Comments Add Comment

इमरान खानले मोदीलाई लेखे चिठ्ठी, कश्मीर मुद्दामा वार्ता गर्न प्रस्ताव

२५ जेठ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै वार्ताको लागि प्रस्ताव गरेका छन् । इमरान खानले मोदीलाई शुक्रबार पठाएको पत्रमा कश्मीर मुद्दालगायतका सबै समस्या समाधानका लागि वार्ता गर्न चाहेको बताएका हुन् ।

मोदीलाई दोस्रो कार्यकालका लागि बधाई दिँदै इमरान खानले भनेका छन्- दुई देशबीचको वार्ता नै दुवै देशका जनतालाई गरिबीबाट मुक्त पार्ने एकमात्र उपाय हो । यसका लागि क्षेत्रीय विकासका लागि मिलेर काम गर्नु आवश्यक छ ।

पाकिस्तानले कश्मीर मुद्दासहित सबै समस्याको समाधान चाहेको भन्दै खानले मोदीलाई पत्र पठाएको जीओ टिभीले जनाएको छ ।

मोदी पुनः प्रधानमन्त्री भएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै देशका नागरिकको हितका लागि वार्ताको आकांक्षा राखेको यो दोस्रो पटक हो । यद्यपि भारतले अहिलेसम्म इमरान खानको पत्रको जवाफ दिएको छैन ।

पुलवामा आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच तनाव बढेको थियो । पाकिस्तानको बालाकोटमा २६ फेब्रुअरीमा भारतले हवाई हमला गरेपछि दुवै देशबीच युद्ध सुरु हुने स्थितिमा पुगेको थियो ।

यद्यपि एक भारतीय लडाकु विमानलाई पाकिस्तानले जमिनमा खसालेर त्यसका पाइलटलाई समेत नियन्त्रणमा लिएपछि भारत पछि हटेको थियो । त्यसपछि पाकिस्तानले ती पाइलटलाई ससम्मान भारतलाई सुम्पिएको थियो ।

त्यसको केही महिनापछि भारतमा लोकसभाको चुनाव भयो र यो चुनावबाट मोदी दोस्रो कार्यकालका लागि निर्वाचित भए । त्यसलगत्तै पनि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मोदीलाई बधाई दिए । तर, मोदीको सपथ ग्रहण समारोहमा भने इमरान खानलाई भारतले निम्तो गरेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment