Comments Add Comment

त्रियुगा नगरपालिकाले बाँड्यो ३० पत्रकारलाई ल्यापटप

२६ जेठ, काठमाडौं । तल्लो तहका सरकारहरुमा आर्थिक अपचलनको गुनासो बढिरहेका बेला उदयपुरको त्रियुगा नगरपालिकाले ‘प्रविधि हस्तान्तरण’ भन्दै पत्रकारलाई ल्यापटप वितरण गरेको छ ।

केही दिनअघि एक कार्यक्रमको आयोजना गरी उदयपुरको गाइघाटलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका ३० पत्रकारहरुलाई एक/एक थान ल्यापटप बाँडिएको हो ।

मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेका थिए । सत्य, तथ्य र निष्पक्ष समाचार लेखन कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले पत्रकारलाई ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ । उक्त ल्यापटपको मूल्य ४५ हजार रुपैयाँ रहेको छ ।

प्रविधि हस्तान्तरण कार्यक्रम अन्तर्गत नगरपालिकाले १२ लाख रुपैयाँ चालु आर्थिक वर्षका लागि विनियोजन गरेको थियो । यसपटक ल्यापटप नपाउने पत्रकारलाई अर्को वर्ष वितरण गरिने नगरपालिकाले बताएको छ ।

नगरपालिकाका सूचना अधिकारी विश्वजित राईले स्थानीय पत्रकार प्रवर्द्धन कार्यक्रममार्फत ल्यापटप वितरण गरिएको जानकारी दिए । ‘पत्रकार साथीहरुको मागसमेतलाई ध्यान दिँदै ३० वटा ल्यापटप वितरण गरिएको छ,’ सूचना अधिकारी राईले भने, ‘पत्रकारको वृत्ति विकासका लागि यो कार्यक्रम राखिएको यो, यसलाई निरन्तरता दिने नगरको योजना छ ।’

उनका अनुसार पत्रकार कौशल चेम्जोङ संयोजकको संयोजकत्वमा एक समिति बनाएर ल्यापटप वितरणका लागि पत्रकारको नाम छनोट गरिएको थियो ।

नेपाल पत्रकार महासंघ, उदयपुर शाखाका अध्यक्ष भरत खड्काले स्थानीय पत्रपत्रिका तथा रेडियो आर्थिक रुपमा धरासायी भएको भन्दै नगरले सहयोग गरेको बताए । वितरण गरिएको एउटा ल्यापटप आफ्नो भागमा पनि परेको उनले बताए ।

‘विराटनगरले त पत्रकारलाई लाेककल्यणाकारी विज्ञापन जस्तै गरी पैसा नै बाँड्ने गरेको सुनेको छु, ल्यापटप बाँड्नुलाई नकारात्मक रुपमा लिन आवश्यक छैन,’ उनले भने । महासंघले ल्यापटप माग भने नगरेको अध्यक्ष खड्काको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment