Comments Add Comment

रात्री बस चलाउने निर्णयबाट पछि हट्यो सरकार

३० जेठ, काठमाडौं । असार १ गते आइतबारदेखि काठमाडौंमा ‘रात्री बस सेवा’ पुनः सुरु गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।

रात्री बसको भाडादर तोक्नुका साथै कुन कम्पनीले कुन रुटमा जाने समेत किटान गरेको थियो । तर यातायात व्यवस्था विभागले एकाएक रात्री बस चलाउने निर्णय स्थगित गरेको छ ।

बिहीबार साँझ विज्ञप्ति जारी गर्दै विभागले रात्री बस चलाउने निर्णय तत्कालका लागि फिर्ता लिएको जानकारी दिएको छ ।

जबकी विभागले विभिन्न १२ वटा कम्पनीलाई विभिन्न १८ रुटमा रात्री बस चलाउन अनुमति दिइएको थियो । बिहीबार नै रात्री बसको न्युनतम् भाडा २५ रुपैयाँ तोकेर सूचना निकालेको थियो ।

तर साँझ विभागले भाडावृद्धिसहित रात्री बसको भाडा तोकेको निर्णय पनि स्थगन गरेको छ ।

काठमाडौंमा अधिकांश रुटमा रातको ८ बजेपछि गाडी पाउन मुस्किल पर्छ । बस छुट्दा चर्को भाडातिरेर ट्याक्सीमा जानु वा हिडेर जानुको विकल्प थिएन ।

व्यवसायीहरु साविकको भन्दा बढी भाडा लिएर राति १२ बजेसम्म बस चलाउन सहमत पनि थिए । तर सरकार एकाएक आफ्नो निर्णयबाट पछि हटेको थियो ।

केही समयअघि साझा बसले राति ९ बजेसम्मसेवा दिन सुरु गरेको थियो । तर आर्थिक रुपमा फलदायी नभएपछि स्थगन र्गयो ।

यसअघि रात्री बस सेवा पनि सञ्चालन गरिएको थियो । तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा ०६९ को भदौमा रात्रीकालिन बस सेवा प्रारम्भ भएको थियो ।

राति ३ घण्टा गाडी गुडाउन काठमाडौं महानगरपालिकाले यातायात व्यवसायी समितिहरुलाई ४५ लाख रुपैयाँ अनुदान दिएको थियो । ६ महिनाका लागि परीक्षण स्वरुप १४ वटा बस अनुदान दिएरै चलाइएको थियो । विभिन्न रुटठहरु तोकेर बस चलाइए पनि व्यवसायीले अनुदान लिएर केही समयपछि यात्रु नपाएको भन्दै सेवा बन्द गरेका थिए ।

मालबाहकलाई प्रवेश रोक पनि फिर्ता

सरकारले गाडी भाडा बढाउने र रात्री बस चलाउने निर्णयसँगै काठमाडौंमा विहानदेखि बेलुकासम्म ठूला तथा साना मालबाहक सवारीको प्रवेश तथा सञ्चालनमा रोक लगाउने निर्णय पनि फिर्ता लिएको छ ।

व्यवसायीहरुले यो निर्णयका कारण व्यापार, उद्योग र कलकारखाना चलाउन नसकिने अवस्था आउने भन्दै विरोध गरेका थिए । यातायात व्यवस्था विभागले बिहीबार सााझ एक विज्ञप्ति निकालेर बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन नपाउने गरी घोषित नियम तत्काल लागू नगर्ने गरी स्थगित गरेको छ ।

विभागले असार १ देखि आपतकालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेक मालबाहक सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले सूचित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment