पनि हुँदैन, चाहना पनि हुँदैन किनकि सबै व्यक्तिको समय एकदम महत्त्वपूर्ण हुन्छ । एउटा बैंकसम्म पुगेर पैसा जम्मा गर्ने समयमा आफ्ना धेरै काम गर्न सकिन्छ । सँगसँगै बैंकसम्म जान दिउँसो कार्यालयमा हुँदा समय निकाल्न पनि गाह्रो हुन्छ । यी सवै समस्याको समाधान भनेको डोअर स्टेप बैंकिङ नै हो । सुरुमा घरमै पिकअप गर्न आउने सवारीसाधन, घरमै खाना पुर्‍याउने एप, अनलाइन सामान डेलिभरी गर्ने सामान पुगेपछि भुक्तानी गर्नेभन्दा हामीलाई निकै अचम्म लाग्थ्यो नि, त्यो त सफल भएको देखिसकेका छौं । त्यसैले अबको बैंकिङ पनि त्यतै जाने छ ।

डिजिटल जमानामा फेरि नगद बोक्ने, नगद कारोबारलाई प्राथमिकता दिएजस्तो भएन र ?

अब हेर्नुस्, अतिविकसित भनेका देशमा समेत केही न केही नगद कारोबार भई नै रहन्छ । बिस्तारै हाम्रो दैनिक जीवन नै डिजिटल प्रविधिमा आधारित सेवा लिने बानी परिसकेको छ । हामीले त अन्य सेवालाई पनि उत्तिकै प्राथमिकता दिएका छौं । अझै बिस्तारै अन्य सेवा सुविधा थप्दै लग्ने योजना छ, त्यो पनि डिजिटल प्रविधिमा आधारित भएर ।

यसमा नियमनकारी निकायको प्रतिक्रिया के छ ?

हामीले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर नै यो प्रडक्ट सार्वजनिक गरेका हौं । हाम्रो विज्ञ टिमले राष्ट्र बैंकसमक्ष नै विस्तृत प्रस्तुतीकरण गरेपछि राष्ट्र बैंकले मन पराएर नै यो प्रडक्ट आएको हो ।

यो प्रडक्टको लक्षित वर्ग कुन हो ?

हाम्रा सबै प्रडक्ट आफैंमा केही न केही विशेष छन् । यो प्रडक्ट झन् विशिष्ट नै छ । हामीले सम्पूर्ण नेपालीको बैकिङ अभ्यासलाई नै परिवर्तन गर्ने प्रयास गरेका हौं । त्यसैले लक्षित वर्ग भनेको सम्पूर्ण नेपाली नै हुन् । तर, सुरुमा हामीले यसलाई काठमाडौं उपत्यकामा मात्र यो सुविधा प्रदान गरेका छौं । विशेषगरी व्यस्त जीवनशैली हुने, बैंकसम्म आउनका लागि समय नहुने, बैंकसम्म आउन अरू कसैको सहायता लिनुपर्ने व्यक्तिलाई प्राथमिकतामा राखेका छौं तर बिस्तारै सम्पूर्ण नेपालीमा पुर्‍याउने लक्ष्य छ ।

यो सुविधा लिँदा अतिरिक्त शुल्क लाग्छ कि लाग्दैन ?

हामीले प्रदान गर्ने डोअर स्टेप बैंकिङ सर्भिसमा कुनै पनि शुल्क लाग्दैन, विशिष्ट बचत खाता खोल्दा लाग्ने न्यूनतम मौज्दात भने कायम गर्नुपर्छ, तर त्यसमा अधिकतम ब्याज भने पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?