Comments Add Comment

छापामा आज : प्रधानमन्त्री रोजगारका नाममा २ अर्ब ३७ करोडको असारे खोलो

२६ जेठ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । केहीले लोकसेवा आयोगको विज्ञापनले सिर्जित समस्याबारे चासो राखेका छन् भने कुनैको प्राथमिकतामा सहकारीभित्रको बेथिति, अपराध अनुसन्धान, प्रधानमन्त्री रोजगार कार्यक्रमलगायत परेका छन् ।

नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा भइरहेको खर्चबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार,  न्यूनतम रोजगारीका नाममा ऐनविपरीत यो शीर्षकअन्तर्गत बजेट खर्च हुन थालेको छ ।

सामान्य खालका काममा समेत यो शीर्षकअन्तर्गत बजेट खर्च गरिएको छ । गुल्मीको मुसिकोट नगरपालिका–६ स्थित रुद्रावती क्याम्पस हाताभित्र झार गोडेर प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च गरिएको छ । अन्य क्षेत्रमा पनि बिना योजना हचुवाको भरमा बजेट खर्च गरिएको नयाँ पत्रिका समाचारको सार छ ।

सरकारले नै आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । समाचार अनुसार, मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार मात्रै पुरस्कार दिइएको छ ।

कोरिया भाषा परीक्षार्थीको तस्वीर छापेको कान्तिपुरले सरकार पन्छिँदा लोकसेवा आयोग विवादमा परेको लेखेको छ । ५ सय १५ स्थानीय तहमा पदपूर्तिका लागि ९ हजार १ सय ६१ जनशक्ति माग गरेपछि आयोग विवादमा परेको छ ।

कान्तिपुर लेख्छ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आग्रह र विज्ञापन गर्नुअघि कतिपय विषयमा मन्त्रिपरिषदसँग लिइएको स्पष्टतापछि आयोगले विज्ञापन गरेको थियो । सत्तारुढ दलकै सांसद्हरुले आयोगविरुद्ध बोल्न प्रतिष्पर्धामा उत्रिएका बेला सरकारका मन्त्रीहरु भने मौन छन्, जवाफदेहिताबाट पन्छिरहेका छन् । आयोग एक्लिएको छ ।’

मूल्यवृद्धिसँग सम्बन्धित खबरलाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक समेटेको छ । सरकारले ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेसँगै बजारमा मूल्य वृद्धि भएको कान्तिपुर समाचारमा लेखिएको छ ।

समाचार अनुसार, व्यवसायीले ढुवानीमा भ्याट र अन्तःशुल्क बढेको भन्दै जथाभावी मूल्य बढाएका छन् । उनीहरुले कर नबढाइएका वस्तुको पनि भाउ बढाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

सहकारीभित्रको बेथितिमाथि अन्नपूर्णको नजर परेको छ । अन्नपूर्णका अनुसार, सहकारीहरु पछिल्लो समय कालो धन थुपार्ने थलो बनेका छन् ।

अन्नपूर्ण लेख्छ– बैंकहरु स्रोत नखुलेको रकम बचत गर्न मान्दैनन् । आम्दानीको स्रोत खुलाएर मात्र रकम जम्मा गर्छन् । तर, सहकारीहरु भने स्रोत नखुलेको जति पनि रकम जम्मा गर्न तयार हुन्छन् । पछिल्लो समय अवैध आर्जन गरेको रकम जम्मा गर्ने माध्यम सहकारी बनेका छन् ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन कार्यान्वयन नहुँदा सहकारी क्षेत्र कालोधन जम्मा गर्ने अखडा बनेको अन्नपूर्णको ठम्याइ छ । यसबाट समग्र वित्तीय क्षेत्रमा जोखिम बढ्ने उसको आँकलन छ ।

अन्नपूर्णले मोफसलका खबरलाई पनि आज निकै नै प्राथमिकताका साथ छापेको छ । अन्नपूर्णका अनुसार चुरे क्षेत्रको जलाधार पुरिँदै जाँदा १०० फिटमा समेत पानी भेट्टाउन मुस्किल पर्न थालेको छ । भारतीय विद्यार्थीले झापाको विद्यालय खचाखच भएकोदेखि धरानमा डेंगु अनियन्त्रित भएकोसम्मका खबर आजको अन्नपूर्णको पहिलो पृष्ठमा छ ।

आईएनजीओमार्फत् देशभर २५ अर्ब खर्च भएको समाचार राजधानीमा छ भने नागरिकले हावाहुरीले कञ्चनपुर र कैलाली अस्तव्यस्त बनेको लेखेको छ । सरकारी मुखपत्र गोरखापत्रले ‘अपराध अनुसन्धानः कमजोर छैन प्रहरी’ शीर्षक दिएर प्रहरी अनुसन्धानबारे मुख्य समाचार लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment